सोमबार, फागुन १२, २०७६

समाज

आजका नेताबाट बालबालिकाले के सिक्लान्?

आजका नेताबाट बालबालिकाले के सिक्लान्?

करिब २४०० वर्षअघि युनानी दार्शनिक प्लेटोले आफ्नो प्रसिद्ध ग्रन्थ ‘द रिपब्लिक’ मा भनेका थिए– राजा दार्शनिक हुनुपर्छ अथवा दार्शनिक पनि राजा बन्न सक्छन्। प्लेटोको शर्त थियो, राजाको जीवनशैली निकै सादा हुनुपर्छ ।

पूर्वीय परम्परामा भने राजा (शासक/नेतृत्व) ज्ञानी हुनुपर्ने भनिएकोे छ तर, ज्ञानीलाई राजालाई भन्दा पनि उच्च स्थान दिइएको छ । पूर्वीय परम्पराले भन्छ– राजा जतिसुकै शक्तिशाली र धनवान किन नहोस्, ऊ ज्ञानी, सन्त र साधुका अगाडि झुक्नुपर्छ र उनीहरुबाट परामर्श र मार्गदर्शन लिनुपर्छ।

त्यसैले हितोपदेशमा भनिएको छ, ‘विद्वत्वं च नृपत्वं च नैव तुल्यं कदाचन। स्वदेशे पूज्यते राजा विद्वान सर्वत्र पूज्यते...’ अर्थात् विद्वान र राजाबीच कहिल्यै तुलना हुन सक्दैन, किनभने राजाको पूजा उसको देशमा मात्र हुन्छ, विद्वान सर्वत्र पुजिन्छन्।

यदि राजा वा शासकमा आफू सबैभन्दा ज्ञानी छु भन्ने अहंकार पैदा भयो भने त्यो अनर्थकारी सिद्ध हुन्छ।

धेरै विद्वानहरुले २० औं शताब्दीमा नयाँ खालको तानाशाही या सर्वसत्तावादी शासकको उदय हुनुमा प्लेटोको ‘दार्शनिक राजा’ सम्बन्धी सिद्धान्तलाई जिम्मेवार ठहर्‍याएका छन्।

एडोल्फ हिटलर र जोसेफ स्टालिनको उदाहरण यस्तै शासकका रुपमा दिइन्छ, जसले जीवनका हरेक क्षेत्रलाई प्रभावित गर्न आफ्नो सनक थोपर्न थाले। यसको कारण थियो, उनीहरुले स्वयंलाई सुचिन्तित दर्शन र शुद्धतावादी सिद्धान्तको प्रणेता ठाने र ती अनर्थकारी सिद्धान्तलाई प्रयोगमा ल्याउने हठमा हिंसा सुरु गरे।

बालबालिकाका लागि आदर्श वा मार्गदर्शक चाहिँ को त? संसारका सबैजसो समाजमा आमाबुवा र आचार्य (शिक्षक)लाई बालबालिकाको मार्गदर्शक मानिन्छ।

पूर्वीय परम्परामा आचार्यका लागि कठोर शर्त राखिएको छ, ‘अचिनोति अर्थान। अचिरति। आचारं कारयति।’ अर्थात् जो सबै विषयको अध्ययन गराउँछ, स्वयम् आचरणमा रहन्छ र अरुलाई पनि आचरणमा राख्न सक्षम रहन्छ, उसको नाम हो ‘आचार्य’। संस्कृतको आचार्य शब्द ‘चर’ धातुले बनेको छ। यही चर धातुबाट चारित्र्य र Cha-ra-cter जस्ता शब्द पनि बनेको मानिन्छ।

वेदमा शिक्षक वा मार्गदर्शकलाई ‘पथिककृद् विचक्षणः’ भनिएको छ। पथिककृद अर्थात् पाथ–फाइन्डर (बाटो देखाउने) । आजको राजनीति जो आफैंले बाटो विराएको छ, उसकै नेतृत्वकर्ता कसरी ‘पथिककृद’ बन्ला? र, पथिककृदका लागि पनि शर्त राखिएको छ । जो ‘विचक्षण’ हुन्छ, उही ‘पथिककृद’ बन्न सक्छ। विचक्षण अर्थात् चक्षण गर्ने व्यक्ति, चारैतिर हेर्नसक्ने, व्यापक मानवीय दृष्टि भएको।

यति गुण भयो भनेमात्रै कुनै मानिस मार्गदर्शनका लागि उपयुक्त हुन्छ ।

आज हाम्रो राजनीति मानवीय दृष्टिबाट च्यूत भइसकेको देखिन्छ। हरेक कुरालाई खण्ड–खण्डमा हेर्न अभ्यस्त भइसकेको छ। समूह, गुट, दल, राष्ट्रियता, समुदाय, जातिजस्ता कैयौं संकीर्ण विभाजनकारी प्रवृत्ति राजनीतिमा हावी भइसकेको छ।

यिनै विखण्डनकारी राजनीतिका आधारमा सत्ता प्राप्त गर्ने र त्यसलाई कायम राख्ने प्रवृत्ति हाम्रा राजनीतिक दल र तिनका नेतामा हावी छ। यस्तो अवस्थामा उनीहरु कसरी हाम्रा बालबालिकाका मार्गदर्शक बन्न सक्लान् ?

