काठमाडौं- वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई सबै प्रमुख खेल प्रतियोगिताबाट चार वर्षका लागि प्रतिबन्ध लगाएको छ। यसको अर्थ आगामी वर्ष टोक्योमा हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने फुटबल विश्व कपमा रूसको झंडा फहरिने छैन भने राष्ट्रगान पनि बजाइने छैन ।
यद्यपि, जो खेलाडी डोपिङ काण्डदेखि बाहिरै रहेको सावित गर्न सफल हुनेछन् उनीहरुलाई स्वतन्त्ररुपमा खेल प्रतियोगितामा भाग लिन दिइने वाडाले जनाएको छ।
स्विटजरल्याण्डको लुसानेमा बसेको वाडाको कार्यकारी समिति बैठकले रुसलाई प्रतिबन्ध लगाउने सर्वसम्मत निर्णय गरेको हो ।
यसअघि सन् २०१४ को शीतकालीन ओलम्पिकका बेला पनि रुसमाथि प्रतिबन्ध लागेपछि रुसका खेलाडीले एक तटस्थ झण्डाकाे मुनी रहेर प्रतियोगितामा भाग लिएका थिए ।
वाडाको यो निर्णय रुसको एन्टी डोपिङ एजेन्सी (रुसाडा) को गलत व्यवहारपछि आएको हो । जनवरी २०१९ मा रुसाडाले संस्थागत रुपमा डोपिङ कार्यक्रम चलाएको र महत्वपूर्ण डेटा हेरफेर गरेको आरोप लागेको थियो ।
यो प्रतिबन्धले रुसलाई यूरो २०२० फुटबलमा भाग लिनबाट भने रोक्ने छैन । यूरो २०२० रुसकै सेन्ट पीट्सबर्गमा हुने तय भएको छ भने यूरोपियन फुटबलको गभर्निङ बडीले यूएफालाई 'मुख्य खेल संगठन' मान्दैन।