मंगलबार, असार २३, २०७७

समाचार

१३ वर्षदेखि १८ स्थानीय तहको फोहर सिसडोलमा, आसपासका १० स्थान अति प्रभावित

1580283901sisdol.jpg

काठमाडौं - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्यान्डफिल्ड साइटको वातारणीय प्रभाव मूल्याङ्कनका बारेमा गरेको अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाएको छ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई मंगलबार नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा भोजराज पन्तले अध्ययन प्रतिवेदन बुझाएको हो । प्रतिवेदनअनुसार विगत १३ वर्षदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल्डमा व्यवस्थापन हुँदै आएको थियो।

प्रतिवेदनले साइट आसपासका १० स्थान अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ स्थान कम प्रभावित भएको देखाएको छ। मापनका आधारमा नुवाकोटको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्यान्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँच स्थान अति प्रभावित क्षेत्रमा परेका छन्।

त्यस्तै धादिङको धुनिबेँसी नगरपालिकाअन्तरगत सिंखडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी चार ठाउँ र काठमाडौंको तारकेश्वर नगरपालिकाअन्तरगत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ। यसैगरी ककनीका ८ र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन् । तिनमा ककनी गाउँपालिकाअन्तरगतका भण्डारथुम्का, ढोका भञ्ज्याङ, चाउथी ए र बी, कागती गाउँ, शिवालय माध्यमिक विद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिकाअन्तरगत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ रहेका छन्। ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्यांकी डाँडागरी दुई ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन् । त्यस्तै धादिङको धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी दुई वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन् ।

वैज्ञानिक डा पन्तका अनुसार साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपक्षी तथा मानव बसोबासमा परेको प्रभावजस्ता विषयलाई अध्ययनका क्रममा हेरिएको छ। स्थलगतरूपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयवासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको डा पन्तले जानकारी दिएका हुन्।

अध्ययन गएको असोज र कात्तिक महिनामा गरिएको हो। अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पुर्याएको असर, ल्यान्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्यान्डफिल्ड साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने घुलनशील धुलोको कणको अवस्था र यिनीहरूले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता विषय समेटिएका थिए।

यसका लागि लिचेड निष्कासन हुने एक ठाउँबाट लिचेडको, कोल्पु खोला एक ठाउँबाट भूमिगत र चार ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो।

त्यस्तै ल्यान्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ ठाउँबाट ग्यास, ककनी गाउँपालिका वडा १ र २ का एकएक ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो । त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो । अध्ययनका लागि नास्टका सचिव डा महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।

नास्टकै वरिष्ठ वैज्ञानिक अधिकृत डा पन्त सदस्य–सचिव रहेको समितिको सदस्यमा नाष्टका वैज्ञानिक डा दीपाश्री रावल र जयश्री सिजापति रहेका थिए भने वातावरणविज्ञ इन्जिनियर सूर्यमान शाक्य र महानगरका इन्जिनियर सरकारदीप श्रेष्ठ सदस्य रहेका थिए।

प्रतिक्रिया दिनुहोस्