काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले पाँच वटा स्वर्ण पदक जितेको छ।
कराँतेका मन्डेकाजी श्रेष्ठले एकल काता (पुरुष)मा पहिलो स्वर्ण जिताएका छन्।
यस्तै पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले ट्राथोलनमा दोस्रो स्वर्ण पदक दिलाएकी हुन्। गौरी घाटबाट सुरु भएको ट्रायथोलनमा खेलाडीहरुले ७५० मिटर पौडी, २० किलोमिटर साइकल र ५ किलोमिटर दौड पूरा गरेका थिए ।
ट्रयाथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ। नेपालले रजत पदकमा चित्त बुझाएको छ।
प्रतियोगिता महिला तथा पुरुष दुवै विधामा हुँदैछ । प्रतियोगितामा नेपाल, भारत र श्रीलका सहभागी छन् ।
यस्तै तोक्वान्दोमा कमल श्रेष्ठले तेस्रो स्वर्ण दिलाएका हुन्। तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन्।
उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास्य जित्दा ८.१५० अंक जोडेका श्रीलंकाली खेलाडी कास्यमा चित्त बुझाएका छन्।
त्यस्तै तेक्वान्दोमा नेपालका गोविन्द बहादुर आलेले स्वर्ण पदक जितेका छन् । गोविन्दले पुम्सेको ५८ केजीमा स्वर्ण जितेका हुन् ।
कराँतेको महिला टिम कातामा पनि नेपाललाई स्वर्ण पदक प्राप्त भएको छ। निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो। नेपालको स्कोर २४.८८ रह्यो। रजतमा चित्त बुझाएको पाकिस्तानको २३.३ अंक बनाएको छ ।
यो सँगै नेपालको पाँच स्वर्ण, दुई रजत र एक कास्य पदक भएको छ।