काठमाडौं- चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक व्यापार घाटा ८.९० प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यस्तो व्यापार घाटा ४ खर्ब ५४ अर्ब रहेको थियो।
आयातमा कमी तथा निर्यातमा वृद्धि हुँदा व्यापार घाटा घटेको हो। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांक अनुसार नेपालको निर्यात २३.९० प्रतिशतले बढेको छ, भने आयात ६.९२ प्रतिशतले घटेको छ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको बस्तु आयात भएको छ भने गत वर्षको सोही अवधिमा यस्तो आयात ४ खर्ब ८३ अर्ब ५७ करोड रहेको थियो।
त्यस्तै पहिलो चार महिनामा ३६ अर्ब २७ करोडको बस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९ अर्ब २८ करोड मात्र रहेको थियो।
सरकारले निर्यातजन्य सामग्रीको उत्पादनमा विभिन्न सहुलियत दिएर प्रवद्र्धन गरेकोले निर्यात विस्तारै बढ्दै गएको हो। त्यस्तै नेपाल विस्तारै पुननिर्माणको अवस्थाबाट माथि उठेको र केही केही सामग्रीमा आत्मनिर्भर हुदै गएकोले पनि आयातमा कमी आउँदा व्यापार घाटामा कमी आएको अर्थविद्हरु बताउँछन्।
२०७२ बैशाख १२ को भूकम्पपछि नेपालको अर्थतन्त्रमा आयातको हिस्सा ह्वात्तै बढेको थियो। त्यसपछिका केही वर्ष नेपाल पुननिर्माणमा जुटेको र निर्माण सामग्री आयात गर्नुपर्ने अवस्था रहेकोले पनि व्यापार घाटा बढ्दै गएको थियो।
त्यस्तै विस्तारै नेपाल सिमेन्ट, रड जस्ता सामग्रीमा नेपाल आत्मनिर्भर भएकोले पनि विस्तारै आयात घट्दै गएको हो।
राजस्वमा ८ अर्बले कमी
आयातमा निर्भर नेपालको राजस्वमा आयात कम भएसँगै चाप परेको छ। चालू आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा १ खर्ब २० अर्ब रुपैयाँ राजस्व उठेको छ। यो गत वर्षको तुलनामा ८ अर्ब रुपैयाँले कमी हो।
गत आर्थिक वर्षको पहिलो चार महिनामा १ खर्ब २८ अर्ब रुपैयाँ राजस्व उठेको थियो। यसरी राजस्वमा कमी हुँदा एकातिर सरकारको राजस्व लक्ष्यमा कमी आउँछ भने अर्कोतिर आगामी वर्षको विकास खर्चमा प्रत्यक्ष असर पर्दछ।