बुधबार, असोज ७, २०७७

विदेश

बच्चालाई एक छाक खान खुवाउन बेच्‍नुपर्‍यो कपाल

1579863342Prema.jpg

बीबीसी- भारतको तमिलनाडुमा एक महिलाले बच्चालाई खाना खुवाउन कति संघर्ष गर्नुपर्‍यो त्यो सुन्दा जोकोहीलाई पीडा हुन्छ।

त्यहाँको सेलम जिल्लाकी ३१ वर्षीया प्रेमा सेल्भमको यो पीडा खाली पीडामात्रै सिमित छैन, यो एउटा प्रेरणाको कथा पनि हुन सक्छ।

आफ्नो कष्टपूर्ण दैनिकी सुनाउँदै उनी भन्छिन्, ‘सात वर्षको मेरो छोरा स्कुलबाट फर्किएर खाना माग्यो, त्यसपछि ऊ भोकले रुन थाल्यो।’
छोरोले भोक लाग्यो भन्दा खुवाउने कुरा प्रेमासँग केही थिएन, न पैसा न अन्नपात। आफूसँग केही नहुँदा उनले आफूलाई एकदमै असहाय महशुस गरिन्।

गत जनवरी ३, शुक्रबारको दिनको कुरा हो यो।

म हारीसकेकी थिएँ

उनी भन्छिन्, ‘मसँग केही थिएन। यसमा मलाई निकै पीडा भइरहेको थियो। मेरो हृदय छियाछिया भएको थियो। मलाई लागिरहेको थियो कि मैले जब मेरो बच्चालाई केही खुवाउन सक्दिन भने मेरो यस्तो जीवनको के मतलब ?’

प्रेमासँग केही सम्पत्ति र गहनासमेत थिएन। कुनै मूल्यवान बस्तु वा कुनै भाँडाकुँडा, जो पैसामा बिक्रि गर्न सक्ने अवस्था थियो।

प्रेमाले भनिन्, ‘मसँग १० रुपैँया पनि थिएन। घरमा प्लास्टिकका केही बाल्टीनहरु थिए।’

तर त्यसपछि उनलाई लाग्यो आफूसँग केही चिज छ, जसले मेरो बच्चालाई खाना खानका लागि बेच्न सकिन्छ।

उनी भन्छिन्, ‘मलाई एउटा यस्तो पसलका विषयमा याद आयो जहाँ केश (बाल) खरिद गरिन्छ। म त्यहाँ गए र आफ्नो शीरको बाल बेचिदिएँ, जसबाट मलाई १५० भारु प्राप्त भयो।’

मानिसको बालको कारोबार संसारभर हुन्छ। र भारत यसको प्रमुख निर्यातकर्ता हो। त्यसरी बिक्रि हुने बालबाट नक्कली बाल तयार गरिन्छ, विभिन्न रंगरोगन गरेर अन्य मानिसहरुले प्रयोग गर्ने गर्छन्।

केही हिन्दु श्रद्धालु आफ्नो मनोकामना पुरा भएको विश्वासउमा पुरै चुल्ठो मन्दिरमा दान गर्छन्। मन्दिरले त्यो बाल लिलामीमा कारोबारीहरुलाई बेच्छ।

पतिले गरेका थिए आत्महत्या

प्रेमाले बाल बेचेर कमाएको पैसाले भारतको कुनै मध्यम खालको होटेलमा एक प्लेट खाना आउन सक्छ।

तर उनले त्यो पैसाले आफ्नो गाउँमा थुप्रै सामान किन्न सकिन्।

प्रेमाले भन्छिन्, ‘मैले आफ्ना ती बच्चाको लागि तीन प्लेट भात किनेँ, २० रुपैँया प्रतिप्लेटको हिसाबले।’

उनले आफ्ना बच्चाहरुसँगै खाईन्, अलिअलि निकालेर।

तर यो क्षणिक राहत थियो।

प्रेमालाई थाहा थियो, उनीसँग जे आखिरी विकल्प थियो, त्यो पनि अब बाँकी रहेन। अब अघिल्लो छाक कसरी टार्ने त्यसको कुनै अनुमान थिएन।

