काठमाडौं । मिलन सुब्बाले केही दिनअघि ६ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राखे । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे । बरालले किन्नु अगाडि ‘टेष्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भने । टेष्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उनलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँमा खबर गरे ।
प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै २० लाख रुपैयाँ चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो ।
पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा उक्त मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उनले बताए । अञ्जनले यसअघि पनि टेष्टराइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला–बेलामा देखिएको छ र नयाँ मोटरसाइकल हराउने गरेको छ । बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थिए । महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताए ।
रासस