दक्षिण काेरियाकाे राजधानी सोलकी युवती बोनी लीलाई केटा साथी बनाउन वा विवाह गर्न मन छैन।
उनी भन्छिन्, ‘म जे गर्दा बढी खुसी रहन्छु त्यही गर्छु। यो मेरो रोजाइ हो। म सामान्य महिला हुँ, मलाई अब पुरुषसँग सम्बन्ध जोड्ने रुचि छैन।’
दक्षिण कोरियामा यस्तो सोचाइ राख्ने महिलाको संख्या बढ्दो छ। उनीहरू कठोर पितृसत्ता खारेज गर्दै विवाह र यौन सम्बन्धै नराख्ने कसम खाइरहेका छन्।
कोरियाली महिला कट्टरपन्थी नारीवादी आन्दोलन ‘फोर बी’ या ‘फोर नोस’ लाई अपनाइरहेका छन्। ‘फोर नोस’ को अर्थ हो ‘न डेटिङ, न सेक्स, न विवाह र न बच्चा नै।’
आखिर यसको कारण के हो त ?
४० वर्षीया ली भन्छिन्, “मलाई के लाग्छ भने विवाहका फाइदा कम र घाटा धेरै छन्।”
दक्षिण कोरियामा विवाहको दर तीव्र रुपमा घटिरहेको छ। यहाँ श्रीमतीलाई घरको काम गर्ने, बच्चा हुर्काउने, परिवारको हेरचाह गर्ने र केही सामुदायिक काममा सहभागी हुने अपेक्षा गरिन्छ।
दुई विषयमा स्नातकोत्तर गरेकी ली भन्छिन्, “विवाहको निर्णयमा तपाईं पहिले के गर्नुहुन्थ्यो र के काम गर्नुहुन्छ भन्ने कुराले महत्त्व राख्दैन। कहिलेकाहीँ त धेरै शिक्षित हुँदा पनि माइनस प्वाइन्ट भइदिन्छ।”
एक सम्भावित पत्नीबाट उसले घरपरिवारको हेरचाह कति राम्रोसँग गर्न सक्छे भन्ने खोजिन्छ।
लीले विवाहित महिला साथीहरूले काममा अवरोध व्यहोरेको र बालबच्चा भएपछि घरमा विभिन्न समस्या झेलेको देखेकी छन्।
हालै हिट भएको फिल्म ‘किम जी योङ, बर्न १९८२’ को कथा पनि यस्तै छ। एउटा विवादित नारीवादी उपन्यासमा आधारित यो फिल्ममा दक्षिण कोरियाली महिलाले विवाहपछि काम छोड्नुपरेको, सीमित सुविधाभित्र छोराछोरी हुर्काउनुपरेको जस्ता समस्या देखाइएको छ।
देशको प्रमुख सर्च इन्जिनमा महिला दर्शकले यो फिल्मलाई १० मा ९.५ रेटिङ दिएका छन् भने पुरुषले २.८।
कोरियामा पुरुष–प्रधान समाजका अपेक्षामा खरो रूपमा उत्रनुभन्दा आफ्नै खुट्टामा उभिने र आफ्नै चाहनाअनुसार चल्ने महिलाको संख्या बढिरहेको छ। कामकाजी पत्नीले पतिको तुलनामा घरेलु काममा चार गुणा बढी समय दिन्छन्।
एक सर्वेक्षणअनुसार एक दशकअघिसम्म एकल र कहिल्यै विवाह नगरेका कोरियाली महिलामध्ये ४७ प्रतिशतले विवाह गर्नु जरुरी रहेको बताएका थिए भने पछिल्लो वर्ष यो संख्या २२.४ प्रतिशतमा झरेको छ।
विवाहित जोडीको संख्यामा पनि उल्लेख्य कमी आएको छ। सन् १९९६ मा दक्षिण कोरियामा विवाहित जोडीको संख्या ४ लाख ३४ हजार ९०० रहेकोमा पछिल्लो वर्ष यो संख्या २ लाख ५७ हजार ६०० मा झरेको छ।
नारीवादी आन्दोलन फोर बी आबद्ध महिलाहरुको दाबीअनुसार आन्दोलनमा कम्ती चार हजार महिला जोडिएका छन्। तर फोर बीमा कति महिला संलग्न छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन।
उता एउटा नारीवादी यू–ट्यूब च्यानलमा विवाह नगर्ने र बच्चा नपाउने विषयमा बहस चलाइन्छ। यो च्यानलका सब्सक्राइबरको संख्या एक लाखभन्दा धेरै छ।
लीले ‘इस्केप द कर्सेट’ को केही सिद्धान्त पनि अँगालेकी छन्। यो दक्षिण कोरियाका केही कठोर सौन्दर्य मानकविरोधी आन्दोलन हो।
