शुक्रबार, साउन २३, २०७७

स्वास्थ्य/जीवनशैली

कोरोना भाइरस : असारमा सुतेर मंसिरमा दाइँ हुँदैन

1580191594corona_virus.jpg

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको चर्चा छ अहिले। यो भाइरसको संक्रमणबाट मर्नेको संख्या त्यहाँ १ सय नाघिसकेको छ। छिमेकी मुलुक नेपालमा यसको संक्रमण पुष्टि भइसकेको छैन, तर जोखिम भने छ। सरकारी निकायहरुले त्रिभुवन विमानस्थलमा सचेतना अपनाएको समाचारहरु पनि आइरहेका छन्।

कोरोना भाइरसबारे देशभर चासो र चिन्ता छ। त्रास पनि छ । खासमा के हो त कोरोना भाइरस ? कसरी सर्छ यो ? कस्तो सतर्कता अपनाउनुपर्छ ?

भाइरसको जैविक परिचय

मानव कोष तथा कोषिकाहरू वास्तवमा जीवनको एउटा एकाइ हुन्। यी हरेक कोष कोषिकाहरूमा वंशाणुगत सूचनाको भण्डारण गर्ने डिएनए, सञ्चार गर्ने आरएनएदेखि लिएर कोषलाई आकार दिने प्रोटिनहरू, कुन समयमा कुन सूचना प्रवाह गर्ने कुराको निर्क्यौल गर्ने प्रोटिनहरू, संक्रमण भइहालेमा संक्रमकलाई हटाउन तम्तयार भएर बसेका मिलिसिया जस्ता पोक्टिनहरू, संक्रमणलाई नियन्त्रण गर्न नसकिएमा सहमृत्युवरणरण गर्ने महत्वपूर्ण तथा उत्तिकै जटिल कामहरू गर्ने जस्ता प्रोटिनहरू रहेका हुन्छन्।

वैज्ञानिकहरूले कोषभित्रका यस्ता तत्वहरूलाई बायोमोलिकुल्स भनेर अंंग्रेजी नाम दिएका छन् । बायोमोलिकुल्सलाई चिनीजडित वा प्रोटिनजडित कोलेस्ट्रोललगाएतका चिल्लो पदार्थ भएका दुईवटा पत्रले घेरेर एउटा कोषको रुप दिएका हुन्छन् ।

चन्द्रमणि काफ्ले

तपाईंले हाइस्कुलमा पढ्नुभएको कुरालाई सम्झिनुभएको होला। भाइरस वा जिवाणुहरू सजिव तत्व र निर्जिव तत्वहरूको बीचमा रहेका हुन्छन् भनेर कुनै एक समयमा हामीलाई पढाइएको थियो। त्यसै कारण हामी पनि यहाँ भाइरस जातिको एकाईलाई कोष तथा कोषिका नभनी कण वा भाइरसको कण भनेर चर्चा गर्दैछौं ।

संक्रमण गर्न सक्ने एउटा भाइरसको कण पनि कोष जस्तै केही बायोमोलिकुल्सले भरिएको हुन्छ तर कोषमा जस्तो बायोमोलिकुल्सको विविधता हुँदैन । भाइरसमा वंशाणुगत सूचना भण्डारण तथा सञ्चार गर्नका लागि डिनए वा आरएनए हुन्छ तर कोषमा जस्तो डिनए र आरएनए दुवै भने हुँदैन । अपवादबाहेक सामान्यतया भाइरसका कणहरू औसत मानव कोष भन्दा केही हजार गुणा साना हुन्छन्।

त्यसकारण धेरै बायोमोलिकुल्स अटाउने ठाउँ भाइरसको कणभित्र हुँदैन नै, कणहरुले पुनरउत्पादन वा जीवनचक्रका लागि पनि कोष भित्रका बायोमोलिकुल्सको भर पर्नुपर्ने हुन्छ । तर सबै भाइरसका प्रजातीहरूले सबै प्रकारका कोष कोषिकाहरूमा संक्रमण गर्न नसक्ने भएकाले भाइरस र यसको आतिथ्य, परजिवि स्विकार गर्ने कोषकोषिकाहरूबीचको सम्वन्ध चाबी र ताल्चाको जस्तो हुन्छ ।

त्यस्तै, कोरोना भाइरस पनि आफ्नो जिवनचक्र संचालनको लागि केही निश्चित प्रकारका कोषहरूमा भरपर्छ ।

कोरोना भाइरस विषेशतः जनावरहरूमा पाइने भाइरस हो । यसको कणभित्र अनुवंशकिय सूचना भण्डारण गर्नका लागि आरएनए हुन्छ, जुन डिएनए जस्तो स्थिर र भरपर्दो हुँदैन । जनावरको कोषभित्र हुने भाइरसको जीवनचक्रको क्रममा उत्परिवर्तन (म्युटेसन) हुने सम्भावना पनि आरएनए वाहक भाइरसहरूमा डिएनए वाहक भाइरसको तुलनामा धेरै हुन्छ ।

