काठमाडौं- ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरबाट हटाइएको छ ।
स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएपछि भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
उनका अनुसार मंगलबार रातिको तुलानामा बुधबार बिहान स्वास्थ्यमा सुधार आएको छ । अब क्रमश आवाश्यक नपर्ने ब्याक सपोर्टहरु हटाउँदै जाने चिकित्सकहरुले बताएको उनले जानकारी दिए ।
प्रधानमन्त्रीलाई एनेस्थेसिया दिँदादेखि भेन्टिलेटर राखिएको थियो । मंगलबार अकस्मात पेट दुखेपछि प्रधानमन्त्री टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
बिहान नौ बजे भर्ना भएका प्रधानमन्त्रीको दुई घण्टापछि ११ बजे ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको थियो ।
‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो।
अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ ।
तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् ।