बिहीबार, वैशाख १३, २०८१

युवालाई विदेशको सपना देखाएर करोडौं ठग्ने नटवरलाल

 |  शनिबार, मंसिर १४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १४, २०७६

काठमाडौं– बेरोजगार युवालाई विदेशमा रोजगारी दिने बहानामा एकपछि अर्को गर्दै करोडौं रुपैयाँ ठगेका सुर्खेतका कृष्ण राना मगरविरुद्ध प्रहरी कार्यालयमा उजुरीको चाङ लागेको छ।

triton college

वैदेशिक रोजगारीको खोजीमा भौंतारिएका दाङ तुलसीपुरका किरण जिसीलाई सुर्खेत छिन्चुका ३१ वर्षीय कृष्ण रानामगरले आफूलाई २५ लाख रुपैयाँ दिए क्यानडा पठाइदिने आश्वासन दिए। क्यानडामा लाखौं कमाइने लोभमा किरणसँगै उनका भाइ सुजित, बर्दियाका युवराज थापामगर र लमजुङका आनन्द सिग्देल पनि क्यानडा जान तयार भए।

उनीहरुभन्दा अघि नै क्यानडा जान लागेको समूहको कागजात र टिकटसमेत देखाएपछि किरण लगायतको चार जनाको समूहले कृष्णलाई प्रतिव्यक्ति २५ लाखका दरले रकम बुझायो । पटक–पटक गरी तीन जनाले २५ लाख र युवराजले २० लाख रुपैयाँ बुझाए।

तिहारलगत्तै क्यानडा उड्नका लागि घरजग्गा धितो र सरसापटी गरेर रकम बुझाएका उनीहरुले कृष्णको मोबाइल लगातार स्वीचअफ भएपछि मात्र आफूहरु ठगिएको पत्तो पाए।

“सबै कागजात तयार थियो, चारै जनाको प्लेन टिकट समेत देखाएको थियो, त्यही विश्वासमा पैसा दिइयो तर, ठग पो रहेछ,” पीडित भन्छन् । कृष्णले तीन पटक गरेर रुपक थापामगर, विक्रम रिमाल र आफ्नो नामको खातामा पैसा पठाउन लगाएका थिए।

corrent noodles
Metro Mart

उनीहरुको कागजात सुरुमा मितेरी कन्सल्टेन्सीका नामबाट तयार पारिएकोमा केही दिनपछि भने एसटिएल ट्रेडलिंकका नाममा तयार पारिएको थियो। तर, सबै नक्कली थिए।

कृष्ण र उनको समूहबाट ठगीमा पर्ने चार जनामात्रै छैनन्। विदेश पठाइदिन्छु भनेर कृष्णले रकम ठगेकाहरुको संख्या अनगिन्ती छ।

छोरी प्रविनालाई विदेश पठाउने सोच बनाएका काठमाडौंका देवेन्द्र परियारको पनि कृष्णसँग भेट भयो। उनलाई कृष्णसँग भेट गराइदिने व्यक्ति हुन्– बाबुराम भनिने सुगम सुवेदी।

प्रविनालाई दुबई हुँदै मकाउ पठाइदिन्छु भनेर कृष्णले देवेन्द्रबाट पाँच लाख रुपैयाँ लगे। पैसासँगै पासपोर्ट पनि लगेका कृष्ण त्यसको केही दिनमै गायब भए। तीन वर्ष पुगिसक्यो, देवेन्द्रको डुबेको रकम उठेको छैन।

कृष्ण र सुगमलाई कारवाहीको माग गर्दै देवेन्द्रले श्रम विभाग, महानगरीय अपराध महाशाखा टेकु, महानगरीय ट्राफिक महाशाखा लगायतमा उनीहरुले चढ्ने गाडीको फोटोसहित निवेदन दिएका छन्।

“प्रहरीले दोस्रो पटक पक्राउ पुर्जी काटेको छ तर पनि कृष्ण पक्राउ परेका छैनन्,” देवेन्द्रले भने, “प्रहरीकहाँ धाउँदा धाउँदा थाकिसकें।”

०००
विदेश जान भरपर्दो म्यानपावरको खोजीमा लागेका झापाका राहुल नाल्बोको भेट केशवराज खनालसँग भयो। राहुललाई लगेर केशवले तिनै कृष्णसँग भेट गराइदिए। कृष्णले पोल्याण्ड पठाइदिन्छु भनेर राहुलबाट सुरुमा एक लाख र दुई पटकमा चार–चार लाख गरी ९ लाख रुपैयाँ लगे।

“भारत हुँदै पोल्याण्ड जानका लागि भारतस्थित नेपाली दूतावासको स्वीकृतिपत्र र भिसा लागेको पासपोर्टको फोटो पठाएको थियो, त्यही विश्वासमा नौ लाख रुपैयाँ बुझाइयो,” राहुल भन्छन्, “भोलि, पर्सी भन्दाभन्दै त्यो मान्छे नै हरायो।” जग्गा धितो राखेर निकालेको रु.९ लाखको ब्याज तिर्न अहिले राहुललाई समस्या परिरहेको छ।

मकाउ जानका लागि कृष्णको सम्पर्कमा आएका गोरखाका पारस नरालले उनलाई एक लाख रुपैयाँ बुझाए। तर पैसा पाएलगत्तै कृष्ण उनको सम्पर्कबाट पनि टाढिए। “पाँच महिनासम्म नभेटिएपछि प्रहरीमा उजुरी दिएँ । पक्राउ परेपछि रकम फिर्ता गरेर उनी छुटे।”