आचार्य या मार्गदर्शकका मुख्य तीन लक्षण हुन्– शीलवान, प्रज्ञावान र करुणावान। अर्थात् उसको चरित्र सन्तजस्तो हुनुपर्छ। ऊ विषयवस्तुको ज्ञातामात्र भएर पुग्दैन, बरु उसमा प्रज्ञा राम्रोसँग जागृत भएको हुनुपर्छ। र, ऊभित्र करुणा पनि हुनुपर्छ । यी तीनवटै गुण भएमा मात्र ऊ मार्गदर्शक बन्न सक्छ।

तर, हाम्रा नेताहरुमा यी तीनवटै गुणको सर्वथा अभाव देखिन्छ। उनीहरुमा न शील छ, न प्रज्ञा । करुणा त लोप नै भइसकेको छ।

आजको राजनीतिमा ‘साधनको पवित्रता’ को सिद्धान्त मान्य छैन। राजनीतिक संगठन र नेतासँग अर्बौंको सम्पत्ति छ, जसको स्रोत गोप्य छ।
अझ कानुन बनाएरै यस्तो सम्पत्ति गोप्य राख्ने प्रयास हुँदैछ। यस्तो गोप्य र अपवित्र धनका आधारमा जो व्यक्ति सत्ताको शीर्ष पदमा आसिन छन्, उनीहरुमा शील, प्रज्ञा र करुणाको अपेक्षा कसरी गर्नु? के यस्ता व्यक्तिहरु हाम्रा बालबालिकाका लागि मार्गदर्शक बन्न सक्लान्?

अमेरिकाका प्रसिद्ध राष्ट्रपति अब्राहम लिंकनले आफ्ना छोरालाई निकै मार्मिक पत्र लेखेका थिए। उनले शिक्षकसँग अनुरोध गरेका थिए, ‘तपाईंले मेरो छोरालाई मिहिनेतले कमाएको एक डलर सडकमा भेटिएको पाँच डलरको नोटभन्दा मूल्यवान हुन्छ भन्ने सिकाउनु होला।... तपाईं उसलाई किताब पढ्न भन्नु हुनेछ नै तर, सँगसँगै उसलाई आकाशमा उडिरहेका चरा, फूल वरपर उडिरहेका पुतली नियाल्न पनि सम्झाइरहनुहोला।’ उनले पत्रको अन्त्यमा ‘यो आदेश पनि हो’ लेखिदिएका थिए।

अर्थात् शिक्षकलाई पत्र एक पिताका रुपमा मात्र नभएर शासकका रुपमा पनि लेखिएको थियो ।

आधुनिक युगमा शिक्षक र मार्गदर्शकको स्थान शासकको पैतालामुनि राखिएको छ, जहाँ उनीहरुको स्वतन्त्र चेत छटपटाइरहेको हुन्छ। उनीहरुलाई अधिनस्थ बनाइएको छ। शिक्षकहरु वेतनभोगी कर्मचारीमात्र बनेका छन्। यस्ता शिक्षकहरुले कसरी आत्मविश्वासपूर्वक भावी पिँढीलाई मागदर्शन गर्न सक्लान्? जो आफैं त्रासमा बाँच्छ, उसले कसरी निर्भय र निष्पक्ष विश्व मानव निर्माण गर्ला?

जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री बनेपछि पनि निरन्तर बालबालिकासँग संवाद गरिरहन्थे। नेहरुको व्यक्तित्व भारतीय जनमानसमा एक विद्वान र मार्गदर्शकका रुपमा पनि रह्यो। बालबालिकामाझ उनी ‘सम्माननीय प्रधानमन्त्री’ का रुपमा होइन, ‘चाचा नेहरु’ का रुपमा प्रिय थिए।

बालबालिकासँग संवाद गर्नु नेहरुको राजनीतिक–प्रशासनिक कर्म थिएन, उनको स्वाभावजन्य कार्य थियो । नेहरुले बालबालिकासँग संवाद गरेका दस्तावेज र भिडियो फुटेजहरुमा उनको ‘बडी ल्यांग्वेज’ निकै सहज देखिन्छ। उनी बालबालिकाकै स्तरमा वा उनीहरुमध्येकै एक बनेर संवाद गर्थे। त्यहाँ ज्ञान बाँड्ने आडम्बर देखिन्नथ्यो, मञ्च–स्रोता सम्बन्ध हुँदैनथ्यो।

