शुक्रबार, वैशाख ७, २०८१

माइक्रो यात्रा : गन्तव्यमा पुग्नै गाह्रो

 |  मंगलबार, मंसिर ३, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, मंसिर ३, २०७६

स्थानः रत्नपार्क । समयः साँझको ६ बजे । रत्नपार्क–बानियाँटार रुटको माइक्रो गुड्न ठिक्क परेको छ । १३ जनाको सिट क्षमता रहेको माइक्रोमा दोब्बर यात्रु खाँदिए बसेका छन् । सहचालक चिच्याउन छाडेका छैनन्– बानिँयाटार, बानियाँटार जाने यता, सिट खाली ! उकुसमुकुस यात्रु जाऊँ जाऊँ गुरुजी भन्दैछन् तर चालक सुनेको नसुन्यै छन् ।

triton college

उपत्यकामा चल्ने माइक्रोको बनावट नै यस्तो हुन्छ– सिधा भएर उभिन पनि नमिल्ने, बस्न पनि नमिल्ने । हलचल गर्नसमेत गाह्रो । दैनिक रुपमा सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुपर्ने काठमाडौंबासीका लागि भीडमा ठेलमठेल गर्दै यात्रा गर्नु, माइक्रोमा ढाड कुप्रो बनाएर सास्ती खेप्नु, चालक–सहचालकसँग झगडा गर्नु सामान्यजस्तै भइसकेको छ ।

दैनिकजसो माइक्रोमा यात्रा गर्ने अनिल भन्छन्, ‘सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने हुन्छ, कसैलाई झुक्किएर छोइँदा पनि गालि खानुपर्छ ।’ यस्तो समस्या अनिलले मात्र भोगेका छैनन् । सार्वजनिक यातायातमा यात्रा गर्ने धेरैजसोले भोगेका छन् । सार्वजनिक यातायातमा यात्रा गर्ने हो भने धेरैथरीका मानिसका धेरैथरी समस्या सुनिन्छन् ।

दैनिक सार्वजनिक यातायातमा यात्रा गर्ने मिथिला शर्माको अनुभव पनि अनिलको जस्तै छ । ‘सार्वजनिक यातायातको अवस्था र मानिसको व्यवहार देख्दा चढ्नै मन लाग्दैन तर विकल्प नभएपछि के गर्नु ?’ शर्मा भन्छिन् ।

६५ वर्षिया रमा काप्रीलाई माइक्रोमा यात्रा निकै सकसपूर्ण हुन्छ । ‘बाटोमा बस कुर्दा कहिले त बस नै रोक्दैनन् । बूढाबूढीलाई सीटमा बसाउनुपर्छ भनेर भनेर गाडी नै रोक्न खोज्दैैनन्,’ रमाले दुखेसो पोखिन् । महिला, बालबालिका, वृद्धवृद्धा तथा बिरामीका लागि सार्वजनिक यातायात झनै कष्टकर छ ।

corrent noodles
Metro Mart

चढ्नै सकस

काठमाडौंका बस तथा माइक्रो स्टेशनहरुको अवस्था हेर्ने हो भने मान्छेको भीडले त्यहाँ कुनै मेला लागिरहेको भान हुन्छ । विषेशगरी कार्यालय जाने र फर्कने समयमा यात्रुको चाप थेगिनसक्नु हुन्छ । स्टेशनमा बस आइपुग्नासाथ यात्रुको ठेलमठेल सुरु हुन्छ । एकले अर्कोलाई धकेल्दै, कुल्चिँदै बसभित्र छिर्नुको विकल्प हुँदैन । बसभित्रको सास्ती त बेग्लै छँदैछ ।

स्टेशनमा हुने यात्रुको ठेलमठेल र अव्यवस्था हटाउन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई वर्ष अगाडि काठमाडौंका विभिन्न बस स्टपमा लाइन लागेर बस चढ्ने अभियान सुरु गरेको थियो । तर त्यो, अभियानले निरन्तरता पाउन सकेन । केही समय यात्रुहरु लाइन लागेको देखिए पनि फेरि स्थिति उस्तै हुन पुग्यो । लाइन सिस्टम प्रभावकारी नहुनुमा यात्रु नै जिम्मेवार भएको दाबी गर्छन् ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविकुमार पौडेल । ‘यात्रु आफैं सभ्य बनेर लाइनमा बसेर बस चढ्नुपर्ने हो, तर त्यस्तो पाइँदैन,’ उनी भन्छन् ।

सरकारले सार्वजनिक यातायात सुधार्न भन्दै यस क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य गरेको दाबी गरेको छ । सार्वजनिक यातायात सहज बन्दै गएको दाबी सरकारी अधिकारीहरु गर्छन् । तर, यात्रु भने त्यो अनुभूति गर्न नपाएको बताउँछन् ।

