काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को नवौं दिन आज (सोमबार) १३ खेलमा प्रतिस्पर्धा हुँदैछ।
जसअन्तर्गत आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, कबड्डी, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ। यीमध्ये महिला फुटबल र आर्चरी पोखरामा र कुस्ती जनकपुरमा हुनेछ । बाँकी खेल भने काठमाडौंमा हुनेछन्।
प्रतियोगिताको आठौं दिनका खेल सकिँदा २५१ स्वर्णको छिनोफानो भइसकेको छ। अब ६६ स्वर्णको टुंगो लाग्न बाँकी छ।
प्रतियोगितामा ३१७ स्वर्ण, ३१७ रजत र ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।
अहिलेसम्म भारत १३२ स्वर्णसहित शीर्ष स्थानमा छ। नेपाल ४५ स्वर्णसहित दोस्रो हुँदा श्रीलंकाले ३६ स्वर्ण जितेर नेपाललाई पछ्याइरहेको छ।
यस्तै, पाकिस्तान २९, बंगलादेश ८ र माल्दिभ्सले १ स्वर्ण जितेका छन्। भुटानले अहिलेसम्म स्वर्ण जित्न सकेको छैन।