आज राजनीतिमा हरेक प्रकारको मर्यादा भंग भइसकेको छ। हाम्रा नेताहरुको बोलीमा अलिकति पनि नियन्त्रण छैन। संसदभित्र र बाहिर कतै पनि उनीहरुको व्यवहार अनुकरणीय छैन।

चुनावका बेला त उनीहरुको द्वेष, इष्र्या, परस्पर चरित्र–हनन्, अनर्गल व्यक्तिगत आरोप–प्रत्यारोप र पाखण्डपूर्ण प्रलाप चरमोत्कर्षमा पुग्छ। कसैगरी सत्ता प्राप्त गर्ने लोभ र सत्ता खोसिने भय उनीहरुको अनुहार र हाउभाउमा स्पष्ट देखिन्छ। देखावटी अति–आत्मविश्वासको दावी गरिरहँदा पनि उनीहरुको हताशा बोली र व्यवहारमा झल्किरहेको हुन्छ।

यस्ता मानिसहरुले हाम्रा बालबालिकालाई परीक्षाको भयबाट मुक्त हुन सिकाउलान्? बोली र व्यवहारको मर्यादा सिकाउलान्?

बरु ठट्टा गरेकोे सुनिन्छ– अचेल बच्चाहरु पनि नेताजस्तो व्यवहार गर्न थालेका छन्। उनीहरुको निर्दोषपना हराएर नेताहरु जस्तो चातुर्य विकास हुँदैछ। उनीहरु आफ्नो कुरा मनाउन नाटक गर्न थालेका छन्। आफ्ना प्रतियोगीलाई हराउन उनीहरु पनि उचित–अनुचित कुनै कसर बाँकी राख्दैनन्। उनीहरु सौदाबाजीमा पोख्त हुँदैछन्। बालबालिका पनि एक प्रकारले घूसखोरी प्रवृत्तिको शिकार भइरहेका छन् (शान्त रहन या अभिभावकका कुरा मान्नका लागि शर्तहरु राख्न थालेका छन्)। उनीहरुमा पनि नेताजस्तै देखावटी र खर्चिलो बानीको विकास भइरहेको छ।

यो गम्भीर कुरा हो, यस्तो किन हुँदैछ? यसको कारण हो, बालबालिका जुनखालको पारिवारिक, सामाजिक र राजनीतिक परिवेशमा हुर्किन्छन्, त्यस्तै प्रवृत्ति उनीहरुमा पनि आउँछ।

आजको समयमा हामीले राजनीतिक सत्तालाई मात्र आफ्नो ईष्ट बनाइरहेका छौं, सामाजिक व्यवस्थाको बागडोर पनि नेताहरुकै भरोसामा छोडेका छौं। त्यसैले यो अपेक्षित नै थियो।

हामी बिर्सन्छौं, आजको राजनीति र शासनतन्त्रका जुन विद्रूपताहरु छन्, ती हाम्रा बालबालिकाकै अगाडि भइरहेको छ। आजका बालबालिकाले हास्य–कथा वा व्यंग्य लेखे भने सबैभन्दा पहिले उनीहरु राजनीतिज्ञका बारेमै लेख्न खोज्छन्।

राजनीतिज्ञकै अदूरदर्शिताका कारण जल, वायु र माटोको शुद्धता मात्र होइन, पूरै धर्ती नै अस्तित्वको संकटसँग जुधिरहेको छ। यस्तो बेला हाम्रा बालबालिकाले नेताहरुबाट सहजता, सरलता, निष्कपटता, अहिंसा, एकता, वैश्विकता, साझेदारी र संरक्षण जस्ता कुरा सिक्न पाउनु पर्थ्यो।

स्विट्जरल्याण्डकी किशोरी ग्रेटा तुन्बर्ग विनाशकारी शक्तिले भरिपूर्ण देशका राष्ट्राध्यक्षलाई दैनिकजसो पृथ्वीरक्षाको पाठ पढाइरहेको देखिनु अनायासै भएको घटना होइन। वास्तविकता के हो भने, हाम्रा राजनेता स्वयम् नै लोकतन्त्र र शुचितापूर्ण जीवनको परीक्षामा नराम्रोसँग फेल भएका छन्। उनीहरुले अब कसरी हाम्रा बालबालिकालाई परीक्षा इत्यादिको ज्ञान दिन सक्लान्?

बालबालिकाले शिष्टाचारवश हाम्रा कुरा चुपचाप सुनिदिनुको मतलब यो हुँदै होइन कि, उनीहरुलाई हाम्राबारेमा केही थाहा छैन। उनीहरुलाई सबै थाहा छ। यो नै उनीहरुको विडम्बना हो र सम्भावना पनि ।

-सत्याग्रहबाट भावानुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्