धनगढी- कैलालीमा वन अतिक्रमण बढेको छ। कैलाली देशमै सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो।
मुख्य राजमार्ग र सहायक राजमार्गछेउमा पर्ने राष्ट्रिय वन अझै बढी अतिक्रमण परेका छन् । ठूला डाँडा सम्याएर विभिन्न संघसंस्था, निजी आवास र धार्मिक नाममा वन फँडानी भइरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले समेत २०७५ असोज १२ गते गोदावरीको जंगलमा राजधानी तोकेपछि वन माफियाले वरपरका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा रूख कटान गरिरहेका छन्।
राजधानीस्थल तोकिएको तेघरी जंगल नजिकैको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बाँसपानी, गाईमारा क्षेत्र अतिक्रमणको उच्च चपेटामा छ।
साथै बाढीपीडित तथा सुकुम्वासीका नाममा जंगल छेउमा बस्दै आएकाहरूले पनि वनकै जग्गा कब्जामा लिन थालेका छन्। कतिपयले वन क्षेत्रभित्रै टहरा बनाउन थालेका छन्।
सडक किनारमा बसेकाहरू पछिल्लो समयमा सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय मेस धामी बताउँछन्। खोरिया क्षेत्र फँडानी भएसँगै बस्ती बसाउने चलखेल सुरु भइरहेको धामीले दाबी गरेका छन्।
धनगढी–डडेल्धुरा सडकखण्डको गाईमारा क्षेत्रमा पनि व्यापक वन फँडानी भएको छ। वन अतिक्रमणका विषयमा पटकपटक वन कार्यालय र गोदावरी नगरपालिकाका कार्यालयमा खबर गर्दा पनि सुनुवाइ नभएको एक सामुदायिक वनका पदाधिकारीले बताए।
राजनीतिक दल, सामुदायिक वनका अध्यक्ष लगायतको मिलेमतोमा नै बाढीपीडित र सुकुम्वासीका नाममा वन अतिक्रमण भइरहेको स्थानीय निर्मला अर्याल बताउँछिन्। अत्तरिया क्षेत्रमा पर्ने सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन संस्थागत अतिक्रमणमा परेका छन्।
गाईमारा क्षेत्रमा वनका पूर्व कर्मचारीकै मिलेमतोमा अतिक्रमण भएको स्थानीयले बताएका छन्। गाईमारा क्षेत्रको तल रहेको करिब पाँच कठ्ठा जमिनमा पनि भागबण्डा भइसकेको छ ।
सबडिभिजन वन कार्यालय अत्तरियाका प्रमुख रामनारायण यादवले वन कार्यालयका पूर्वकर्मचारी पनि अतिक्रमणमा संलग्न रहेकाे उजुरी आएकाे बताए । उनले भने, "अतिक्रमणकारी जाे भए पनि कारबाही हुन्छ।"
प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ।
देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको छ।