यो सिद्धान्तका अनुयायीले सौन्दर्य प्रशाधन सामग्रीहरु फोड्दै र फाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
यो समूह दक्षिण कोरियामा गोप्य क्यामराबाट बनाइने पोर्न फिल्मको संख्या बढेकोमा आक्रोशित छ।
महिलामाथि हुने यौन दुव्र्यवहारको विरोधमा पनि यो समूह सक्रिय छ। मी टू मूभमेन्टको सुरुआतमा यो समूहको पनि योगदान थियो।
एक वर्षअघि कोरियाका एक प्रगतिशील र आफूलाई नारीवादी भनाउने राजनेता महिला सहयोगीलाई बलात्कार गरेको आरोपमा दोषी ठहरिएपछि ली निकै निराश भएकी थिइन्।
ली भन्छिन्, “मलाई लाग्यो यो समाज एउटा यस्तो प्रणाली हो जसलाई म महिलाका रुपमा कहिल्यै स्वीकार्न सक्दैन। त्यस बेलादेखि पुरुषसँगको कुनै पनि सम्बन्ध चाहे त्यो विवाह होस् वा डेटिङ मलाई व्यर्थ लाग्छन्।”
२४ वर्षीया यु–ट्युबर योन जी हे भन्छिन्, “दक्षिण कोरियाली महिलाहरु निष्क्रिय, चुलबुले र आकर्षक होऊन् भन्ने अपेक्षा राखिन्छ।” उनी अहिले ‘इस्केप द कर्सेट’ का सिद्धान्त मान्न थालेकी छन्। उनले परम्पराभन्दा कपाल छोटो पारेकी छन्।
बुवा–आमासँगै बस्ने उनी भन्छिन्, “पहिले म युट्युबमा घण्टौंसम्म मेकअम टेक्निक हेरेर बस्थें, सौन्दर्य सामग्रीमा मात्रै प्रतिमहिना करिब २०० डलर खर्च गर्थें।”
उनका अनुसार पुरुष साथीहरु उनको लामो कपाल मन पराउँथे र नारीवादी झुकाव राखेकोमा जिस्काउँथे। योन अहिले ‘फोर नोस’ की सदस्य हुन्। उनलाई सेक्स र डेटको मतलब छैन। उनी भन्छिन्– “आफूलाई खुसी राख्ने अनेकौं तरिका छन्।”
२० देखि ३० वर्ष उमेर समूहका कोरियाली पुरुषहरुले गोप्य क्यामराबाट बनाइएका भिडियो वा रिभेन्ज पोर्न हेर्ने गर्छन् भन्ने योनको दाबी छ।
यस्ता भिडियोहरु उनीहरुका सेक्स पार्टनरले नै लिक गरिदिन्छन्। यसै कारण पनि उनलाई पुरुषप्रति कुनै आकर्षण छैन।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा समाजशास्त्री सिन गी वुकका अनुसार ‘फोर बी र इस्केप द कर्सेट’ नारीवादको सबैभन्दा कट्टरपन्थी रुप हो।
उनी भन्छन्, “चार कुरा– विवाह, बच्चा जन्माउने, डेटिङ र सेक्सले कुनै न कुनै रुपमा महिलालाई पुरुषको अधीनमा पार्छन्। र ‘कर्सेट’ मा पनि केही यस्तै छ जसमा महिलाहरु पुरुषलाई खुसी बनाउने तरिका खोज्छन्।”
यो आन्दोलनको प्रभावले देशमा जनसंख्याको संकट बढाइरहेको छ। दक्षिण कोरियामा मातृत्व दर २०१८ मा ०.९८ प्रतिशत मात्रै छ। कोरियाको जनसंख्या स्थिर बनाइराख्न यो २.१ प्रतिशत हुनु जरुरी छ।
सरकारी अनुमानअनुसार कोरियाको हालको ५.५ करोड जनसंख्या सन् २०६७ मा ३.९ करोडमा झर्नेछ र यो जनसंख्याको आधा भाग ६२ वर्ष वा त्यो भन्दा माथिको हुनेछ।
अहिले सरकार नवविवाहितलाई आवास सुविधा र कम ब्याजमा ऋण उपलब्ध गराएर विवाहलाई प्रोत्साहन गरिरहेको छ। तर लीका अनुसार अबको भविष्य महिलाको हो। उनी भिन्छिन्, “मेरो सपना ती महिलाहरुका लागि घर बनाउने हो जसले विवाह नगर्ने योजना बनाएका छन्।”
-डी डब्ल्यूबाट अनुदित