काठमाडौं– राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
कसैले प्रचण्डका घरबेटी ठेकेदारप्रति जनताले देखाएको आक्रोशलाई मुख्य समाचार बनाएका छन् भने कसैले सीमा र लिपुलेकको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको नयाँ पत्रिकाले भने काठमाडौंको नेसनल हस्पिटलले एम्बुलेन्स चालकसँग बिरामी किनबेचको डिल गरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले एम्बुलेन्स चालकलाई भोज खुवाएर अस्पतालको अफरः एक बिरामी ल्याउनेलाई सात हजार कमिसन शीर्षकमा खबर लेखेको छ ।
नयाँ पत्रिकाले समाचारमा लेखेको छ– काठमाडौंको नेपाल नेसनल हस्पिटलले एकैपटक ३५ एम्बुलेन्सचालक भेला गरेर चितवनको न्यु पिस फेमिली कटेजमा भोज दियो । भोजसँगै हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसरले जुनसुकै रोगका बिरामी ल्याएमा सात हजार कमिसन दिने घोषणा गर्दै ज्याकेट पनि वितरण गरेका थिए ।
कान्तिपुर दैनिकले ठेकेदारप्रति जनआक्रोश शीर्षकमा मुख्य समाचार छापेको छ। ठेकेदार शारदा अधिकारीले नगरकोट आउजाउ गर्ने मुख्य सडक वर्षौदेखि अलपत्र बनाएपछि स्थानीयले विजुलीको पोल र सवारी साधनमा उनको फोटो टाँसेर विरोध गरेका हुन् ।
यस्तै कान्तिपुरले वामदेव गौतम र माधव नेपाललाई फकाउन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली सक्रिय बनेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
ओलीले गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न प्रस्ताव गरेका छन् भने नेपाललाई बोलाएर चार घण्टा छलफल गरेका छन्।
अन्नपूर्ण पोस्ट्ले लिपुलेकमा भारत र चीनले आँखा लगाएको विषयलाई मुख्य समाचार बनाएको छ। यो क्षेत्र व्यपारिक केन्द्र बनाउने भनेर दुई देशले ६६ वर्षअघि नै सम्झौता गरेको समाचारमा उल्लेख छ ।
यस्तै कञ्चनपुरको पसनर्वास स्थित प्यारातालपारि रहेको मुख्य सीमा स्तम्भमा नेपाल प्रहरीलाई नै जान निषेध गरिएको विषयलाई पनि अन्नपूर्णले महत्वका साथ छापेको छ । पिलर नम्बर ११५ अबलोकन गर्न गएका प्रहरीलाई भारतीय सुरक्षाकर्मी फर्काएको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिकले गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधी थप्न चलखेल भएको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै देशभर ९ सय ६१ स्थानमा सीमा मिचिएको भनि सशस्त्र प्रहरी बलले बुझाएको प्रतिवेदनको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ।
अस्पतालको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिसन
नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ ।
यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको छ ।
भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्सचालकको भेला गरिएको हो । उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् ।
नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए । उनले एम्बुलेन्स मगाउने आफन्तलाई प्रभावित गरेर बिरामीलाई आफ्नो अस्पतालमा ल्याइदिन चालकहरूलाई आग्रह गरेका थिए । जुनसुकै रोगको बिरामी भए पनि आफ्नै अस्पतालमा ल्याइदिन उनको जोड थियो ।
स्वतन्त्र रूपमा अस्पताल छान्न पाउने बिरामी र आफन्तको अधिकार कुण्ठित गर्न यस्तो भेला आयोजना गरिएकोमा चितवन प्रहरीको पनि ध्यानाकर्षण भएको छ ।
‘काठमाडौंको कलंकी चोकमा रहेको नेपाल नेसनल हस्पिटलका प्रतिनिधिको उपस्थितिमा एम्बुलेन्सचालक भेला भएका रहेछन्, एकजना बिरामी अस्पताल पुर्याएबापत सात हजार रुपैयाँ कमिसन चालकलाई दिने प्रतिबद्धता अस्पतालका प्रतिनिधिले व्यक्त गरेछन्,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले भने, ‘यो चरम विकृति हो, तर समयमै जानकारी नभएकाले उनीहरूलाई पक्राउ गर्न सकिएन ।’ बिरामी र आफन्तलाई शोषण गर्ने यस्तो विकृतिलाई सहन नसकिने उनले बताए ।
‘यो गैरकानुनी काम हो, हामी छानबिन गर्छौँ, दोषीमाथि कारबाही गर्छाैँ,’ एसपी मल्लले भने ।
ठेकेदारप्रति जनआक्रोश
कान्तिपुरमा प्रकाशित समाचारअनुसार सडक विस्तार अलपत्र पारिएपछि नगरकोटका बासिन्दाले निर्माण व्यवसायीको फोटो बिजुलीको पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन् ।
ठेक्का लिएर तीन पटक म्याद थप गर्दा पनि काम नसकिएपछि उनीहरूले दबाब दिन शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो मंगलबार पोल र सार्वजनिक तथा निजी सवारी साधनमा टाँसेका हुन् ।
नगरकोट आउजाउ गर्ने मुख्य सडक वर्षौं अलपत्र बनाइँदा पर्यटन व्यवसायमै असर परेपछि ठेकेदारको फोटो टाँसेर विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।
स्थानीयले राजकुमार लामिछानेको संयोजकत्वमा २ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेरसमेत आन्दोलन गरिरहेका छन् । शैलुङका अध्यक्ष अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् ।
आरामाली इन्फ्रा पावर लिमिटेड र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले सन् ०१४ जुन ५ मा दुई वर्षभित्र सक्ने गरी सडक विस्तारको सम्झौता गरेका थिए । तीन पटक म्याद थप गर्दा उनीहरूले बल्ल ६५ प्रतिशत काम सकेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए ।
ठेक्का लागेको ३० महिनासम्म रूख काट्न ढिलाइ भएको जस्ता समस्या देखाएर निर्माण व्यवसायीले सम्झौताको म्याद थप गराएका थिए । पछिल्लो पटक थपिएको म्याद सन् ०१८ जुनमै सकिएको छ । निर्माण व्यवसायीले अहिले पनि म्याद थपको बाटो खोजिरहेका छन् ।