शुक्रबार, जेठ १६, २०७७

समाचार संवाद

कवितालाई सिद्धान्तको बन्दी बनाउनु हुँदैन : तुलसी दिवस

1581134453tulasi_diwas.jpg

वरिष्ठ कवि एवम् लोकसंस्कृतिविद् तुलसी दिवस (७८) अति व्यस्त साहित्यकार हुन्। स्वदेश र विदेशमा समेत साहित्य र लोकसंस्कृति सम्बन्धित कार्यक्रममा उनी व्यस्त भइरहेका हुन्छन्।

केही दिनअघि बांग्लादेशको ढाकामा आयोजित कविता सम्मेलनमा सहभागी भएका तुलसी दिवसले त्यहाँ आफ्ना कविता वाचन गरे भने बांग्ला भाषामा अनुदित उनका कविताहरु त्यहाँका कविहरुले वाचन गरेका थिए।

नेपाली कविता विधालाई कूटनीतिक सम्बन्धको एउटा सेतु बनाउनुपर्ने मान्यता अघि सार्दै आएका नेपाली साहित्य र लोकसंस्कृतिका प्रचारक कवि दिवससँगको संक्षिप्त कुराकानी-

कविता के हो ?

कविता मान्छेले अहिलेसम्म आर्जन गरेको सभ्यता र भाषाको सबैभन्दा सुन्दर अभिव्यक्ति र प्राप्ति हो । कविताले जहिले पनि मान्छेको सुन्दर चेतनाको परिचय दिन्छ।

साहित्यका अन्य विधाका तुलनामा कविता कम लेख्न-पढ्न-सुन्न थालिएको हो?

मलाई त त्यस्तो लाग्दैन। भर्खरै ढाकामा आयोजित कविता महोत्सवमा हजारौं मानिस सहभागी भए। खुला ठाउँमा आयोजित कार्यक्रममा रिक्सा चालकदेखि समाजका विशिष्ट व्यक्तित्व श्राेता थिए।

कविता लेख्ने, सुन्ने–सुनाउने क्रममा कमी आएको छैन। म जहाँ पुग्छु– त्यहाँ श्राेतादर्शकको उल्लेख्य सहभागिता देख्छु। कविहरू उत्साहित देख्छु। कविताका पुस्तक प्रशस्त प्रकाशित भएको पाउँछु।

विश्व कविताको प्रवृत्ति कस्तो छ?

दक्षिण एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा देश, राष्ट्रियता, देशको अस्मिता, कला, संस्कृति, स्वतन्त्रताका निमित्त कवितालाई सबैभन्दा सशक्त र प्रबल हतियार बनाएको देखिन्छ।

भाषा, साहित्य र संस्कृतिले देशको पहिचान र अस्मिता निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। त्यसको निमित्त जीवन अर्पण गर्न पनि तयार हुन्छन् भन्ने कुरा बंगलादेशको छोटो इतिहासले प्रस्ट गर्छ।

मातृभाषा दिवस अहिले विश्वभर मनाइन्छ। त्यसको सुरुवात बंगलादेशबाट भएको हो। भाषा, साहित्य र संस्कृतिको प्रेम सबैमा हुन्छ। बंगलादेश जन्मिएको धेरै भएको छैन। यसको इतिहास पुरानो छैन। त्यहाँ कवि, साहित्यकार र चित्रकारहरुको सिर्जनशील भूमिका उच्चस्तरको छ। अन्य देशमा पनि यस्तै हो।

देश र समाजैपिच्छे कविताका प्रवृत्ति उस्तै हुन्छ र?

सार्वभौम रूपमा केही समानता हुन सक्ला। तर, कविताको अवधारणा बुझ्न र यसलाई सदुपयोग गर्नका निमित्त सम्बन्धित देश, समाज र क्षेत्रको घटनाक्रम, अन्तर्राष्ट्रिय घटनाक्रम र क्षेत्रीय घटनाक्रमले केही न केही असर पार्छ नै। त्यसैले दक्षिण अमेरिका, अफ्रिका, एसिया, युरोप, अमेरिका र क्यानाडाका कवितामा विविधता हुन्छ।

नेपालैभित्र पनि जातजाति र क्षेत्रमा भौगोलिक परिवेशमा केही फरकपन छ। भिन्नभिन्न पहिचानअनुसार कविता सिर्जना हुनु स्वाभाविकै हो।

एउटा भूगोल र भाषाको कविता अर्को भूगोलमा अनुवाद गर्दा ग्रहण गर्न गाह्रो हुन्छ। हाम्रै कविता अङ्ग्रेजीमा बुझ्न कठिन हुन्छ । तर मान्छे जहाँ बसे पनि मान्छे नै हो। कविताप्रति समर्पण र मोह संसारमै छ।

अब कस्तो कविता लेखिनुपर्छ?

