लुम्बिनी– बुधबारमात्रै पर्यटनमन्त्री योगेश भट्टराईले काठमाडौंमा ३१ देशका राजदूतहरुलाई बोलाएर आ–आफ्नो देशबाट नेपालमा पर्यटक पठाइदिन आग्रह गरे । नेपाल भ्रमण वर्ष २०२० को तयारी पूरा भएको भन्दै मन्त्री भट्टराईले वैदेशिक साझेदार संस्थाहरुलाई पनि सहयोग गर्न आग्रह गरे। पर्यटनमन्त्री भट्टराईले त क्रिसमस पनि नेपालमै मनाउन विदेशीहरुलाई आग्रह गरे।
काठमाडौंमा पर्यटनमन्त्रीले सरकार बढीभन्दा बढी पर्यटक भित्र्याउन तयार रहेको बताइरहँदा नेपालको एउटा मुख्य पर्यटकीय गन्तव्य लुम्बिनीमा तयारी केही फितलो देखियो। अहिलेसम्म लुम्बिनीमा पर्याप्त पूर्वाधार तयार हुन सकेको छैन। पर्यटन वर्षलाई लक्षित गरी सञ्चालनमा ल्याउने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पूरा हुन सकेको छैन। विमानस्थल निर्माण कार्य जारी छ।
आउँदो जनवरीसम्म निर्माण कार्य पूरा हुन नसक्ने विमानस्थलका अधिकारीहरुले स्वीकार गरेका छन्। भैरहवा विमानस्थलमा ओर्लेर पर्यटकहरु लुम्बिनी पुग्ने गरेका छन्। तर, भैरहवा–लुम्बिनी सडक खण्ड भने नाजुक अवस्थामा छ।
भारतीय निर्माण कम्पनीले पर्यटन वर्षलाई लक्षित गरी एकतर्फको दुई लेन सडक तयार गर्ने हतारो गरिरहेको छ । तर, बाटो खन्ने र ग्राभेल बिछ्याउने काममात्र भएको छ। केही स्थानमा भने कालोपत्रे भएको छ ।
भैरहवा–लुम्बिनी सडक खण्ड धुलाम्य छ। साइकल वा मोटरसाइकलमा लुम्बिनी पुग्दा मान्छे नै नचिनिने अवस्था छ । लोकल गाडीसमेत चलाउन गाह्रो हुने सडकमा पर्यटक गाडी चलाउन झनै कठिन हुने लुम्बिनीका होटल व्यवसायी महेन्द्र गुरुङ बताउँछन्।
भैरहवा र लुम्बिनीको बीचमा एकपटकमा एउटामात्र गाडी पास हुने दुईवटा पुल छन् । बेथरी पुल अवस्था जीर्ण छ। एकतर्फीमात्र सवारी चल्ने भएकाले एक किल्लोमिटरसम्मको जाम लाग्ने गरेको बेथरीका स्थानीय सन्तोष मुराउले बताए। उनका अनुसार पुल निर्माणको काम सुरु भए पनि निर्माण कम्पनीसँगको विवादले अलपत्र परेको छ। पुरानो पुल भएकोले भत्किने डर पनि रहेको उनी बताउँछन्। अर्को पुलको अवस्था पनि उस्तै छ ।
लुम्बिनीमा निर्माण कार्य जारी
बुधबार नेपाल समयको टोली लुम्बिनी क्षेत्रमा पुग्दा लुम्बिनीको रिङरोड एरिया निर्माण कार्य भइरहेको थियो। बाटो खनिएको थियो भने इँटा, बालुवालगायत निर्माण सामग्री थन्क्याइएको थियो। थोरै संख्यामा मजदुर काम गर्दै थिए। अहिलेकै अवस्थामा नेपाल भ्रमण वर्षभित्र पनि लुम्बिनी रिङरोड पूरा हुने सम्भावना देखिँदैन।
यसैगरी लुम्बिनीको मायादेवी मन्दिरको केही भागको मर्मत कार्यसमेत हुँदैछ। बुधबार केही मजदुर मायादेवी मन्दिरको छेउमा काम गर्दै थिए।
पर्यटकलाई शौचालय प्रयोगको छुट्टै शुल्क
भैरहवा वा अन्य मार्गबाट कठिनाइ झेल्दै लुम्बिनी पुग्ने पर्यटकसँग भ्रमण शुल्क लिइन्छ। त्यो रकम सुरुमै पर्यटकले बुझाउँछन्।
तर, लुम्बिनीका स्तुप र मन्दिर घुम्ने पर्यटकसँग दिसापिसाब गरेवापतको शुल्क शौचालयकै गेटमा उठाइन्छ– १० रुपैयाँ।
मायादेवी मन्दिरको गेटमा जुत्ता–चप्पल राख्ने व्यवस्थित ठाउँ बनाइएको छ। तर, त्यहाँ शौचालय छैन। स्थानीय पर्यटकलाई पिसाब लागेको खण्डमा त्यहाँका गार्डले मन्दिर छेउकै झाडीतिर पठाउने गरेका छन्। पर्यटकलाई भने केही पर नगरपालिकाले बनाइदिएको शौचालय उपलब्ध छ । शौचालय प्रयोग गरेबापत १० रुपैयाँ तिर्न पर्यटकले झन्झट मान्ने गरेका छन् ।
थाइ पर्यटकहरुसँग कुराकानी गर्दा उनीहरुले भने, ‘भैरहवाबाट आउँदा सडकको समस्या थियो। लुम्बिनीभित्र आएपछि शान्ति महसुस भयो । तर, यहाँ शौचालयको राम्रो व्यवस्था भएन। हामीले अघि त्यहाँ शौचालय प्रयोग गर्दा पैसा तिर्नुपर्यो। त्यो हामीलाई गाह्रो लाग्यो। सुरुमै प्रवेश शुल्क तिरेपछि अर्को ठाउँमा पनि किन तिर्नुपर्ने ? यो झन्झटिलो छ।’