काठमाडौ । चालू आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा पनि बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकारेका छैनन् । व्यवहारिक कठिनाइका कारण बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार नगरेका हुन् ।
सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सर्वसाधारणको सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार गर्ने घोषणा गरेको थियो । सोही अनुरुप नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थामा सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार्ने नीति अवलम्बन गर्यो ।
मौद्रिक नीति जारी भएको केही समयपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार्न निर्देशनसमेत दिइसकेको छ । तर राष्ट्र बैंकले जारी गरेको निर्देशनको बैक तथा वित्तीय संस्थाले भने अझै कार्यान्वयन गरेका छैनन् ।
सुनचाँदीलाई निक्षेपको रुपमा स्वीकार्दा त्यसको ब्याजदर कति हुने, कस्तो सुनको निक्षेप लिँदा कति रकम बराबरको हुने भन्ने विषयमा स्पष्ट नीति तथा निर्देशन नहुँदा सुनचादीलाई निक्षेपको रुपमा स्वीकार्न नसकेको बैंकहरुको भनाइ छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार केन्द्रीय बैंकले सुनचाँदीलाई निक्षेपको रुपमा राख्नको लागि कार्यविधि बनाइरहेको छ ।
उनले भने, ‘हामीले बैंक तथा वित्तीय संस्थाहरुलाई सुनचाँदीलाई निक्षेपको रुपमा लिनको लागि कार्यविधि बनाइरहेका छौं । केही महिनापछि कार्यविधि आउँछ। त्यसमा कस्तो सुन कतिमा राख्ने र कति रकम बराबरको मानेर ब्याज दिने भन्ने सम्बन्धी सम्पूर्ण कुरा उल्लेख गरिएको हुन्छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थालाई त्यस्तो निक्षेप लिन सहज हुन्छ ।’
सरकारले सुनचाँदीमा सर्वसाधारणले सुनचाँदीमा लगानी गर्ने र सो लगानी अनुत्पादक भएर घरमा नै बस्ने हुँदा सुनचाँदीलाई निक्षेपको रुपमा लिएर रकम बनाई औपचारिक अर्थतन्त्रको हिस्सा बनाउने उद्देश्यका साथ सो नीति अवलम्बन गरेको हो ।