काठमाडौं- प्रहरीले रसुवागढी नाकाबाट करिब एक किलोग्राम सुनसहित दुई महिलालाई पक्राउ गरेको छ।
केरुङबाट रसुवागढीतर्फ आउँदै गरेको अवस्थामा नाकामा चेकजाँचका क्रममा सोमबार बिहान ९ बजे ६ सुनका डल्लासहित महिला पक्राउ परेको रसुवाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भोगेन्द्रपुरुष ढकालले जानकारी दिए।
विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले गोसाइँकुण्ड-१, थुमन बस्ने ३४ र ३९ वर्षीया महिलालाई पक्राउ गरेको उनले जानकारी दिए।
महिलाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
महिलाले पटुकामा बाँधेर सुन भित्र्याउँदै गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रसुवागढीमा तौल गर्ने उपकरण नभएकाले जिल्ला सदरमुकाम धुन्चे ल्याएर नेपाल बैंक लिमिटेडको मेसिनमा तौल गरिने ढकालले जानकारी दिए। सुनसहित महिलालाई राजस्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ।
तस्करले महिलालाई प्रयोग गरी सुन तस्करी गर्ने शैली अपनाउन थालेको प्रहरीको आशंका छ।