शुक्रबार, जेठ १६, २०७७

विचार
1581238276sushil_koirala.jpeg

आजकै दिन अर्थात् २०७२ माघ २६ गते कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएको थियो। मैले २०४७ देखि झन्डै दुई दशकसम्म उहाँसँग अत्यन्त निकट रहेर काम गर्ने अवसर पाएँ। उहाँलाई म सुशील दाइ भन्थें।

अहिलेको नेतृत्वले मात्र होइन युवापुस्ताले पनि उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन्। लोकतन्त्रप्रतिको उहाँको प्रतिबद्धता र सरल जीवनशैली अतुलनीय थियो। अहिले उहाँको शालीनताबारे चर्चा गर्नु उपयुक्त हुन्छ ।

दुःखका साथ भन्नुपर्छ- उहाँको जस्तो जीवनशैली अहिलेका कुनै नेतामा देखिँदैन। युवा पुस्तामा पनि मैले त्यस्तो कुनै संकेत देखेको छैन।

कांग्रेसमा सादगीपूर्ण नेताका रूपमा कृष्णप्रसाद भट्टराई निकै सम्मानित हुनुहुन्छ। सुशील दाइ पनि अर्का आदरणीय नेता हुनुहुन्छ। शालीन व्यक्तित्व र साधारण जीवनशैली उहाँका पर्याय थिए।

पदीय लालसाबाट सधैं टाढा

सुशील दाइमा कहिल्यै पनि पदप्रतिको मोह देखिएन। २०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला हामीले उहाँलाई परराष्ट्रमन्त्री बन्न धेरै अनुरोध गर्‍यौं। तर उहाँ ‘अहिले म मन्त्री बन्ने कुरै नगर’ भनेर पन्छिनुभयो।

२०५६ सालमा किशुनजी प्रधानमन्त्री भएका बेला आग्रह गर्दा पनि उहाँ मन्त्री बन्न मान्नु भएन।

हुन त कतिपयले ‘उहाँमा क्षमता नभएको’, त कतिले ‘एकैपटक ठूलो पद खोजेको’ जस्ता टिप्पणी गरे। तर, वास्तविकता बिल्कुलै भिन्न थियो। 

पछि उहाँ पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नुभयो। त्यसैले क्षमताको प्रश्न गलत थियो भन्ने पुष्टि भइसकेको छ।

अर्को, त्यति बेला अझ ठूलो पद  खोजेर मन्त्री नबनेको भन्ने टिप्पणी पनि सही होइन । किनभने गिरिजाप्रसाद कोइराला वा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नु सुशील दाइका लागि ‘सानो पद’ हुँदैनथ्यो। तर पनि खै किन हो, सुशील दाइले पद ओगट्न चाहनु भएन।

मन्त्री बन्ने कुरामात्रै होइन अन्य विषयमा पनि उहाँको मोह उतिसारो देखिँदैनथ्यो। 

आफूमाथि लागेका लाञ्छनाको वास्ता नगर्ने, त्यसको खण्डन नगर्ने कोइराला उति मुखर नहुनुलाई कसैकसैले उहाँको कमजोरीका रुपमा अर्थ्याउँछन्। 

पहिलो संविधानसभा निर्वाचनमा तेस्रो ठूलो दलमा खुम्चिएको नेपाली कांग्रेस  दोस्रो संविधानसभा निर्वाचनमा उहाँकै नेतृत्वमा पहिलो बन्न पुगेको थियो।

जब पार्टीमा उहाँको खाँचो पर्‍याे सुशील दाइ संसदीय दलको नेता र प्रधानमन्त्री बन्न सफल हुनुभयो। सबै दललाई सहमतिमा ल्याएर उहाँकै नेतृत्वमा मुलुकले नयाँ संविधान पायो।

त्यसबेला लोकतन्त्रप्रतिको उहाँको निष्ठाका कारण पनि हुनुपर्छ उहाँले यो पद स्वीकार गरेको।

