काठमाडौं– १३ औं सागअन्तर्गत महिला फुटबलमा स्वर्ण पदकका लागि नेपाल र भारत आज प्रतिस्पर्धा गर्दैछन्। खेल पोखरा रंगशालामा हुँदैछ।
घरेलु टोलीको समर्थन पाएको नेपाललाई स्वर्ण जित्ने अवसर छ। त्यसैले नेपाल जसरी पनि खेल जित्ने रणनीतिमा छ।
उता भारतको दाबेदारी पनि बलियो देखिएको छ। समूह चरणको खेलमा नेपाललाई पराजित गरेकाले भारतको मनोबल उच्च देखिन्छ। समूह चरणमा भारतले नेपाललाई १–० ले पराजित गरेको थियो।
प्रतियोगिताअन्तर्गत नेपाल समूह उपविजेता र भारत विजेताका रूपमा फाइनल पुगेका हुन्।
समूह चरणमा नेपालले माल्दिभ्सलाई ३–० र श्रीलंकालाई १–० ले पराजित गरेको थियो। उता भारतले माल्दिभ्सलाई ५–० र श्रीलंकालाई ६–० ले हराएको थियो।
प्रतियोगितामा माल्दिभ्सले कास्य जितिसकेको छ। उसले श्रीलंकालाई पराजित गर्दै कास्य जितेको हो।
पुरुष फुटबलको फाइनल भने मंगलबार हुनेछ। जसमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ।