शनिबार, चैत २२, २०७६

समाचार
1581842053mangalsennn.jpg

१८ वर्ष पुगेछ मेरो मंगलसेन लुटिएको, दिदीबहिनीको सिन्दुर पुछिएको, हत्याराले रगतको होली खेलेको, लुटेराले लालपुर्जाको खरानी बनाएको मंगलसेनका स्थानीय बम स्वारले आइतबार बिहानै आफ्नो फेसबुक वालमा लेखे।

१८ वर्षअघि आजकै दिन तत्कालीन विद्रोही नेकपा माओवादीले अछामको मंगलसेनमा ठूलो आक्रमण गरी ऐेतिहासिक दरबारलगायत सदरमुकामका सबै सरकारी संरचना ध्वस्त बनाएको फागुन ४ लाई अछामीहरु कहालीलाग्दो दिनका रुपमा सम्झिन्छन्।

२०५८ साल फागुन ४ गते राति तत्कालीन माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगरमा एकैसाथ आक्रमण गरेको थियो।

त्यो रात साँफे र मंगलसेनका सबै संंरचना ध्वस्त बनाइए। रातभर गोली र बम पड्किरहे। अर्को दिन बिहान ऐतिहासिक बजार खरानी भइसकेको थियो। यत्रतत्र शव छरिएका थिए। सडकछेउका भित्ता, बिजुलीका पोल सबै गोलीले छियाछिया थिए। अछाम र साँफेमा गरी कुल १४९ जनाको हत्या भएको थियो।

स्वार अगाडि लेख्छन्, जनताको घरबार भत्काए, आफ्नो दरबार बनाए। जनताको बैंक जलाए, स्विस बैंक बनाए, जनताको पसिनाको पानी बनाए, आफ्नी छोरीबुहारी र श्रीमतीलाई रानी बनाए। त्यसैले हामी भन्छौं– त्यो कहालीलाग्दो कालो रातले ...हाम्रो अस्मिता लुटायो, साथीभाइ छुटायो, वृद्ध बाआमालाई कुटायो, गाउँ घर छुटायो। 

आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिए। राष्ट्रिय अनुसन्धान विभागका निरीक्षक र उनकी पत्नीको पनि हत्या भयोे। क्याप्टेनसहित तत्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म सखाप भयो। ५३ जना सेना मारिएका थिए। ५९ जना प्रहरी, दुईजना निजामती कर्मचारी र ८ जना सर्वसाधारण समेत गरी जम्मा १२२ जनाको हत्या भयो।

त्यसै रात साँफेबगरमा विमानस्थल सुरक्षार्थ खटिएका २७ जना प्रहरी पनि मारिए। उक्त आक्रमणलाई माओवादी सशस्त्र हिंंसाका बेलाको सबैभन्दा ठूलो आक्रमण मानिन्छ।

त्यस दिन सम्झँदै अछामबासी अहिले पनि भक्कानिन्छन्। “कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका हामी अछामीका अप्ठ्यारा दिन त्यही घटनाबाट सुरु भए। मंगलसेन र साफेंमा केही बचेन। भयावह मानवीय क्षति भयो। जायजेथा सबै गुम्यो। बैंकमा राखेको नगद र गरगहना सबै माओवादीले लुटेर लगे। नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन। अछाम पूरै तहसनहस भयो,” एक स्थानीयले सम्झिए।

त्यो घटनाले अछामको समग्र विकासमा ठूलो असर पुगेको घटनाका प्रत्यक्षदर्शी एवम् स्थानीय शान्ति समितिका पूर्वसंयोजक नमबहादुर शाही बताउँछन्।

मंगलसेन आक्रमण नै अछाम र अछामीको प्रगतिको बाधक बनेको बताउँछन् स्थानीयवासिन्दा अछाम उद्योग वाणिज्यसंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढुंगाना।

“अलिक पढेलेखेका, जान्नेसुन्ने मानिसहरु विस्थापित भए, जिल्लाको लगानी बाहिरियो,” ढुंगाना भन्छन्, “त्यो युद्धले अछामलाई धेरै पछाडि धकेलिदियो।”

भौतिक संरचना ध्वस्त भएको निकै वर्षसम्म पनि पुनर्निर्माण सुरु भएन। ११ वर्षअघि अछाम दरबारको पुनर्निर्माण सुरु गरिए पनि अझै काम अलपत्र छ। आक्रमणपछि अछामले विशेष योजनामा पनि प्राथमिकता नपाएको कतिपयको गुनासो छ।

अछामबासी प्रश्न गर्छन्, “सशस्त्र युद्धको नेतृत्व गर्ने तत्कालीन माओवादीका ठूला नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, कृष्णबहादुर महरा, रामबहादुर थापालगायतका नेताका गृहजिल्लामा आक्रमण किन भएन? किन अछाममै यत्रो विध्वंस? पुरानो ध्वस्त बनाएर नयाँ बनाउने भन्थे, खै त नयाँ निर्माण?”

आक्रमणपछि पहुँच पुग्नेहरुले बैंकमा राखेको नगद र गहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाएका छैनन्।

“द्वन्द्वकालमा विस्थापित भएर भारत पसियो, पछि आउँदा बैंकले जम्मा गरेको रकम दिन मानेन,” अछाम, बर्दादेवीका लोगबहादुर कुँवर भन्छन्, “राष्ट्रिय वाणिज्य बैंकको मुद्दती खातामा राखेको ६० हजार रुपैयाँ अझै पनि पाएको छैन।”

अछाम घटनाका भुक्तभोगीहरु राज्यले आफूहरुलाई बेवास्ता गरेको बताउँछन्। आक्रमणमा रातभर लडेर ज्यान जोगाएका सुरक्षाकर्मीहरु आफ्नो योगदानको कदर नभएकोमा अहिले पनि खिन्नता व्यक्त गर्छन् ।

“आफ्नो ज्यानको बाजी थाप्दै देशका लागि लडियो र थुप्रैको ज्यान पनि जोगाइयो, तर राज्यबाट खासै मूल्याकंन भएन,” मंगलसेन आक्रमणमा रातभर लडेर बाँचेका नेपाल प्रहरीका तत्कालीन हवल्दार कमलापति पन्त गुनासो गर्छन्, “पहुँच हुनेहरुले मानसम्मान र राम्रो अवसर पनि पाए, हामी भने टुलुटुलु हेर्नेबाहेक केही गर्न सकेनौंं।”

पन्तले प्रहरी नायब निरीक्षक (सई) बाट ४ महिना अघिमात्र अवकाश पाए। घटनाको रात सम्झिँदै पन्त भन्छन्, “आँखैअघि गोली लागेर सहकर्मी ढल्दा मलाई पनि बाँच्छु जस्तो लागेको थिएन, अहिले सम्झँदा पनि मन एकोहोरो हुन्छ।” 

सोही रात साँफेबगरमा भएको आक्रमणमा रातभर लडेर ज्यान जोगाउने मध्येका एक प्रहरी हवल्दार इन्द्रबहादुर खड्काले पनि राज्यले आफूहरुको कुनै मूल्यांंकन नगरेको गुनासो गरे। “जो कोठामा सुतेका थिए, तिनीहरुले बढुवा र सम्मान पाए । पहुँच नभएकाले मैले त एक तह बढुवा पनि पाइन।”

स्वारले फेसबुकमा लेखेका छन्, हाम्रो लागि त्यो दिन आतंककारी, भ्रष्टाचारी, दुराचारी, व्यभिचारी र हत्याराको रात थियो।

प्रतिक्रिया दिनुहोस्