धनगढी- कैलालीको चुरे गाउँपालिकास्थित खैरालामा रहेको राणाकालीन गर्भा दरबार संरक्षणको अभावमा जीर्ण बनेको छ। बि.सं. १९८४ मा खड्क शमशेर जबराले निर्माण गरेको ऐतिहासिक दरबार संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो।
दरबारको संरक्षणमा ध्यान दिन नसक्दा प्रयोगविहीन बनेको र कलाकृति जडित भित्ताहरु भत्किन सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्।
राणा शासकहरू खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फु काफलीमा बास बस्दै सिलगढी पुग्ने गरेको इतिहास खैरालाका बुढापाका सुनाउँछन्।
दरबारको संरक्षण गर्नसके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयवासी विकास खत्रीको भनाइ छ। कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने यस दरबारको संरक्षण सरकारले ध्यान दिए स्थानीयको जीवनस्तरमा समेत सुधार गर्न सकिने उनी बताउँछन्।
राणा शासनकालमा निकै चहलपहल रहने गरेको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो। खड्क शमशेरका छोरा बहादुर शमशेरपछि गर्भा दरबार बहादुर शमशेरका साहिँला छोरा तेजप्रकाश शमशेर जबराको भागमा परेको थियो।
राणाशासनको अन्त्यपछि पनि शासकहरु बसेको उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि नबसेको चुरे गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर शाहले बताए।
उनले दरबारको संरक्षणका लागि वडा कार्यालयको प्रयासले मात्रै पर्याप्त नहुने बताए। दरबार संरक्षणका लागि स्थानीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको तर्क छ।
खैराला मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले यो ठाउँ रोजेको हुनसक्ने बुझाई स्थानीयको छ।
गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन्। १० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ। सुरक्षाका दृष्टिकोणले दरबारभित्र सुरुङ समेत बनाइएको छ। जो अहिले पुरिँदै गएको छ।
दरबारको संरक्षणको लागि स्थानीय सरकारले विशेष योजना बनाइरहेको चुरे गाउँपालिका अध्यक्ष धनबहादुर रोका मगरले दाबी गरे। उनले गाउँपालिकाको बजेटले मात्रै यसको संरक्षण नहुने भएकाले प्रदेश र संघीय सरकारसँग व्यवस्थापनका लागि सहयोग मागिने बताए।
सडक सञ्जालमा जोडियो गर्भा दरबार
भौगोलिक विकटताको समस्या झेल्दै आएका साबिक खैराला गाविसमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासी हौसिएका छन्।
सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी कैलालीमै रहेको यो चुरे क्षेत्र राज्यको उपेक्षाका कारण दुर्गम क्षेत्रका रुपमा रहेको थियो। तर अहिले भने सडक सञ्जालसँग जोडिएको छ।
सडक बनेसँगै स्थानीयले हरेक कुरामा सहज हुने अपेक्षा गरेका छन्। स्थानीय देवबहादुर मगरले बिगतमा चुरे क्षेत्रमा उत्पादित बस्तुले बजार नपाउने समस्या रहे पनि अब भने बजार पाउने आशा पलाएको बताए।
सडक सञ्जालसँगै अब स्थानीयवासीलाई उपचारका लागि टाढाका अस्पतालमा जानसमेत सजिलो भएको छ।
पूर्वपश्चिम राजमार्गको चौमाला सडकखण्डदेखि उत्तरी चुरे पहाड गर्भा दरबारसम्म पैदल हिँडेर एक दिन लाग्ने गथ्र्यो। सडक सञ्जाल जोडिए पछि दुई घण्टामै पुग्न सकिन्छ।
चुरे क्षेत्रलाई सडक सञ्जालसँग जोड्न २०६५ सालबाटै पहल भए पनि झन्डै १० बर्षपछि सडक बिस्तार भएको इन्जिनियर चन्द्रदेव भट्टले बताए