काठमाडौं - ‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट गरिने भएको छ। पर्यटन, संस्कृति तथा नागरिक उड्डडयन मन्त्री योगेश भट्टराईले सोमबार नेपाल भ्रमण वर्ष २०२० को मूल आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै भव्य कार्यक्रमका साथ भ्रमण वर्षको उद्घाटन गर्ने जानकारी दिए।
दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा हुने भव्य समारोहमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गर्नेछिन्। उद्घाटन समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु, कुटनीतिक नियोगका प्रमुखहरु, ४० देशका पर्यटन मन्त्रीहरु, विश्वका ठूला विमान कम्पनीका प्रमुखहरु, विश्वका चर्चित सञ्चारमाध्यमका प्रतिनिधिलगायतको सहभागिता हुनेछ।
३१ डिसेम्बरको राति ठमेलमा नेपाल भ्रमण वर्षको विशेष कार्यक्रम हुनेछ। यस्तै बौद्ध, स्वयम्भू, पशुपतिनाथ, लुम्बिनी, जनकपुरलगायतका ठाउँमा २ हजार २० वटा दियो बाल्ने कार्यक्रम छ । १ तारिखको दिन बिहानैदेखि देशैभरि कार्यक्रम हुनेछन् । बिहानै पशुपतिमा १ सय ८ शंख बजाइने छ। बौद्ध र स्वयम्भूमा पनि भिक्षूहरुले विशेष मन्त्रोच्चारण गर्नेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने पर्यटकलाई हात्तिबाट विशेष स्वागत गरिनेछ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले विशेष कला प्रदर्शन गर्नेछन् भने कुटुम्ब, नेपत्थ्यलगायतका देशका चर्चित सांगितिक समूहले सांगितिक प्रस्तुति दिने छन्। भ्रमण वर्षको उद्घाटनको दिन साँझ आतिसबाजी गर्ने र हजारौं बेलुन उडाएर समापन गरिने आयोजकले जनाएको छ।
झण्डै सात दर्जन मुल आयोजक समिति सदस्य, विभिन्न प्रदेशका मूख्यमन्त्री तथा प्रदेश पर्यटन मन्त्री लगायतको उपस्थितीमा भएको बैठकले विभिन्न निर्णहरु पनि गरेको छ। नेपाल भ्रमण वर्ष देशको महाअभियान भएकोले यसको सफलताका लागि सबैको सहयोग आवश्यक रहेको मन्त्री भट्टराईले बताए।
बैठकका निर्णयहरु
-राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट उद्घाटन हुने ।
-उद्घाटन सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष संवोधन गर्ने।
-मूल आयोजक समिति सदस्यहरुले एक साता भित्रमा आफूले के-के गर्ने भन्ने स्पष्ट कार्यक्रम ल्याउनु पर्ने
-प्रचार सामाग्री त्रिभूवन विमास्थलमा राखिने।
-विदेश जाने विद्यार्थी वा कामदार तथा अन्यले नेपाल भ्रमण वर्षको प्रचार हुने सामाग्री उपलब्ध गराउने।
-विद्यार्थी भए पढ्न गएको कलेजका प्रमुखलाई केही न केही नेपालको उपहार दिनुपर्ने वा कामदार भए आफू कार्यरत कम्पनीको कार्यकारी प्रमुखलाई उपहार दिनुपर्ने।
-सवै राजनीतिक दलहरुसंग साझा कार्यक्रमको लागि पहल गरिने।
-प्रदेश सभाले पनि पर्यटन वर्षको उद्घाटनको चाजोपाजो मिलाएर यसको जानकारी पन्ध्र दिनभित्र भ्रमण वर्ष सचिबालयमा पठाउने।
-नेपाल भित्र उत्पादन हुने कुनै पनि उत्पादनको प्याकेटको बाहिरी भागमा नेपाल भ्रमण वर्षको लोगो राख्न सबैलाई आग्रह गरिने।
-नेपाल भ्रमण वर्ष २०२० मूख्य आयोजक समितिमा रहनु हुने विभिन्न संघसंस्था वा व्यक्तिले विदेश भ्रमण गर्दा अनिवार्य रुपमा नेपाल भ्रमण वर्षको बारेमा प्रस्तुतीकरण गर्ने।
-सार्वजनिक स्थललाई झकिझकाउगरी सौन्दर्य बनाउन पहल गर्ने।
-उपत्यका भित्रका स्थानीय निकायसंगको सहकार्यमा सरसफाई थालिने।
-दुबईको बुर्ज खलिफा लगायत विश्वको गगनचुम्नी भवनमा नेपाल भ्रमण वर्षको लोगो देखाउन एनआरएन र नेपाली राजदूतावाससंग समन्वय गर्ने।
-नेपाल भ्रमण वर्षको आधिकारिक गीतमार्फत भ्रमण वर्षको प्रवर्द्धन गर्ने।