उत्परिवर्तन भनेको दुईधारे तरवार जस्तो हो, जसले भाइरसलाई फाइदा पुर्याई अत्याधिक संक्रामक बनाउन पनि सक्छ अथवा यसले भाइरसको संक्रमण गर्ने क्षमतालाई निष्कृय पनि बनाइदिन सक्छ वा उत्परिवर्तनको असर भाइरसमा केही नपर्न पनि सक्छ ।

आरएनए वाहक कोरोना भाइरसमा भइरहने उत्परिवर्तनका कारण यो भाइरस जीवनचक्र पूरा गर्न निश्चित प्रकारका कोषहरूमा मात्र वा निश्चित प्रकारका जनावरहरूमा मात्र निहित नरहन सक्छ ।

यस्तै, हालसालैको उत्परिवर्तनमार्फत् चमेरो जातिमा संक्रमण गर्ने यो भाइरस मानव जातिमा संक्रमण गराउन सक्षम भएको र सम्भवत मानव जातिमा पनि भएको भाइरसको उत्परिवर्तनले यसलाई अत्यधिक संक्रमक बनाएको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।

कस्तो महामारी हो यो ?

विगतलाई हेर्ने हो भने २१औं शताब्दीको पहिलो २० वर्षमा कोरोना भाइरसको यो तेश्रो महामारी हो । सन् २००३ मा सार्स र २०१२ मा मर्स महामारी पनि कोरोना भाइरसको संक्रमणद्वारा नै भएको थियो । २००३ को सारसल महामारी चमेराबाट मानव जातिमा सरेको र संक्रमित मानवबाट अर्को मानवमा सरेर महामरीको शुरुवात भएको थियो ।

त्यस्तै २०१२ को मरसक नामक कोरोना भाइरस उँटबाट मानव जातिमा सरेको तर संक्रमित मानिसबाट अर्को मानिसमा सजिलै श्वासप्रश्वासको माध्यमबाट संक्रमण नसरे पनि यसले महामारीको रुप लिएको थियो ।

वुहानको माछा बजारबाट सुरु भएको पछिल्लो महामारी कोरोना भाइरसकै कारण भए पनि कोरोना भाइरसमा हुने उत्परिवर्तनहरूले गर्दा संक्रमणको प्रकृति पहिलेको महामारी भन्दा फरक हुन सक्ने वैज्ञानिकहरूको राय रहेको छ ।

वुहानमा पहिलो पटक नयाँ कोरोना भाइरसबाट संक्रमित बिरामी भर्ना भएको करिब हप्ता दिनमै चिनियाँ वैज्ञानिकहरूले यो भाइरसको अनुवंशकिय सूचना सार्वजनिक गरेका थिए । यो सूचना अध्ययन गर्दा नयाँ कोरोना भाइरस चमेरामा पाइने कोरोना भाइरससँग करिब ८९ प्रतिशत र २००३ मा सार्स महामारी गराएको कोरोना भाइरससँग करिब ८० प्रतिशत समानता रहेको पाइएको छ।

नयाँ कोरोना भाइरसका बिरामीहरूमा सार्स र मर्स कोरोना भाइरसका बिरामीहरूमा जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास छिटो छिटो हुने, टाउको तथा जिउ दुख्ने लक्षण देखिएको छ। तर संक्रमणको लक्षण उस्तैउस्तै देखिँदैमा महामारीको स्वरुप पनि उस्तै हुन्छ भन्ने छैन। सार्सको महामारीमा करिब १० प्रतिशत मृत्युदर थियो भने मर्सको महामारीमा करिब ३५ प्रतिशत।

तर, अहिलेको भाइरसको महामारीमा मृत्युदर यति नै हो भनि हाल्नु हतार हुन्छ। नयाँ कोरोना भाइरस महामारीको स्वरुप भविष्यवाणी गर्नुभन्दा पहिले केही प्रश्नको उत्तर खोज्न जरुरी छ।

पहिलो, के हामीले यो भाइरसको संक्रमणको प्रकृति बुझिसकेका छौं ? मानव शरीरमा भाइरसका कणहरू प्रवेश गरेको समयदेखि पहिलो लक्षण देखिन केही समय लाग्छ। उदाहरणको लागि सामान्य रुघाखोकीको भाइरस शरीरमा प्रवेश गरेदेखि पहिलो लक्षण देखिन औसतमा दुईदेखि चार दिन लाग्छ। अर्थात् लक्षण देखिनु भन्दा पहिले नै संक्रमित बिरामीले अरूलाई रुघाखोकीको भाइरस सार्न सक्छ।

