शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • मन्त्रिपरिषद् विस्तार अझै अन्यौलमा, अल्पमतमा अष्टलक्ष्मी सरकार, हतियार चोरी प्रकरणमा प्रहरी पनि दोषी [२०७८-५-१५]

मन्त्रिपरिषद् विस्तार अझै अन्यौलमा, अल्पमतमा अष्टलक्ष्मी सरकार, हतियार चोरी प्रकरणमा प्रहरी पनि दोषी [२०७८-५-१५]

नेपालले भर्खरै पार्टी दर्ता भएको र जनप्रतिनिधिले दल रोज्ने क्रम जारी रहेकाले भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं- मन्त्रिपरिषद् विस्तार भदौ २२ गतेपछि मात्रै हुने भएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको आग्रहअनुसार मन्त्रिपरिषद् विस्तार भदौ २२ गते पछि मात्रै हुने भएको हो। नेपालले भर्खरै पार्टी दर्ता भएको र जनप्रतिनिधिले दल रोज्ने क्रम जारी रहेकाले भदौ २२ अघि मन्त्रिपरिषद् विस्तार नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।  

triton college

मंगलबार बसेको गठबन्धनको बैठकमा नेपालले यस्तो आग्रह गरेका थिए। प्रधानमन्त्री देउवाले नेपालको आग्रह अनुसार नै मन्त्रिपरिषद् विस्तार तत्काल नगर्ने भएका छन्। अब दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुनेछ। अध्यादेश निष्क्रिय नभई मन्त्रिपरिषद् विस्तार गर्दा असन्तुष्ट समूहले दल विभाजन गर्न सक्ने सम्भावित जोखिमलाई हेरेर जनता समाजवादी पार्टीले अध्यादेश निष्क्रिय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न देउवालाई सुझाव दिएको छ।

यसैबिच, सरकारले केही दिनमै दल विभाजन गर्न सहज हुने गरी ल्याएको अध्यादेश निष्क्रिय बनाउने तयारी गरेको छ। त्यसका लागि प्रधानमन्त्री देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

000

अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका १२ जना सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी हुन्। उनीहरूले मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेकपा एकिकृत समाजवादीमा रहने गरी सनाखत गरेका छन्। 

corrent noodles
Metro Mart

एमाले छाडेर माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोज्नेहरुमा नेताहरुमा सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधव पौडेल, बसन्त मानन्धर, बसुन्धरा हुमागाईं,  पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, रमा आले मगर र कुसुमकुमार कार्की छन्। 

योसँगै १ सय १० सदस्यीय प्रदेशसभामा एमालेको सांसद संख्या ४५ सदस्य मात्रै भएको छ। बहुमतका लागि ५५ सिट आवश्यक पर्छ। एमालेको सभामुखसहित ५६ सदस्य रहेका थिए। दोलखाका प्रदेश सांसद पशुपति चौलागाईंको कोरोनो संक्रमणको कारण निधन भएको एक स्थान रिक्त रहेको छ। उनी एमालेबाट निर्वाचित थिए।

एमाले इतरका बहुमत दलहरुको गठबन्धन निर्माण गरेर नयाँ सरकार बनाउने तयारी गरेका छन्। नयाँ मुख्यमन्त्रीका रुपमा नेकपा एकीकृत समाजवादीले दाबी गर्ने भएको छ। उक्त पार्टीका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीलाई आफ्नो दाबेदारी पेस गरेका छन्। बागमतीमा नेकपा एकीकृतको दाबी रहने र उक्त पार्टीबाट आफू मुख्यमन्त्री बन्ने उनको भनाइ छ। 

000

सुदूरपश्चिमका १० जना प्रदेश सांसदले एमाले छाडेका छन्। उनीहरुले मंगलबार एमाले छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन्। नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिक रुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकिकृत समाजवादी पार्टी रोजेर सनाखत गरेका हुन्।

नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गर्नेहरूमा हाल मन्त्री रहेकाहरू पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी रहेका छन्। प्रदेशसभामा एमालेका सभामुख बाहेक कूल २४ जना सांसद् थिए। अब १४ जना मात्रै बाँकी भएका छन्। 

000

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसियल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ। केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसियलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए। नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन। इन्चार्ज दिपशीखाका अनुसार वाईसियलको बिधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन। 

गत शनिबारबाट सुरु भएको वाईसियलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गरेका थिए। तर सहमती जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो। माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको छ।

000

साढे दुई वर्षअघि दुई सैनिकलाई सर्ट मेसिन गन (एसएमजी) चोरेको अभियोगमा फसाउने सेनाको योजनामा प्रहरीले पनि साथ दिएको पाइएको छ। रोल ...