आफ्नो व्यक्तिगत करिअरमा नकारात्मक असर पर्ला कि भन्ने परवाह नगरी उहाँले छिमेकी मुलुकहरुसँग देशहितमा स्पष्ट अडान लिनुभयो। संविधान जारी गर्दा पनि उहाँको अडान देखिएको थियो।

सधैँ सादगी

राजनीतिमा लागेर उहाँले न सम्पत्ति जोड्नुभयो, न कुनै अनियमिततामा मुछिनुभयो। अहिलेको पुस्तालाई त्यस्तो पनि हुन्छ र! त्यस्ता पनि नेता थिए र! भन्ने जिज्ञासा उठ्न सक्छ।

उहाँसँग गाडी थिएन। अन्तिम अवस्थासम्म पनि उहाँको न घर थियो, न घडेरी। आफ्नो पैतृक सम्पत्तिसमेत उहाँले पार्टी काममा लगाउनुभएको थियो।

सबैलाई थाहा छ, अन्तिम समयसम्म पनि आफन्तकहाँ बस्नुभयो सुशील दाइ।

सुशील दाइ पार्टी महामन्त्री हुनुहुन्थ्यो। म पार्टी कार्यालयको मुख्य सचिव थिएँ। म, सुशील दाइ र बलदेव मजगैयाँ चाबहिलबाट मेरै गाडीमा पार्टी कार्यालय जान्थ्यौं।

एक दिन म गाडी चलाइरहेको थिएँ। सुशील दाइ अघिल्लो सिटमा बस्नुभएको थियो। कुरैकुरामा मैले ‘आज मिष्ठान्न भोजन गराउने पालो महामन्त्रीज्यूको’ भनें।

मेरो कुरा सुनेर उहाँको मुख रातो भयो। किन रहेछ भनेर सोध्दा त उहाँको गोजी रित्तो रहेछ। अहिले पनि उहाँको त्यो पाटो सम्झँदा गर्व लाग्छ।

सुशील दाइले निर्वाचनका क्रममा पनि जनतालाई अरू नेताजस्तो नचाहिँदो आश्वासन दिनु भएन।

उहाँ सधैँ लोकतन्त्र संस्थागत गर्ने र बलियो बनाउने कुरा गर्नुहुन्थ्यो। लोकतन्त्रको सफल अभ्यासबाट नै मुलुकको दिगो विकास हुन्छ भन्ने उहाँको दृढ धारणा थियो।

अरू दलको त के कुरा, कांग्रेसमै पनि उहाँको जस्तो गुण भएको नेता छैनन्। जीवनशैली विलासी बन्नु हुँदैन भन्ने कुरामा उहाँ निकै सचेत हुनुहुन्थ्यो।

त्यही कारणले उहाँले राजनीतिक उचाइ प्राप्त गर्नुभयो। सबैका प्रिय बन्नुभयो। लोकतन्त्र र सुशासनप्रतिको उहाँको निष्ठामा कहिल्यै कसैले प्रश्न उठाउन सकेन।

हुन त उहाँ महामन्त्री र पार्टी उपसभापति हुँदा पनि कांग्रेसमा गुट थियो। तर, अहिलेजस्तो पार्टी, लोकतन्त्र र मुलुकको हितलाई एकातिर पन्छाएर गुटबन्दी हुँदैनथ्यो।

अहिले त व्यक्तिगत स्वार्थमा गुटबन्दी भइरहेको छ, लोकतन्त्र, मुलुक र देशका मुद्दा ओझेलमा पारिएको छ।

लोकतन्त्रप्रतिको अविचलित निष्ठा, सादगीपूर्ण जीवन शैली, भ्रष्टाचारको कडा विरोध उहाँबाट अनुसरण गर्नुपर्ने विषय हुन्। सुशील दाइप्रति हार्दिक श्रद्धासुमन।

 

प्रतिक्रिया दिनुहोस्