काठमाडौं - निर्वाचन आयोगले सरकारले मन्त्रिमण्डलको पुनर्गठन र नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सक्ने वा नसक्ने भन्ने विषय निर्वाचन आचारसंहिताको कुनै पनि बुँदामा उल्लेख नभएको स्पष्ट पारेको छ।
उपनिर्वाचनको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले आचारसंहिताको कुनै पनि बुँदामा सरकारले प्रदेश प्रमुख र मन्त्रिपरिषद् पुनर्गठन गर्न नसक्ने भन्ने कुरा उल्लेख नभएको बताए। सरकार, सम्पूर्ण राजनीतिक दलका प्रमुख र प्रतिनिधि बसेर बनाएको निर्वाचन आचारसंहिता आयोगले स्वीकृत गरेर लागू गरेको पनि उनले स्पष्ट पारे।
निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारले पुराना प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ नि भन्ने सञ्चारकर्मीका जिज्ञासाका जवाफमा उनले भने, “यस विषयमा सरकारले आयोगको सहमति लिएको छैन, आयोग गम्भीर छ, हामीले गम्भीरतापूर्वक छलफल गरेका छौँ।”