वर्षाैँदेखि उनी आफ्ना पतिसँग एउटा ईट्टाभट्टामा काम गर्दै आएकी थिईन्। जसबाट परिवारमा खानाकै समस्या भने थिएन।

उनका पतिले आफ्नै ईट्टा भट्टा चलाउन भन्दै ऋण लिए। तर भट्टा चलाउन सकेनन्। उनी ऋणमा डुबे, ऋणका कारण उनले सात महिनाअघि आत्महत्या गरे।

आफ्नो बाल बेचेपछि प्रेमाले पुनः पतिकै बाटो समातिन्, आत्महत्याको प्रयास गरिन्।

आत्महत्याको प्रयास

‘मैले एउटा पसलमा विष मागेँ’

तर उनको हाउभाउलाई देखेर पसलेले विष दिनुको सट्टा उल्टै गाली गरेर पठाए।

घर फर्किएपछि प्रेमाले अरु नै केही उपाय अपनाएर मर्ने तयारी गरिन्। उनले एउटा विषालु घाँस ल्याईन् र त्यो पिँधेर खाने प्रयत्न गरिन्। तर एक छिमेकीले त्यो देखेपछि रोकिदिए।

उनलाई पतिले लिएको ऋणको बोझले थिच्दै लगेको छ।

कठोर परिश्रम

पतिको मृत्युपछि प्रेमा घरमा काम गर्ने एक्ली थिईन्। उनले ईट्टाभट्टामा काम गर्थिन्।

निकै मेहनत पर्ने कामबाट उनले दैनिक २ सय रुपैयाँ कमाउथिन्, यौ पैसाले उनको दैनिकी राम्रै चलेको थियो।

आफूसँगै उनले आफ्ना दुईवटा बच्चालाई पनि लिएर काममा जान्थिन्। स्कुल जाने उमेर नभएका बच्चालाई छोड्ने ठाउँ नहुँदा काममा जाँदा सँगै लिएर जानुपथ्र्यो।

त्यसको केही समयपछि प्रेमा लगातार विरामी हुन थालिन्, जसका कारण उनी काममा जान सकिनन्।

ठिक भएर काममा जाँदा पनि उनले कमजोरीका कारण ईट्टाको भारी बोक्न सकिनन्। जसका कारण उनको आम्दानी धेरै घट्न थाल्यो।

ऋणको दबाब

आम्दानी कम हुँदा उनले ऋणको किस्ता तिर्न सकिनन्।

ऋण दिनेले लगातार दबाब दिन थाले, प्रेमाको निराशा बढ्दै गयो।

उनी पढेलेखेको नभएका कारण उनले सरकारले दिने सेवा सुविधाबारे थाहा पाएकी थिइनन्।

गरिबलाई भारतमा ऋण लिन धेरै झण्झटिलो पनि छँदैछ। जसका कारण उनका पतिले स्थानीय साहुबाटै ऋण लिएका थिए।

एकातिर प्रेमा लगायतार विरामी हुन थालेपछि आम्दानी घट्दै गयो भने अर्कोतर्फ ऋणको बोझले थिच्दै गयो।

यस्तो अवस्थामा उनले आफ्नो बाल बेच्ने र आत्महत्या गर्नेसम्मको निर्णय लिइन्।

अपरिचितबाट सहयोग

यस्तो कष्टप्रद समयमा उनलाई सहयोग गर्न आईपुगे एक अपरिचित व्यक्ति बाला मुरुगन।

बाला मुरुगन भन्छन्, ‘मलाई मेरो एकजना साथी प्रभुबाट प्रेमाका बारेमा थाहा भयो।’

प्रेमाको समस्याको कथा सुनेर बालालाई आफ्नो परिवारको समस्या सम्झना भयो। उनी भन्छन्, ‘जब म दश वर्षको थिएँ, त्यो बेला मेरो