कवितामा सिद्धान्तको परम्परागत साङ्लो चुँडाल्नुपर्छ। प्रवृत्तिमा परिवर्तन आउनु आवश्यक छ। कवितालाई गीत र नाचलाई जस्तो परम्परावादी मनोरञ्जन, प्रचार र आफ्नो दृष्टिकोण आरोप गर्ने साधन बनाउने प्रवृत्तिबाट मुक्त गर्नुपर्छ। कविता मान्छेले मान्छेकै निमित्त लेख्ने हो। कवितालाई मान्छेको जीवनको गुणस्तर वृद्धिका निमित्त सदुपयोग गरिनुपर्छ। कवितालाई कविताकै रूपमा बाँच्न दिनुपर्छ।

सिद्धान्त बुझेर कविता लेख्ने कि कविता लेखेर सिद्धान्त बनाउने?

कविता कुनै स्थापित सिद्धान्तको पिँजडाभित्र मैना र सुगाजस्तो बन्दी भएर बस्न सक्दैन। त्यसले आफ्नो ढंगको उडान, आफ्नो आकाश, आफ्नो धर्ती, आफ्नो समाजअनुसार आकार र रंगरुप लिन्छ। परम्परागत सिक्रीचाहिँ भत्काउनुपर्छ।

मान्छेको विवेक, बुद्धि र खोजअनुसन्धानमा नवीनता आएको छ। कविता अहिले विश्वविद्यालयको बौद्धिक बहसमा मात्र सीमित छैन। औपचारिक स्थल, सडक र सर्वसाधारण जनतामा पनि पुगेको देखिन्छ। मान्छेलाई मान्छे बनाउन, सुसंस्कारित बनाउन, सौन्दर्य चेतना विकसित गरी सर्वोच्चानन्द प्राप्त गर्न कविताको उल्लेखनीय भूमिका छ।

हामीले कवितालाई हामीले कलाका निम्ति वा जीवनका निम्ति भनेर अनेक सिद्धान्तका आधारमा अगाडि बढाउने दृष्टिकोण अपनाएका छौँ। तर कविता स्थान विशेष, क्षेत्र विशेष, समय विशेष, जाति विशेषसँग जोडिएर आएको हुन्छ।

सिद्धान्त पढेर कविता लेख्ने होइन। कविता लेखेपछि सिद्धान्त निर्माण हुन्छ। कविता कुनै आन्दोलनले विकसित हुने पनि होइन। कवितामा नवीनता, मौलिकता र कविको निजत्वपूर्ण अभिव्यक्ति प्रस्ट रूपमा मुखरित हुनुपर्छ।

अब कस्ता कविता लेख्ने त?

यसअघि नलेखिएको जस्तो लेखिनुपर्‍यो। मौलिक, नवीन र निजत्वपूर्ण हुनुपर्‍यो। अगाडि कसरी लेखिएको थियो फेरि त्यसरी नै लेख्ने हो भने निजत्व स्थापित हुँदैन। यसमा कविले विशेष ध्यान दिनुपर्छ।

कविता कूटनीतिमा पनि काम लाग्छ?

अवश्य, सरकारको तहबाट औपचारिक कूटनीतिक सम्बन्ध हुन्छ नै । कला साहित्यका माध्यमबाट अनौपचारिक कूटनीतिक सम्बन्ध स्थापित भइरहेको हुन्छ । यसमा स्रष्टाहरुको भूमिका महत्त्वपूर्ण हुन्छ। कवितामार्फत कूटनीतिक सम्बन्ध थप बलियो बनाउन सकिन्छ। सरकारी स्तरमा मात्र सम्बन्ध जोडेर हुँदैन। जनस्तरको सम्बन्ध बलियो बनाउन सिर्जनाको ठूलो भूमिका हुन्छ। कविता, कथा, उपन्यास, निबन्ध, निबन्ध, यात्रा साहित्य, चित्रकला, गीतसंगीत र संस्कृति आदानप्रदान अपरिहार्य हुन्छ। मान्छे-मान्छेबीचको सेतु, मान्छेले मान्छेलाई चिनाउने काम र दीर्घजीवी बनाउने काममा कविताको महत्त्वपूर्ण भूमिका रहन्छ। हाम्रो साहित्यिक सम्बन्ध चीन, भारत, बांग्लादेश, भुटान, पाकिस्तानसँग मात्र सीति हुनु हुँदैन, बिस्तारै अन्य मुलुकसँग बढाउनुपर्छ।

विश्वका धेरै ठाउँमा पुग्नुभएको छ। अब कहाँ जाने कार्यक्रम छ ?

संसारका अधिकांश देशमा पुगिसकेको छु। धेरैतिरबाट निम्ता आउँछ। उमेर र स्वास्थ्यका कारण सबै ठाउँमा पुग्न त्यति सहज छैन। केही दिनअघि ढाकामा थिएँ। केही सातापछि मेक्सिको, पेरु र कोलम्बिया जानेछु।

प्रतिक्रिया दिनुहोस्