बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निगममा अर्को अनियमितता : उडिरहेको जहाज कवाडीको भाउमा बेचिँदै

निगममा अर्को अनियमितता : उडिरहेको जहाज कवाडीको भाउमा बेचिँदै

नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले सागमा गौरिका सिंहले बनाएको किर्तिमान र प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड सक्रिय बनेको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

नयाँ पत्रिकाले भने नेपाल वायु सेवा निगममा भएको अनियमिततालाई मुख्य समाचार बनाएको छ । निगम आफैले ८८ करोड मूल्यांकन गरेको बोइङ ४८ करोडमा बेच्न टेन्डर आह्वान गरेको उसले खुलासा गरेको छ ।

एयरबस आएपछि पनि राष्ट्रिय ध्वजा बोकेर उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया लगिएको थियो । उक्त जहाज १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखियो, स्विस कम्पनीको सिफारिसअनुसार निगम आफैंले तोकेको मूल्य ४५ प्रतिशत घटाएर टेन्डर आह्वान गरिएको समाचारमा उल्लेख छ ।

यस्तै नयाँ पत्रिकाले गौरिकाले बनाएको किर्तिमान र फिनल्यान्डको प्रधानमन्त्रीमा ३४ वर्षीया सान्ना मरिन नियुक्त भएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

आजको कान्तिपुरले पनि गौरिकाले १३ औं सागमा चार स्वर्ण जित्दै किर्तिमान कायम गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

corrent noodles
Metro Mart

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ आफ्नो मोर्चा सम्हाल्न सक्रिय बनेको विषयलाई कान्तिपुरले मुख्य समाचार बनाएको छ । सोमबार प्रचण्डले पार्टी सचिवालय बैठक बसाए भने ओलीले मन्त्रिपरिषद्को बैठक राखेका थिए ।

अन्नपूर्ण पोस्ट्ले नेकपा जुर्मुरायो, बल्ल शीर्षकमा मुख्य समाचार छापेको छ भने गौरिकाको किर्तिलाई पनि प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले गौरिकाले जितेको ४ स्वर्णलाई ऐतिहासिक किर्तिमान शीर्षक दिएर मुख्य समाचार बनाएको छ । यस्तै अनियमितताले तुहिएको प्याज मिसन तुहिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

निगम आफैँले ८८ करोड मूल्यांकन गरेको बोइङ ४८ करोडमा बेच्न टेन्डर

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ ।

नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।

एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो । १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो ।

३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए ।

फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रुपैयाँ) राख्न सिफारिस गरेका थिए । उनीहरूले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रुपैयाँ)भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए । यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो । र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्‍यो ।

निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करिब ८८ करोड) निर्धारण गरेको थियो । तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्‍यो ।

जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रुपैयाँ) कायम भएको छ । तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो ।

‘स्विस कम्पनीले ७३ करोड रुपैयाँमा बिक्री गर भन्ने सुझाब दिएको हो । तर, उक्त मूल्यांकनअनुसार बिक्री हुने नदेखिएपछि मूल्य घटाउनुपरेको हो,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘मूल्य घटाउन सञ्चालक समितिमा प्रस्ताव लगेका हौँ । त्यही आधारमा मूल्य घटाउने निर्णय भएको हो । हाम्रै प्राविधिकले अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।’

आधाजसो मूल्य घटाएर सूचना निकालेपछि बोइङ किन्न तीन कम्पनीले आवेदन दिएका छन् । अमेरिकी कम्पनीहरू एभियोन र एमके एभिएसन तथा पोल्यान्डको सिएस बिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङले निगमको बोइङ किन्ने इच्छा देखाएका छन् ।

त्यसो त निगमको कार्यकारी अध्यक्ष बनेर भित्रिएलगत्तै मदन खरेलले बोइङ उडाउने भन्दै मर्मतका लागि मलेसिया पठाएका पनि थिए । २८ अक्टोबर २०१८ मा पठाएको बोइङ मर्मत सकेर १६ जनवरी २०१९ मा काठमाडौं ल्याइएको थियो ।

