विराटनगर– मोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान तथा सङ्ग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्र राजमार्गदेखि दक्षिण चार किमीको दूरीमा रहनेछ ।
सङ्ग्रहालयका निम्ति बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सात करोड रुपैयाँबराबरको जग्गा निःशुल्क प्रदान गरेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलन र जनयुद्धको इतिहास झल्किने किसिमको बन्ने यो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइरहेको र चालू आर्थिक वर्षमै यसको शिलान्यास हुने जनयुद्ध स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उद्यान निर्माण गर्न करिब रु एक अर्बभन्दा बढी बजेट लाग्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उद्यानका निम्ति सक्दो सहयोग गर्ने वचन प्राप्त भएको प्रतिष्ठानका सचिव बस्नेतले बताए । करिब पाँच वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी सङ्ग्रहालयको योजना र कार्य तीव्ररूपमा अगाडि बढिरहेको छ । यसमा सङ्घीय सरकार र प्रदेश सरकारको पनि आर्थिक सहयोग हुने सचिव बस्नेतले जानकारी दिए ।
रासस