काठमाडौं– भोलि (बुधबार) साँझदेखि पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीले उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात गराउन सक्ने विभागले सम्भावना व्यक्त गरेको छ।
अधिकतम र न्यूनतम तापक्रममा गिरावट आइ देशैभर चिसो बढ्ने महाशाखाले जनाएको छ। हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको छ। महाशाखाले भनेको छ, ‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ।’
बुधबारबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ। उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।