शनिबार, फागुन १७, २०७६

समाचार स्वास्थ्य/जीवनशैली

२६२ किमि पार गरी अस्पताल पुग्छन् क्यान्सरका बिरामी

२६२ किमि पार गरी अस्पताल पुग्छन् क्यान्सरका बिरामी

काठमाडौं– ‘म हुँ र म गर्न सक्छु’ भन्ने मूल नाराका साथ आज (मंगलबार) विश्वभर क्यान्सर दिवस मनाइँदैछ।

क्यान्सरको उपचारबारे जनचेतना फैलाउन हरेक वर्ष फेब्रुअरी ४ मा क्यान्सर दिवस मनाइँदै आएको छ।

विश्वभर क्यान्सर दिवस मनाइरहँदा नेपालमा भने क्यान्सरका बिरामीले उपचारमा सास्ती भोग्नुपरेको छ। उपचार सेवा सर्वसुलभ नहुनु, उपकरण अभाव हुनुलगायत कारणले क्यान्सरका बिरामीले सास्ती भोग्नुपरेको हो। 

मुलुकभरका चार जिल्ला (काठमाडौं, भक्तपुर, चितवन र झापा)का अस्पतालमा मात्रै क्यान्सरकाे उपचार सेवा छ। काठमाडौंको वीर अस्पताल, काठमाडौं क्यान्सर अस्पताल तथा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, भक्तपुरकाे भक्तपुर क्यान्सर अस्पताल, चितवनकाे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र झापाकाे बी एन्ड सी अस्पतालमा क्यान्सर उपचार हुने गरेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा क्यान्सरका बिरामी औसत २६२ किलोमिटर दूरी पार गरेर उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

त्यति मात्रै होइन, क्यान्सरका एक बिरामीले उपचारका लागि औसतमा १ सय ३ दिन खर्च गर्नुपर्ने महाशाखाले जनाएको छ।

सरकारले विपन्न नागरिकको लागि विपन्न नागरिक औषधि तथा उपचार कोष खडा गरी गम्भीर प्रकृतिका बिरामीको लागि १ लाख सहयोग पनि गरेको छ। तर, बिरामीलाई उपचारभन्दा उनीहरूको यातायात, खाना, तथा बस्दाको उपचार बढी हुने महाशाखाका चिकित्सक फडिन्द्र बराल बताउँछन्।

बराल भन्छन्, “बिरामीले उपचार खर्चभन्दा अन्य खर्चमा ८० प्रतिशत रकम बढी तिर्नुपर्ने अवस्था छ। अब रेडियसन थेरापीलगायत क्यान्सर उपचारका उपकरण अन्य अस्पतालमा थपेपछि यस्ता समस्यालाई न्यूनीकरण गर्न सकिन्छ।”

नेपालमा झण्डै ६० हजारको हाराहारीमा क्यान्सरका बिरामी रहेको महाशाखाको तथ्यांक छ।

क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागाईंका अनुसार नेपालमा वर्षेनी २६ हजार १ सय ८४ नयाँ क्यान्सर रोगी भेटिन्छन्, जसमध्ये १९ हजार ४ सय १३ जनाको मृत्यु हुन्छ। 

विश्वभर भने एक वर्षमा झन्डै दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ र ७६ लाखभन्दा बढीकाे मृत्यु हुने गरेकाे छ।

चापागाईंका अनुसार क्यान्सर हुने यकिन कारण हालसम्म पत्ता लाग्न सकेको छैन। तर, वंशाणुगत, जीवनशैली, वातावरणलगायत यसको मुख्य कारक बन्ने गरेको छ।

चिकित्सकका अनुसार ७ देखि १० प्रतिशतसम्मको क्यान्सर वंशाणुगत हुन्छ।

समयमै निदान गरी उपचार गर्न सके क्यान्सर रोग निको हुने डा. चापागाईं बताउँछिन्। “३० देखि ५० प्रतिशतसम्मको क्यान्सर रोकथाम गर्न सकिन्छ। यसका लागि व्यक्तिले आफ्नो जीवनशैली र खानपिनमा ध्यान दिनुपर्छ,” उनले भनिन्, “रोग लाग्नुअघि यसको निदान गर्न आवश्यक छ।”

नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन्, जसमध्ये फोक्सोका सबैभन्दा बढी २३ प्रतिशत छन्। यस्तै, पाठेघर मुखको क्यान्सरका १७, स्तन क्यान्सरका १५, पेटको क्यान्सरका १०, घाँटी, अन्डाशय तथा मुत्रथैलीको क्यान्सरका ७–७, पित्ताशय तथा कलेजोका ५–५, र मलाशयको क्यान्सरका ४ प्रतिशत बिरामी छन्।

नेपालमा नसर्ने रोगका हुने कुल ६६ प्रतिशत मृत्युमध्ये २० प्रतिशतको क्यान्सरबाट हुने गरेको छ।

नेपालमा संक्रमणबाट हुने क्यान्सरको दर बढ्दै गएको छ। नसर्ने रोग भए पनि अरु रोगको संक्रमणबाट क्यान्सर भएर अस्पताल पुग्नेको संख्या बढेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार नेपाललगायत अन्य गरिब राष्ट्र क्यान्सरबाट बढी ग्रस्त भएका छन्।

अन्तिम अवस्थामा पुग्छन् अस्पताल

नेपालमा वर्षेनी दुई हजार ३३२ जना महिलामा पाठेघरको क्यान्सर लाग्ने गरेको महाशाखाको तथ्यांक छ, तीमध्ये आधाभन्दा बढीको मृत्यु हुने गरेको छ।

महाशाखाका अनुसार नेपालमा ८०.९ प्रतिशत पाठेघर मुखको क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेका छन्।

परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक कृष्णबहादुर चन्दका अनुसार क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने भएकाले मृत्युदर ५० प्रतिशतभन्दा बढी छ।

प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुने क्यान्सर रोग विशेषज्ञ बताउँछन्। क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्ण भन्छन्, “क्यान्सरलाई एउटा हाउगुजीको रूपमा लिने गरिएको छ, समयमै अस्पताल आउँदा यो रोग पूर्णरूपमा निको हुन्छ।”

चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सक बताउँछन्।

क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धूमपानका कारण भएको डब्ल्यूएचओले जनाएको छ। डब्ल्यूएचओका अनुसार विकसितभन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएका छन्।

पर्याप्त छैनन् रेडियसन थेरापी उपकरण

क्यान्सर रोगको प्रभावकारी उपचार पद्धति मध्येको एक हो– रेडियसन थेरापी अर्थात् विकिरण पद्धति। तर, नेपालमा यो उपकरण पर्याप्त छैनन्।

डब्लूएचओको मापदण्ड अनुसार निम्न तथा मध्य आयस्तर भएका राष्ट्रमा १० लाख जनसंख्या बराबर कम्तीमा एउटा ‘रेडियसन थेरापी मेसिन’ हुनुपर्छ। यसआधारमा नेपालमा कम्तीमा ३० उपकरण आवश्यक पर्छ। तर, नेपालमा नौ वटा मात्रै रेडियसन मेसिन रहेको क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागाईं बताउँछिन्।

आवश्यक मात्रामा उपकरण नहुँदा पनि क्यान्सरको उपचारमा समस्या भएको उनले बताइन्। चापागाईंका अनुसार ७० प्रतिशत क्यान्सर बिरामीलाई उपचारको क्रममा रेडियसन थेरापीको आवश्यक पर्छ। 

महाशाखाका अनुसार क्यान्सर उपचार हुने मुलुकका ६ अस्पतालमध्ये पाँचमा मात्रै रेडियसन थेरापीका उपकरण छन्। वीर अस्पताल रेडियसन थेरापीको उपकरण थप्ने तयारीमा छ। 

 

प्रतिक्रिया दिनुहोस्