जिल्ला प्रहरी कार्यालय उदयपुरका तत्कालीन एसपी चन्द्रदेव राई र चितवनका तत्कालीन एसपी सुशीलसिंह राठौरले सेनाको दबाब र प्रभावमा परेर सैनिक अमल्दार लबकुमार गुरुङको परिवारलाई यातना दिएको पाइएको हो।  हतियार अर्कैले चोरेको पुष्टि भइसक्दा पनि सैनिकद्वय अमल्दार गुरुङ र सिपाही सरोज तामाङ जिल्ला कारागार चितवन चलान भएर कैद सजाय भोगिरहेका छन्।

सैनिकद्वय लवकुमार र सरोजलाई ०७५ चैत २५ गते कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले कैद सजाय सुनाएको थियो। लबकुमारलाई १० वर्ष र सरोजलाई ७ वर्ष कैद सजाय हुने फैसला सुनाइएको थियो। चरम यातना दिएर जबरजस्ती हतियार चोरेको स्विकार्न सेनाको अनुसन्धान टोेलीले बाध्य बनाएको समेत खुलेको छ। उक्त हतियार अर्कै सैनिक जवानबाट प्रहरीले बरामद गरेपछि पोल खुलेको हो। 

हतियार सैनिक जवान गंगाधर ढकालको साथबाट प्रहरीले बरामद गरेको छ। गत साउन ७ गते चितवनमा सेनाका हुद्दा भरत गुरुङको हत्या गर्दा ढकालले उक्त हतियार प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

000

दिगो विकास लक्ष्य हासिल गर्नका लगि छुट्टै विशेष कानुन ल्याउनुपर्नेमा सांसदहरुले जोड दिएका छ। संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास विकास तथा शुसासन समितिका सदस्यहरुले विद्यमान कानुन दिगो विकास लक्ष्य अनुकुलका नभएकाले विकासको लक्ष्य हासिल गर्नका लागि छुट्टै कानुन बनाउनका लागि आवश्यक पहल गर्न समिति सभापतिको ध्यानाकर्षण गराएका हुन्। 

मंगलबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले अधिकांश कानुनहरु संघीय संरचनामा लैजानका लागि पञ्चायति कानुनमा आनुसांगिक मिलाउने मात्रै काम भएको भन्दै विद्यमान कानुनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता औल्याएका हुन्। समिति सदस्य दिनानाथ शर्माले आनुसांगिक मात्रै मिलाएका कानुनमा संसोधन गर्नुभन्दा छुट्टै कानुन ल्याउन सुझाव दिए।

छलफलपछि समितिले विद्यमान कानुनहरुलाई दिगो विकास लक्ष्य अनुरुप संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। अधिकांश कानुनहरु नयाँ संविधान जारी हुनु पहिला, दिगो विकास लक्ष्य अनुमोदन गर्नुपुर्व बनेकाले ती कानुनहरुले दिगो विकासका लक्ष्यहरुलाई सम्बोधन गर्न नसक्ने ठहर समितिले गरेको छ। विद्यमान कानुनहरुको परिमार्जन तथा दिगो विकास लक्ष्य अनुरुप शंसोधन गर्न समितिले नेपाल सरकारलाई निर्देशन दिएको सभापति तारादेवी भट्टले जानकारी दिइन्। 

दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिनुको साथै निरन्तर दिगो विकासका विभिन्न पक्षमा नीतिगत बहस तथा छलफल केन्द्रीत गरेको समितिले मंगलबार विद्यमान नीति नियम तथा कानुनको अवस्थाका सम्बन्धमा विज्ञसंग छलफल गरेको हो। 

000

पछिल्लो २४ घण्टामा देशभर एक हजार ६६४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट १ हजार ५२३ जना र एन्टिजेन परीक्षणबाट १४१ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा जम्मा १२ हजार २२२ परीक्षण भएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७८६ जना कोरोनामुक्त भएका छन्। बिहीबार देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेका छन्।

000

काठमाडौं उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर बुधबारबाट बल प्रयोग गरेर उठाइने भएको छ। काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलवारको बैठकले बल प्रयोग गरेर भए पनि फोहोर उठाउने निर्णय गरेको हो। 

मेयर शाक्यले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिए। उनदे स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको बताए। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद  पराजुलीले फोहोर उठाउने निर्णय भएको र सडक विभागले महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने निर्णय भएको बताए। पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने बताए। काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पनि सकेसम्म शान्तिसुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने बताए। 

अब अन्तर्राष्ट्रिय समाचार 

अमेरिकाले २० वर्षदेखि जारी युद्ध अन्त्य गर्दै पूर्ण रुपमा अफगानिस्तान छाडेसँगै तालिबानले कतार र टर्कीलाई काबुल बिमानस्थलको ब्यबस्थापन गरिदिन आग्रह गरेको छ। 

यसका लागि विभिन्न चरणमा दुई देशसँग तालिबानले वार्ता गरेको छ। चाँडो भन्दा चाँडो बिमानस्थल सुरक्षित राख्दै अफगानिस्तान छोड्न चाहनेहरुले व्यवसायिक उडान प्रयोग गर्न पाउने वातावरण बनाउनका लागि तालिवानले आग्रह गरेको हो। 

अमेरिकी भने २० वर्षदेखिको मिसन अन्त्य गर्दै सोमबार राति अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लगेको छ। योसँगै सन् २००१ देखि अफगानिस्तानमा अमेरिकाले सुरु गरेको सैन्य अभियानको अन्त्य भएको छ।

२० वर्षे युद्ध अन्त्य भएको खुशीमा तालिबानले भने मेसिनगन पड्काउँदै विजयोत्सव मनाएका छन्।  सोमबार मध्यराति आकाशमा लगातार फायरिङ गरेर विजयोत्सव मनाएका हुन्।

प्रकाशित: Aug 31, 2021| 20:44 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।