काठमाडौं । विभिन्न माग राखेर प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिँदै आएका निर्माण व्यवसायीले धर्ना कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भएका कारण धर्ना स्थगित भएको हो ।
साथै आफ्ना मागमा नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ सकारात्मक भएका कारण धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको निर्माण व्यवसायी महासंघले जनाएको छ ।
प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय र जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम पनि तत्कालका लागि स्थगित गरिएको महासंघले जनाएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री नेम्बाङले व्यवसायीका माग सम्बोधन गर्ने गरी ऐन नियम ल्याइने जानकारी दिएका थिए ।
म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलवार बिहान एक घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएको थियो ।