काठमाडौं- राम जन्मभूमि-बाबरी मस्जिद जमिन विवादमा भारतको उच्च न्यायालयले फैसला दिएपछि भारतले उत्तर प्रदेशमा धारा १४४ लागू गरेको छ।
भारतीय दण्ड संहिताको धारा १४४ ले विशेष परिस्थितिमा मानिसहरुलाई सार्वजनिक रुपमा भेला हुन्, प्रदर्शन गर्न प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरेको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार संभावित दंगालाई ध्यानमा राखेर उत्तर प्रदेशका सबै जिल्लामा अस्थायी जेल बनाइएको छ। केही स्थानमा इन्टरनेटमा प्रतिबन्ध लगाउन सकिने बताइएको छ।
भारतीय अनलाइन पत्रिका द वायरका अनुसार सोसल मिडियामा नचाहिंदो हल्ला फैलाएको र विवादस्पद स्टाटस लेखेको आरोपमा ७१ जनालाई पक्राउ गरिएको छ। यसअघि हिंसा भड्काउन सक्ने आशंकमा शनिबार नै प्रहरीले सयौं व्यक्ति गिरफ्तार गरिसकेको छ। अयोध्यामा सुरक्षाकर्मीको तैनाथीले पूरै क्षेत्र सैनिक छाउनीमा परिणत भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
त्यहाँ क्यामरा लागेका ड्रोनमार्फत पनि सुरक्षा व्यवस्थाको निगरानी भइरहेको छ। उत्तर प्रदेशका सबै शैक्षिक संस्थाहरु तीन दिनका लागि बन्द गरिएका छन्। सामाजिक सञ्जालहरुमा पनि निगरानी बढाइएको र ६०० भन्दा बढी विवादास्पद अकाउण्टहरु बन्द गर्न फेसबुकलाई आग्रह गरिएको उत्तरप्रदेश प्रहरी प्रमुख ओपी सिंहले जनाएका छन्।
यसैबीच, महाराष्ट्र प्रहरीले सामाजिक सञ्जालमाथि निगरानी गर्दै निर्देशिका नै सार्वजनिक गरेको छ। राम मन्दिरसम्बन्धी सर्वोच्च अदालतको फैसलामा आपत्तिजनक स्ट्याटस् नलेख्न उसले आग्रह गरेको छ।
नेपाल-भारत सिमामा पनि कडाई गरिएको छ। भारतको सर्वोच्च अदालतले राम मन्दिर-बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाईपछि शनिवार फैसला सुनाएको हो। फैसला हुने तय भएदेखि नै भारतीय प्रधानमन्त्री र अन्य अधिकारीहरूले शान्तिका लागि आग्रह गरेका थिए ।
अयोध्यामा रहेको १६औँ शताब्दीको बाबरी मस्जिदबारे हिन्दू र मुस्लिमहरूबीच दशकौँदेखि तिक्ततापूर्ण विभाजन रहँदै आएको छ। राजनीतिक रूपमा संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वमाथि विवाद रहँदै आएको थियो।
विवाद के हो ?
विवादको केन्द्रमा उक्त स्थानमा १६ औँ शताब्दीमा बनेको एउटा मस्जिद छ। त्यसलाई सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको थियो। त्यसपछि भएको दङ्गामा कम्तीमा दुई हजार मानिसको मृत्यु भएको थियो।
बाबरी मस्जिद मुस्लिम आक्रमणकारीद्वारा नष्ट गरिएको हिन्दू मन्दिरको भग्नावशेषमा बनाइएको हो भन्ने धेरै हिन्दूहरूको विश्वास छ।
अयोध्यालाई हिन्दूहरू मर्यादा पुरुषोत्तम रामको जन्मभूमि ठान्छन्। मुस्लिमहरू चाहिँ सन् १९४९ को डिसेम्बरसम्म उक्त मस्जिदमा आफूहरूले प्रार्थना गर्ने गरेको बताउँछन्।
त्यसपछि भने हिन्दूहरूले त्यहाँ एउटा रामको मूर्ति स्थापना गरे र त्यसको पूजा गर्न थाले। त्यसयता बितेका दशकहरूमा दुवै धार्मिक समूहहरू उक्त स्थान कसको नियन्त्रणमा रहनुपर्छ भन्दै कैयौँ पटक अदालत पुगिसकेका छन्। त्यस बेलादेखि नै उक्त मस्जिद रहेको स्थानमा मन्दिर स्थापनाका लागि आह्वान गरिँदै आएको छ।