मंगलबार, चैत २५, २०७६

समाचार

फागुन १ : पीडा बल्झाइरहने त्यो अकल्पनीय घटना

1581587384janayugdha_achham_ns.jpg

काठमाडौं–  आज फागुन १ गते। २०५२ सालमा तत्कालीन विद्राही माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिन।

बन्दुकको बलमा सत्ता परिवर्तन गर्न संघर्ष सुरु गरिएको त्यो दिनलाई माओवादीले ‘जनयुद्ध दिवस’ नाम दिए पनि कैयन् नेपालीका लागि ‘कालो दिन’ बन्न पुगेको छ। 

यस्तै पीडा भोग्ने नेपालीमध्येका एक हो अछाम मंगलसेन–५ को काशीराम ढुंगानाको परिवार।

२०५७ फागुन १ गते भएको अकल्पनीय घटनाले ढुंगाना परिवारको सर्वस्व क्षति भयो। तीन छोराछोरी गुम्ने गरी आफ्नै आँगनमा भएको त्यो घटना उनलाई भर्खरैजस्तो लाग्छ।

आँगनमा बेवारिसे बम पड्किँदा दुई अबोध बालकको घटनास्थलमै ज्यान गएको थियो भने ९ जना घाइते भए। घाइतेमध्ये एक युवतीको पाँच वर्षपछि ०६२ मा उपचारका क्रममा ज्यान गयो।

घटनास्थलमा काशीरामका दुई छोरा खेमराज र प्रकाशको ज्यान गयो। उनका दाइ वासुदेवकी छोरी मनसराले उपचारका क्रममा ज्यान गुमाइन्।

काशीरामका जेठा छोरा गोपाल, बालारामका दुई छोराछोरी रोहित र जगत गम्भीर घाइते भए।

बालारामकै तीन नातिनातिनी भूमिनन्द, भानुभक्त र लक्ष्मी घाइते भए। उनकै भाइबुहारी तिलुदेवी तथा भतिजी कोकिला पनि सोही बम पड्किएर घाइते भए।

‘परिवार सबै उठेर हातमुख धुन लागेका बेला आँगनमा एक्कासि बम पड्कियो’, घाइते गोपालले भने, ‘ठूला मान्छेले देखेनौं, बच्चाको हातमा परेकाले उक्त घटना भयो।’

‘जबजब फागुन १ गते आउँछ पुरानो घाउ बल्झिएर थप पीडाबोध हुन्छ’, गोपालले भने, ‘१९ वर्ष बितिसक्दा पनि घरमा बम छोड्ने को हो भन्ने पहिचान हुन सकेको छैन।’

तत्कालीन विद्रोही माओवादीले पाँचौं वर्षको पूर्वसन्ध्यामा अघिल्लो रात घरनजिकै राँकेजुलुस निकालेकाले उनीहरूले नै बम छाडेको शंका ढुंगाना परिवारको छ।

घाइतेमध्ये कतिपय अहिले पनि अपांग छन्। कतिपयको शरीरभित्र बमको छर्रा छ।

‘परिवर्तनका नाममा मेरा भाइबहिनीजस्तै निहत्थाको हत्या गरेर नेताहरु सत्तामा पुगे पनि हामीलाई जीवनभर भुल्न नसक्ने गरी दिएको पीडाको सराप एक दिन अवश्य लाग्छ’, गोपालले भने, ‘जनताका दुःखपीडा जस्ताको तस्तै छन् नेताहरू धनी बन्ने काम मात्र भयो।’

ढुंगाना परिवारमा घटना भएको ठिक एक वर्षपछि विद्रोही पक्षले सदरमुकाम आक्रमण गरी ध्वस्त बनायो। त्यसपछिका पाँच वर्ष त्यो परिवारले त्रासमै बाँच्नुपर्‍यो।

‘एकातर्फ घाइते छटपटाइरहेका थियौं । त्यसैमाथि सेनाले माओवादी कता लुकाएर राखेका छौ भन्दै दिनहुँजसो घरमा खानतलासी गर्थे’, रोहितले ती दिन सम्झिए, ‘सदरमुकाम आक्रमणपछि सेना नजिकै बसेकाले त्रासमै पाँच वर्ष बिताइयो।’

ढुंगानान परिवारको शिक्षादीक्षा र लालनपालनमा निकै असर परेको छ। सशस्त्र द्वन्द्व सकिएको १४ वर्ष पुग्नै लाग्दा पनि वास्तविक पीडितले न्याय पाउन नसकेको बालारामले बताए।

उनले भने, ‘राजनीतिक परिवर्तनका नाममा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वले हजारौं नेपालीको ज्यान लियो तर जनताको जीवनस्तरमा कुनै परिवर्तन छैन।’

प्रतिक्रिया दिनुहोस्