काठमाडौं – गैरनेपालीलाई वंशजको आधारमा नागरिकताको प्रमाणपत्र दिने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सहायक प्रजिअ दुर्गादत्त पौडेलसहित प्रशासकीय अधिकृत सदनकुमार कर्ण, नायव सुव्वा चन्द्रदेव ठाकुर, एक जना वडा अध्यक्ष र नागरिकता बनाउने कार्यमा संलग्न दुई गरि ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वीरगञ्ज उपमहानगरपालिकाको बसाइसराइ कागजमा घरमुलीको विवरण सच्चाएर वडा नम्बर २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा नागरिकता दिएको पाइएको छ। सोही वडामा बस्ने अजहर हुसेन र आरिफ हुसेनको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा संलग्न आरिफ हुसेन, सवरुन खातुन र वडा नम्वर २ का वडा अध्यक्ष शेष अव्वासविरुद्ध मुद्दा दायर गरिएको छ।
उनीहरुले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेकाले सोही दफा बमोजिम सजाय हुने तथा खातुन र हुसेनविरुद्ध दफा ११ बमोजिम सजाय मागदाबी गरिएको छ।