काठमाडौं– ४५ मेगावाटको माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले परीक्षण उत्पादन थालेको छ । व्यावसायिक उत्पादन भने पुस पहिलो सातादेखि सुरु हुने आयोजनाले जनाएको छ ।
आयोजनाले २५ मेगावाटको हाराहारीमा बिजुली उत्पादन गरिरहेको छ । हिउँदमा भने भोटेकोसी नदीमा पानीको बहाव कम हुने हुँदा १७ मेगावाटमात्र उत्पादन हुनेछ ।
आयोजनाको ठेकेदार चीनको सिनो हाइड्रो कर्पोरेशन रहेको छ । भूकम्पमा क्षति पुगेपछि आयोजनाको बाँध र विद्युतगृह नयाँ बनाइएको छ । आयोजना बनाउन तारा म्यानेजमेन्टले ७ अर्ब रुपैयाँ थप लगानी गरेको छ । यसअघि आयोजना १४ अर्ब रुपैयाँमा निर्माण भएको थियो भने क्षतिपछि २१ अर्ब पुगेको आयोजनाले बताएको छ ।
आयोजनाको बाँध, पेनस्टक पाइप, सुरुङलगायत सबै संरचना पहिलाको भन्दा बढी मजबुत बनाइएको आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक २९ करोड ३२ लाख युनिट बिजुली उत्पादन हुनेछ ।
आयोजना नेपाल र चीनको सीमाना तातोपानी भन्सार नजिक छ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको बिजुली अमेरिकी डलरमा खरिद गर्नेछ ।