काठमाडौं- पाकिस्तानले एसीसी इमर्जिङ टिम्स कपको उपाधि जितेको छ।
शनिबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनलमा उसले आयोजक बंगलादेशलाई ७७ रनले पराजित गर्यो।
पाकिस्तानले दिएको तीन सय दुई रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४३.३ ओभरमा दुई सय २४ रनमा अलआउट भयो। बंगलादेशका आफिफ हसनले सर्वाधिक ४९ रन जोडे। यस्तै कप्तान नाज्मुलहोसेन सान्तोले ४६, मेहदी हसनले ४२, यासिर अलिले २२, मोहमद नैइमले १६, सौम्य सरकारले १५ रनको इनिङ खेले।
बलिङतर्फ पाकिस्तानका मोहमद हस्नैनले तीन तथा खुस्दिल शाह र सैफ बदरले समान दुई विकेट हात पारे। यस्तै, समीम गुल, अमद बुट र उमेर खानले समान एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १ रन बनाएको थियो। उसका रोहैल नजिरले १ सय १३ रनको शतकीय पारी खेले। यस्तै इमरान रफिकले ६२ रनको अर्धशतकीय पारी खेले। यस्तै, कप्तान आउद सखिलेले ४२, खुस्दिलले २७, हेडर अलीले २६ र अमदले १५ रनको योगदान गरे।
बंगलादेशका सुमो खानले तीन तथा हसन महमुदले दुई विकेट हात पारे।
यसअघि सेमिफाइनलमा पाकिस्तानले भारतलाई र बंगलादेशले अफगानिस्तानलाई हराएको थियो।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, ओमान र हङकङ सहभागी थिए। प्रतियोगितामा टेस्ट राष्ट्रका यु-२३ टिम सहभागी थिए।