काठमाडौं- नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बुधबार (आज) २१ स्वर्ण पदकको छिनोफानो हुने भएको छ ।
आज हुने १७ खेलबाट २१ स्वर्ण पदकको छिनोफानो गर्न लागिएको हो । आज एथलेटिक्समा तीन स्वर्णको फाइनल हुँदैछ भने साइकलिङमा डाउनहिल च्याम्पियनसिपको फाइनल हुँदैछ ।
टेनिसमा महिला र पुरुषको टिम इभेन्टका फाइनल हुनेछन् । महिलाको फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् भने पुरुषतर्फ पाकिस्तान र भारत प्रतिस्पर्धा गर्नेछन् ।
ट्रायाथलन अन्तर्गत बुधबार मिक्स रिलेका स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछन् । यस्तै टेबल टेनिसमा पुरुष र महिलाको सिंगल्स तथा डबल्सका खेलहरु संचालन हुँदैछन् ।
खोखोमा महिलातर्फ बुधबार नेपालले स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्दैछ । पुरुष तर्फ भने भारत र बंगलादेश स्वर्ण पदकका लागि खेल्दैछन् ।
महिला र पुरुषको लंग जम्प, हाई जम्प र डिक्कस थ्रोका फाइनल हुँदैछन् भने आठ सय मिटर दौड, २ सय मिटर दौड र ४ सय मिटर हर्डल्सको पुरुष र महिला तर्फकै छनोट चरणका खेल हुनेछन् ।
यस्तै आजै क्रिकेटमा पुरुषतर्फ बंगलादेश यू–२३ र माल्दिभ्स तथा श्रीलंका यू–२३ र भुटान प्रतिस्पर्धा गर्दैछन् ।
पोखरामा हुने महिला क्रिकेटमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् ।
फुटबलतर्फ नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार साँझ पाँच बजे हुनेछ। पोखरामा हुने महिला फुटबलतर्फ नेपाल र माल्दिभ्सबीच खेल हुँदैछ ।