असुरक्षा

क्षमताभन्दा बढी कोचिएर यात्रा गर्दा असुरक्षा पनि उत्तिकै छ माइक्रोबसमा । सामान चोरी हुने, पाकेटमारी दुर््व्यवहार आदि यात्रुको नियति नै हो । सार्वजनिक सवारीमा हुने दुर्व्यवहार, असुरक्षा, चोरी जस्ता समस्या समाधानका लागि प्रहरीले सेफ्टी पिन अपरेसन पनि सञ्चालन गरेको छ । तर, त्यो पर्याप्त नभएको यात्रुहरु बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार विषेशगरी रिङरोड क्षेत्रमा प्रहरीले सेफ्टी पिन अपरेसन सञ्चालन गर्दै आएको छ । प्रहरीले यस अभियानबाट केही सफलता हासिल गरेको बताए पनि यात्रुले पूर्णरुपमा सुरक्षित महसुस गर्न सकेका छैनन् । भित्रि रुटहरुमा त यो अभियान चलाइएकै छैन ।

ढिलो भए आधा बाटोसम्ममात्रै जान्छन्

काठमाडौंमा अबेर साँझ नहुँदै सार्वजनिक यातायात कम भइसक्छन् । चलेका थोरै सवारीसाधन पनि गन्तव्यसम्म नपुग्ने यात्रुहरुको गुनासो छ । सात बजेपछि चलेका प्रायःले गन्तव्यमा नपु¥याउने बताउँछिन् नागार्जुनकी संगीता बराम । संगीता भन्छिन्, ‘कहिले आधि बाटोमा पुगेपछि तेल सकियो, यहाँबाट जाँदैन भन्छन् त कहिले रात परिसक्यो हामी पनि घर जानुपर्छ भन्छन् । हामी यात्रु भने ‘धन्न यहाँसम्म आइपुगियो’ भन्नुको विकल्प रहँदैन ।’ साँझ परेपछि विद्यार्थी कार्डको पनि छुट नपाइने यात्रुहरु गुनासो गर्छन् ।

घिनलाग्दा सिट

काठमाडौंमा चल्ने सार्वजनिक यातायातको अर्को समस्या हो– गाडीका सीट । धेरैजसो बस तथा माइक्रोका सिट बस्न लायक देखिँदैनन् । कतै भाँचिएका त कतै च्यातिएका । सिटमा हालेको कभर पनि मैलो र च्यातिएको । कतिपय यात्रु नाक खुम्च्याउँदै बस्छन् त कतिपय ‘यस्तै त हो नि सार्वजनिक यातायात’ भन्दै चित्त बुझाउँछन् ।

सरुवा रोगको जोखिम

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई सरुवा रोगको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् । विषेशगरी जाडोको समयमा श्वासप्रश्वासबाट सर्ने रोगको जोखिम बढी हुन्छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘सार्वजनिक यातायातमा सबैखाले यात्रु चढ्छन् । कतिपय सरुवा रोगी हुन सक्छन् । त्यसैले सार्वजनिक यातायातमा यात्रा गर्दा स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ ।’ यात्रा गर्दा मास्क लगाउने, धेरै टाँसिएर नबस्ने तथा हातमा पञ्जा लगाउने गर्दा जोखिम कम हुने पुनको भनाइ छ ।

गुनासो गर्नुस्ः ट्राफिक

सार्वजनिक यातायातमा थुप्रै समस्या छन् । सास्ती भोग्न अभ्यस्त भइसकेका छन् यात्रु । गुनासो लिएर सम्बन्धित निकायमा कमैमात्र पुग्छन् । धेरैजसोलाई त गुनासो गरेर समस्या समाधान हुन्छ भन्ने पनि लाग्दैन ।

महानगरीय ट्राफिक महाशाखाको भनाइलाई आधार मान्ने हो भने पनि सार्वजनिक यातायातका समस्या लिएर आउने यात्रुको संख्या धेरै हुँदैन । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता रविकुमार पौडेल यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्न प्रहरी तयार रहेको भन्दै जस्तोसुकै समस्याबारे पनि ट्राफिक प्रहरीलाई खबर गर्न आग्रह गर्छन् ।

‘आफूले पाउनुपर्ने सुविधा नपाए वा यात्रुका अधिकार हनन् भए नेपाल प्रहरीको फोन नम्बर १००, ट्राफिकको नम्बर १०३ मा फोन गरेर गुनासो गर्नुहोस् । बाटोमा खटिएका प्रहरीलाई पनि भन्न सक्नुहुन्छ,’ पौडेल भन्छन् ।

प्रकाशित: Nov 19, 2019| 05:00 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।