भाइरसका कणहरूले प्रवेश गरेको समयदेखि पहिलो लक्षण देखिन लाग्ने समय जति लामो भयो, महामरीको स्वरुप त्यति नै जटिल हुन आँउछ। संक्रमणको यो महत्वपूर्ण पाटो यकिन रुपमा नबुझिसकिएकोले नयाँ कोरोना भाइरसको महामारीको गहिराइ अहिले यसै नाप्न सकिँदैन ।

दोश्रो, २०१२ को मर्स कोरोना भाइरसको महामारीमा केही बिरामीहरूमा कुनै लक्षण नै देखा परेको थिएन । अर्थात्, मर्स कोरोना भाइरस संक्रमित बिरामीले आफू बिरामी भएको महशुस नै नगरी अरुलाई संक्रमण सारेको पाइएको थियो ।

अहिले देखिएको भाइरसले कतै यस्तो प्रकृतिको संक्रमण त गरिरहेको छैन भन्ने कुराको यकिन जानकारी पाइएको छैन । यदि नयाँ भाइरसको संक्रमण यस्तो प्रकृतिको हो भने भुसभित्र सल्किएको आगो जस्तो आफूलाई स्वस्थ महशुस भए पनि भित्रभित्रै संक्रमित भई अरूलाई पनि संक्रमण सार्दै महामारी झन् फैलिने सम्भावना हुन्छ।

तेश्रो, यो महामारीको उद्गमस्थल वुहान, जहाँ संक्रमणको जोखिम अन्य स्थानको भन्दा उच्च छ । भलै वुहानमा आवतजावतमा कडाइ गरिएको समाचार पढ्न पाइएको छ । तर वुहानका मेयरका अनुसार नयाँ वर्ष मनाउन र महामारी छल्न करिब ५० लाख मानिसहरू वुहान छोडेर बाहिर गएका छन् ।

नयाँ वर्ष तथा वसन्त उत्सव मनाउन जम्मा हुने सामाजिक प्रचलनले कतै संक्रमणको जोखिम अन्य स्थानमा पनि बढ्ने त होइन भन्ने प्रश्न उठ्छ । तर वुहान महामारीको शुरुवातदेखि नै चीनले उठाएको कदमको विश्वभरका जनस्वास्थ्य विज्ञहरूले तारिफ गरेका छन् ।

संक्रमण देखिएको हप्ता दिनमा भाइरसको आनुवंशकिय सूचना सार्वजानिक गर्नु, महामारीलाई नियन्त्रण गर्न प्रभावित क्षेत्रमा आवतजावतमा कडाइ गर्नु, सूचनाको प्रवाहमा सहयोग आदि चीनले गरेका स्वागत योग्य कुराहरू हुन्। संक्रमितको उपचारका लागि एक सातामै सक्ने गरी एक हजार बेडको अस्पताल बनाउँदैछ चीन।

नेपालको सन्दर्भ

नेपालमा चिनियाँ पर्यटकहरूको आवागमन दर उच्च रहेको, नेपाली विद्यार्थीहरू चिनियाँ सहरहरूमा अध्ययनका लागि जाने भएकाले नेपालमा पनि यो महामारीको जोखिम उच्च छ। हालसालै नयाँ कोरोना भाइरसको एकजना बिरामी फेला परेको र उक्त बिरामीको यात्रा विवरण नेपाल सरकारको स्वास्थ्य निकायलाई केही थाहा नभएको कुरा आएको छ। हाम्रो जनस्वास्थ्य निकायले उच्च सतर्कता अपनाउनुपर्छ ।

कतिपय देशले विमानस्थलमा यात्रुहरूको तापक्रम नाप्ने र भाइरस परीक्षण गरेर सतर्कता अपनाएका छन्। नेपालमा पनि यसलाई कडाइका साथ लागू गर्नुपर्छ ।

जबसम्म सरकारको प्राथमिकतामा सर्वसाधारण जनताको स्वास्थ्य पर्दैन, तबसम्म हाम्रा स्वास्थ्य निकायहरूले महामारी नियन्त्रणको ठोस कदम चाल्न सक्दैनन्। विमानस्थलमा यात्रुहरूको परीक्षण गर्ने स्वास्थकर्मी नै बिरामी यात्रुहरूबाट संक्रमित हुने सम्भावनालाई पनि उच्च ध्यान दिनुपर्छ ।

संक्रमित बिरामीलाई परीक्षण गर्ने नियन्त्रित कक्षको आवश्यकता पर्छ, जसको संचालन आर्थिक रुपले केही खर्चिलो हुन्छ । यस्ता अत्यावश्यक पूर्वाधारहरूको विकास सरकारको प्राथमिकतामा पर्नुपर्छ। अहिले नै सतर्कता नअपनाउने हो भने भोलि पछुताउनु पर्नेछ । असारमा सुतेर मंसिरमा दाइँ गर्न पाइँदैन।

(काफ्ले अमेरिकाको मियामी युनिभर्सिटीमा माइक्रोबायोलोजीमा पीएचडी गरिरहेका छन्)

 

 

प्रतिक्रिया दिनुहोस्