काठमाडौं– नेपालकै सर्वाधिक महँगो एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ। उसले आज सोमबार काठमाडौंमा कार्यक्रम गर्दै अफ्रिदीलाई आउँदो सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको हो।
क्लबले शाहिदलाई ईपीएलकै सबैभन्दा महँगो खेलाडी ट्रान्सफर भनेको छ। पाकिस्तानी खेलाडी अफ्रिदी एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो सतक हान्ने खेलाडीसमेत हुन्।
२०७६ चैतमै आयोजना हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण स्थगित भएको थियो। केही महिनाअघि आयोजक एभरेष्ट प्रिमियर लिग प्रालिले आउँदो सिजनमा प्रतियोगिता गर्ने बताएको थियो। आउँदो सेप्टेम्बर २५ बाट कीर्तिपुरको टियू क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ।
यसैबीच, क्रिकेटर सन्दीप लामिछानेले अफ्रिदीलाई नेपालमा खेल्नका लागि शुभकामना दिएका छन्।