परिवारसँग पनि खानेकुरा केही थिएन। मेरी आमा घरका पुराना किताब, कागज कवाडीलाई बेचेर चामल किन्नुहुन्थ्यो।’

त्यो बेला बालाकी आमाले पनि आत्महत्याको प्रयास गरेकी थिइन्।

बाला भन्छन्, ‘मेरी आमाले म र मेरी बहिनीलाई एउटै लाईनमा उभ्याएर पहिले आफूले केही औषधिको ट्याब्लेट खानुभयो, त्यसपछि मेरी बहिनीले त्यो औषधि खान लाग्दा आमाले रोक्नुभयो।’

त्यसपछि बालाकी आमाले आत्महत्याको सोच त्यागिदिईन्। परिवारका सदस्यहरुले तत्काल आमालाई अस्पताल लगेर बचाए।

त्यस घटनापछि बालाले वर्षौसम्म आफ्नो परिवारका लागि संघर्ष गर्नुपर्यो। त्यसैबाट उनले आफ्नो परिवारलाई गरिबीबाट बाहिर निकाले। अहिले उनले एउटा कम्प्युटर ग्राफिक्स सेन्टर सञ्चालन गरिरहेका छन्।

आशा जगाउने सल्लाह

बालाले प्रेमालाई आफ्नो परिवारको संघर्षबारे बताए र यसले प्रेमालाई पनि प्रेरणा मिल्यो। यसका साथै प्रेमालाई केही सहयोग संकलन पनि गरियो।

यसपछि बालाले प्रेमाले जेजस्तो भोगेकी थिईन् यसबारे फेसबुकमा लेखे।

बाला भन्छन्, ‘त्यसबाट प्रेमाका लागि १ लाख २० हजार भारु मद्दत प्राप्त भयो। यो मैले प्रेमालाई सुनाएँ उनी निकै खुसी भईन् र यसले ऋण तिर्न सक्ने बताईन्।’

प्रेमाको अनुरोधमा बालाले त्यसपछि सहयोग संकलन बन्द गरिदिए। बाला भन्छन्, ‘प्रेमाले भनिन् अब बाँकी रहेको ऋण मैले काम गरेरै तिर्न सक्छु।’

प्रेमाको बाँकी ऋणका लागि सात सय रुपैँया मासिक तिर्नुपर्नेछ।

तर उनको यो दर्दनाक अवस्थाबारे जिल्ला प्रशासनले पनि थाहा पाएको छ र सहयोगका लागि दुग्ध डेरी खोलिदिन सक्ने बताएको छ।

भारतमा प्रेमा जस्ता कयौँ पीडित महिलाहरु छन्। भारतको आर्थिक विकासका बाबजुद लाखौँ मानिस खाना जुटाउनका लागि कठिन संघर्ष गर्नुपर्छ।

विश्व बैंकको तथ्यांकअनुसार नाइजेरियापछि सबैभन्दा गरिब (जसको आम्दानी १.९० डलर भन्दा कम) जनसंख्या भारतमा छन्।

प्रेमाले आफूसँगै आफ्ना तीन बच्चाको खानपानको व्यवस्था गर्नुछ। जुन दिन उनी काममा जान्छिन् त्यो दिन उनको कमाईले ४ जनाले खाना खान पाउँछन्।

नयाँ जीवन

बाला मुरुगनले प्रेमालाई निरन्तर सहयोग गर्ने भरोसा दिएका छन्।

यो भरोसा पाएपछि प्रेमाले भन्छिन्, ‘मैले जुन आत्महत्याको निर्णय लिएकी थिएँ त्यो गलत रहेछ, म ऋण तिर्न सक्छु।’

अपरिचित व्यक्तिबाट प्राप्त भएको सहयोगबाट प्रेमा निकै खुसी छन्। उनी भन्छिन्, ‘यो सहयोगले मेरो जीवनमा उत्साह थपिएको छ।’

बीबीसी हिन्दीबाट साभार

प्रतिक्रिया दिनुहोस्