कास्की- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेको आरोप लगाएका छन्।
पोखरामा शनिबार भएको चुनावी सभामा उनले भने, “भारतले ओलीसँग सल्लाह नगरी नक्सा छाप्नै सक्दैन,” देउवाले भने।
भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश छ। यसको देशभर विरोध भइरहेको छ।
उनले प्रधानमन्त्री ओलीको राष्ट्रवादले कालापानीमा घुँडा टेकेको बताए। “ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ,” उनले भने।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको स्पष्ट पारे। “सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ। महाकालीको पानीमा पनि आधा हक लाग्छ,” उनले भने।
ओली सरकारले भ्रष्टाचार बढाएको उनले बताए। “हरेक ठाउँमा भ्रष्टाचार बढेको छ। सरकारले अनावश्यक कर बढाएको छ,” उनले भने, “यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ। कठपुतली बनाउन खोजिँदैछ।”
उनले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत दिन मतदातासँग आग्रह गरेका छन्।
यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत कास्की २ मा कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।
देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू रामशरण महत, शेखर कोइराला, मिनेन्द्र रिजाल, गगन थापालगायत नेता सहभागी छन्।