बाँके- बाँकेको कोहलपुर क्षेत्रमा आइतबार दिउँसोबाट लगाइएको कर्फ्यु अझै हटेको छैन् ।
कर्फ्यु जारी रहेपछि स्थानीयहरु सडकमा आएका छैनन् । अहिले अवस्था सामान्य रहेको जानकारी दिदैँ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले कर्फ्यु खुलाउन छलफल भइरहेको जानकारी दिए ।
आइतबार साँझ बसेको सर्वदलिय र सर्वपक्षिय बैठकमा कुनै सहमति जुट्न नसकेपछि अहिले पुनः बैठक बसेको छ । बैठकले सहमति गरेपछि कर्फ्यु खोलिने एसपी ओलीले नेपाल समयलाई बताए ।
एक स्कूले बालिकालाई ट्रकले ठक्कर दिएपछि उत्पन्न भएको तनावले उग्र रुप लिदा कर्फ्यु लगाइएको थियो । आन्दोलन चर्काएका स्थानीय, शिक्षक र विद्यार्थीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
निषेधित क्षेत्र घोषणा गर्नुअघि प्रहरी र आन्दोलित बनेका स्थानीयबीच झडप भएको थियो । झडपका क्रममा प्रहरी लाठी चार्ज गर्नुका साथै गोली र अश्रु ग्याससमेत प्रहार गरेको थियो । प्रहरीले हानेको रबरको गोली लागेर २० जना घाइते भएका छन् ।
गोली लागेर त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने सुशील थापा गम्भीर घाइते भएका छन् । अवस्था नियन्त्रण बाहिर गएपछि कोहलपुरमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । अहिले पनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एसपी ओलीले बताए ।
आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन् । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
कसरी भयो घटना ?
बिहान १० बजेतिर हाइवेमै रहेको त्रिभुवन विद्यालय अगाडि कक्षा ७ मा अध्ययनरत छात्रा १३ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएको थियो। उनको खुट्टामा चोट लागेको थियो।
घाइते बालिकालाई ट्रकले उल्टै ब्याक गरेर मार्न खोजेपछि अन्य विद्यार्थीले ट्रकलाई रोकेका थिए। घाइते बालिकालाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ।
ट्रकले बालिकालाई मार्न खोजेपछि आक्रोशित भएका विद्यार्थीले ट्रकमा आगो लगाइदिएका थिए। घटनास्थलमा डीएसपी शाहीको टोली आएर ड्राइभरलाई नियन्त्रणमा लिने क्रममा उनले उल्टै आक्रोशित विद्यार्थीलाई समाएर पिटेपछि स्थिति तनावग्रस्त बनेको थियाे ।