काठमाडौं । नेपाल पर्यटन बाेर्ड, हाम्राे पात्राे लगायत संघसंस्थासँगको सहकार्यमा गाउँ–गाउँमा लुकेर रहेका पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यसहित गत वर्षबाट सुरु भएको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिताको यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको छ। शुक्रबारबाट सुरु भएको यस वर्षको प्रतियोगितामा पुरस्कार राशिसँगै अवार्डका विधामासमेत वृद्धि गरिएको आयोजकले जनाएको छ ।
गत वर्ष पाँच लाख पुरस्कार राशि रहेकोमा यस वर्ष १५ लाख बढाएर २० ला पुर्याइएको हो । नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले प्रतियोगिताको औपचारिक रुपमा सुरुवात गरे। वी विल राइज फाउण्डेसनले आयोजना गर्ने प्रतियोगितामा यो वर्ष विभिन्न १० विधामा प्रतिष्पर्धा हुनेछ।
आयोजकका अनुसार बेस्ट भिडियो अफ द इयर विधामा उत्कृष्ट हुनेले पाँच लाख नगद पुरस्कार पाउने छन्। यस्तै पब्लिक च्वाइस अवार्ड र बेस्ट डिरेक्टरमा उत्कृष्ट भिडियोलाई तीन–तीन लाख तथा वुुमन भिडियो मेकर अफ द इयर, प्mयुचर स्टार अफ द इयर, मस्ट पोटेन्सियल डेस्टिनेसन, मस्ट स्क्रिप्ट भ्वाइसओभर, बेस्ट सिनेमाटोग्राफर र बेस्ट एडिटर विधामा एक–एक लाख पुरस्कार दिइने छ।
भिडियो निर्माताहरूले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदि जुनसुकै विषयलाई आधार बनाएर भिडियो तयार पान सक्ने प्रतियोगिताका निर्देशक अनुप के बरालले जानकारी दिए।
प्रतियोगिताको अवधि एक सय दिन राखिएको छ। अहिले पर्यटकहरूको अत्यधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सके त्यस्ता भिडियो पनि प्रतियोगितामा समावेश हुनसक्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग भएको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत यो प्रतियोगितामा सहभागिता जनाउन सक्छन् भने त्योभन्दा बढी गुणस्तरको भिडियो पनि मान्य हुनेछ । अधिकतम ५ मिनेटको भिडियोको सबै पक्षको निर्णायकले मूल्यांकन गर्नेछन्।
कार्यक्रमका सहभागीहरुले गत वर्षको प्रतियोगिताले थुपै्र लुकेका विषयवस्तुलाई उजार गर्न मद्दत गरेको बताए।
भ्रमण वर्ष संयोजक वैद्यले गत वर्षको प्रतियोगिताले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पुगेको भन्दै यो वर्षको पुरस्कार राशिमा भ्रमण वर्षले पाँच लाख थप्ने घोषणा गरे।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले नेपाललाई विश्वसामु चिनाउन अभियानले महत्वपूर्ण योगदान दिएकोले संघले सहकार्य गरेको बताए। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले प्रतियोगिताले चलचित्र पर्यटन प्रवर्धनमा टेवा पुग्ने भन्दै विदेशी चलचित्र छायांकनका लागि आकर्षण बढ्ने विश्वास व्यक्त गरे।