मर्मतमा निगमले १० करोड खर्च गरेको थियो । तर, पाइलटको सीप परीक्षण प्रमाणपत्र (पिपिसी)को म्याद सकिएको भन्दै उडान गरिएन ।

आ–आफ्नै मोर्चा : एकै दिन धुम्बाराहीमा पार्टी बैठक, बालुवाटारमा मन्त्रिपरिषद्

‘पार्टी एकीकरणको डेढ वर्षसम्म अलमलजस्तो थियो, अब मलाई कार्यकारी अध्यक्ष भएको फिलिङ आएको छ,’ गत मंसिर ४ गते पार्टीको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालले कान्तिपुरसँगको कुराकानीमा भनेका थिए, ‘ओलीजीले पार्टी अध्यक्षको हैसियतमा जे गर्नुभएको थियो, त्यो मैले गर्ने हो ।’

कान्तिपुरमा प्रकाशित समाचारअनुसार  त्यसयता दाहालको अध्यक्ष हैसियतको सक्रियता बढ्यो । बिमारले शिथिल भएका प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पताल बसेर फर्किर्ए । त्यसपछि दुई दिनसम्म बालुवाटारमै आराम गरेर उनी बिस्तारै राजकीय काममा जोडिन थालेका छन् ।

सोमबारबाट भने ओली र दाहालले करिब एक महिनाअघि भएको नयाँ सहमतिअनुसार आ–आफ्ना मोर्चाको जिम्मेवारी सम्हालेको स्पष्ट दृश्य देखिएको छ । दाहालले धुम्बाराहीमा ओलीबिनाको पार्टी सचिवालय बैठक गरे भने बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखे ।

कार्यकारी अध्यक्ष भएपछि दाहालले बोलाएको सचिवालयको दोस्रो बैठक महत्त्व, छलफल र निर्णयका हिसाबले अर्थपूर्ण थियो । विगतमा यस्ता बैठक ओलीको अनुस्थितिमा हुँदैनथे ।

बैठकबारे एक सचिवालय सदस्यले प्रतिक्रिया दिए, ‘आज सैद्धान्तिक विषयमा घनिभूत छलफल भयो, बैठक बल्ल बैठकजस्तो भयो भन्ने साथीहरूको प्रतिक्रिया थियो ।’

पार्टी वरीयताको पहिलो नम्बरका अध्यक्ष ओलीको अनुपस्थितिमा ४ घण्टा लामो बैठक बसेको सोमबार पहिलो पटक हो । दाहालले यो बैठकका लागि आइतबार साँझ करिब १ घण्टा ओलीसँग छलफल गरेका थिए ।

ओलीसँगको परामर्श पनि लिने भन्ने सहमतिअनुसार दाहालले आइतबार ओलीसँग भेटेका थिए । त्यही भेटका आधारमा उनी बैठकमा प्रस्तुत भएका थिए ।

सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेकाले प्रधानमन्त्री ओलीले ४ बजेका लागि बोलाएको मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुपर्ने सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बालुवाटार जान हतारिएर निस्किए ।

सचिवालय बैठकपछि मन्त्रिपरिषद् बैठक यसअघि पनि हुन्थे तर ती बालुवाटारभित्रै हुन्थे । सोमबार भने बैठकस्थल फरक–फरक थिए । पार्टी बैठकबाट हतारिँदै बालुवाटार पुग्दा मन्त्रिपरिषद् बैठक सुरु हुन लागेको थियो ।

मन्त्रिपरिषद् बैठक पनि तीन घण्टा चल्यो । बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको छ । दाहाल नेतृत्वमा बसेको सचिवालय बैठकले पनि महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

प्रकाशित: Dec 10, 2019| 01:19 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।