यो पटक ठगिएको रकम फिर्ता गराएका पारस अर्कोपटक भने कृष्णकै साथी सुगमबाट पाँच लाख रुपैयाँ ठगीमा परेका छन्। “कृष्णले रकम फिर्ता गरेपछि सुगमलाई मेरो पछि लगाएछ,” पारस भन्छन्, “सुगमले मकाउ पठाइदिन्छु भन्दै पाँच लाख लगेर फरार भए।” एक हप्ताभित्र उडाउँछु भन्दै सामान तयार गर्न लगाएको भोलिपल्टदेखि उनी सम्पर्कमा आएका छैनन्।

अघिल्लो दिन सुगमलाई भेटेको डायमन्ड एजुकेशन कन्सल्टेन्सीको बोर्ड टाँसिएको बालकुमारीस्थित कार्यालयमा भोलिपल्ट पुग्दा पाथीभराको बोर्ड टाँसिएको उनी बताउँछन्। पारसले सुगमविरुद्ध महानगरीय अपराराध महाशाखामा उजुरी दिएका छन्।

बाराका पुष्प लामाले पनि छोरालाई माल्टा पठाउने नाममा सुगमलाई पटक–पटक गरी रु. चार लाख बुझाए। “गएको चैतबाट सुगमको मोबाइल स्वीचअफ भएपछि असार २५ गते टेकुमा सुगमविरुद्ध उजुरी दर्ता गराएँ,” पुष्प लामा भन्छन्, “अहिले सुगम सेन्ट्रल जेलमा छ, कृष्ण भने फरार छ।”

सुगमले पुर्‍याए जेल

भक्तपुरका अम्बिका गौतम सुगमकै कारण जेल पुगेका छन्। तीन वर्ष मलेसिया बसेपछि युरोप जाने सोच बनाएर फर्किएका अम्बिकाको भेट केशव खनालसँग भयो।

केशवले उनलाई सुगमसँग भेट गराइदिए। अम्बिकालाई सुगमले विदेश पठाउने एजेन्टको काम गरे नेपालमै राम्रो कमाइ हुने सुझाव दिए । त्यसपछि अम्बिका विदेश जान चाहने युवा खोज्दै सुगमसँग सम्पर्क गराउन थाले।

त्यही क्रममा चितवनका तीन जना युवा शुक्रराज गौतम, भुवन इटनी र ध्रुव कँडेल अम्बिकामार्फत् सुगमको सम्पर्कमा पुगे। सुगमले अजरबैजान पठाउँछु भनेर तीनै जनाबाट गरी रु. १८ लाख बुझे।

तर, उनले रकम सोझै आफ्नो खातामा नमगाएर अम्बिकाको बैंक खातामा हालिदिन भने। तर, नक्कली कागजात लिएर अजरबैजानका लागि हिँडेका तीन जनामध्ये शुक्रराजलाई अजरबैजानको एरपोर्टबाट फर्किनुपर्‍यो भने अन्य दुई जना २२ दिन नयाँ दिल्ली बसेर फर्किए।

उनीहरुले नेपाल फर्किएर अम्बिकाविरुद्ध मुद्दा दिएपछि अहिले अम्बिका जेलमा छन्। अम्बिका भन्छन्, “मेरो खातामा आएको रकम सबै सुगमलाई बुझाएको हुँ, उसले चलाखी गरेको रहेछ। मलाई सुगमले फसायो।” जिल्ला अदालतले मागेको रु. १८ लाख धरौटी बुझाउन नसकेपछि उनी कारागार बस्नु परेको हो । मुद्दा अदालतमा विचाराधीन छ।

नागरिकतामा बाबुराम, लाइसेन्समा सुगम

ठगीको अभियोग लागेर जेल जीवन बिताइरहेका सुगम भनिने बाबुराम सुवेदीको नाम, ठेगाना, उमेर नागरिकता र सवारी चालक अनुमति पत्रमा फरक–फरक छ ।

दाङ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उनको ठेगाना सिसहनीया–१, जन्ममिति २०५१/४/१८ र नाम बाबुराम छ। तर उनै व्यक्तिले सुगम सुवेदीका नाममा कालिकानगर–१३ बुटवल ठेगाना, जन्ममिति २०४१/८/२१ राखेर सवारी चालक अनुमतिपत्र लिएका छन् ।

प्रहरीका अनुसार रविनप्रसाद धितालको उजुरीका आधारमा सुगम पक्राउ परेका हुन्। छोरालाई सेन्ट जेभीयर्स स्कुलमा भर्ना गराइदिन्छु भनेर सुगमले २०७३ सालमा रविनबाट एक लाख ५० हजार रुपैयाँ लगेका थिए। रविनले उनीविरुद्ध प्रहरीमा उजुरी दिएपछि जिल्ला अदालतमा ठगी मुद्दा चलेको थियो। अदालतले उक्त मुद्दामा सुगमलाई ६ महिना कैद र डेढ लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो।

रविनको मुद्दामा कैद भुक्तानी सकेर अम्बिकाको तर्फबाट उनकी पत्नी पार्वतीले हालेको मुद्दामा पूरक अभियोगमा पूर्पक्षका लागि सुगम अहिले कारागारमा छन्।

सुगमले पोखराका सरोज तामाङ, ईश्वर परियारलगायत थुप्रैलाई ठगेको उजुरी प्रहरीमा परेको छ। महानगरीय अपराध महाशाखाका अनुसार कृष्ण र सुगमका नाममा ठगीका उजुरीको चाङ लागेको छ।

प्रकाशित: Nov 30, 2019| 10:21 शनिबार, मंसिर १४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।