सोमबार, फागुन १२, २०७६

समाज
तन्ना बेच्ने दिदी–बैनी
प्रसना बस्नेत (बायाँ) र प्रियंका बस्नेत

काठमाडौं- अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लोभलाग्दो जागिर, राम्रो तलब–सुविधा, सामाजिक प्रतिष्ठा।

अरुले प्रशंसा गरे पनि प्रसना बस्नेत आफैंलाई भने आफ्नो यो जागिरले सन्तुष्टि मिलिरहेको थिएन।

अरुका लागि काम गर्ने कि अरुलाई काम दिने भन्ने सोच आउँथ्यो। तर, त्यसका लागि के गर्ने, उनी निश्चित थिइनन्। व्यवसाय गर्ने सोच भए पनि परिवारमा कोही पनि व्यापार–व्यवसाय नगरेका, आफ्नो अध्ययन पनि पब्लिक पोलिसीमा।

“आफ्नो द्विविधा बैनी प्रियंकालाई सुनाएँ,” प्रसना भन्छिन्, “बैनी एयरलाइन्स कम्पनीमा काम गर्थिन्। उनको पनि मेरो जस्तै सोच रहेछ।”
एकदिन दिदी–बैनी बजार गएका बेला तन्ना किन्दै थिए। तन्ना हेर्दाहेर्दै उनीहरुमा यसकै व्यापार गर्ने सोच पलायो।

प्रसनाले कामबाट समय निकालेर नेपाली बजारमा पाइने तन्नाबारे थप बुझ्न थालिन्। यहाँका बजारमा पाइने अधिकांश तन्ना चीनबाट आउने थाहा पाएपछि दिदी-बैनी चीनको क्वाङचौ पुगे।

सुरुमा अरु व्यापारी जस्तै चीनबाट थोकमा खरिद गर्ने र, त्यसमा मुनाफा जोडेर नेपाली बजारमा बेच्ने योजना थियो। “तर, कारखानामै पुगेर उत्पादनको प्रक्रिया हेरेपछि चाहिँ यस्तो तन्ना नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो,” प्रसना भन्छिन्।

“आफूले उद्यम गर्ने मात्र होइन, अरुलाई काम दिन पनि सकिने, देशको अर्थतन्त्रमा थोरै भए पनि योगदान दिन सकिने,” प्रसना भन्छिन, “फर्केपछि दिदी-बैनी मिलेर तन्ना बनाउने उद्योग स्थापना गर्ने योजना बनायौं।”

तर, उनीहरुलाई पूँजीको अभाव भयो। त्यसपछि आफ्ना धेरै रहरहरु थाँती राखेर दिदी–बैनीले जागिरबाट आउने तलब बचत गर्न थाले। यसबीच उनीहरुले तन्नाका डिजाइन र बुट्टाबारे पनि अध्ययन गरिरहेका थिए। तीन वर्षमा राम्रै रकम जम्मा भइसकेपछि उनीहरुले जागिरबाट राजीनामा गरे।

स्थापना भयो ‘कटन मिल नेपाल’

नागपोखरीमा एउटा कोठा भाडामा लिएर सुरु गरिएको कटन मिलमा एक जना कर्मचारी राखियो। उनीहरुले बजारबाट सुतीका कपडा किनेर त्यसमा बुट्टा छाप्ने (स्क्रिन प्रिन्ट गर्ने) र विभिन्न डिजाइन दिएर तन्ना बनाउन थाले।

“आफ्नै बचत लगानी गरिएको उद्योगमा हामीले दिनरात मेहनत गर्‍यौं। तन्नामा बुट्टा भर्ने तरिका इन्टरनेटमा खोज्यौं, युट्यूवमा हेर्दै डिजाइन बनाउँथ्यौं,” प्रसना सुनाउँछिन्, “कतिपटक त बुट्टा हानेको नमिलेर बजारमा पठाइसकेका सम्पूर्ण तन्ना फिर्ता लिनु परेको थियो।”

विस्तारै मिहिनेतले रंग देखाउन थाल्यो। बजारमा कटन मिलका तन्नाको माग बढ्दै गयो। प्रसना र प्रियंका युवा उद्यमी भनेर चिनिन थाले ।

आठ वर्षअघि सानो लगानीमा एक जना कर्मचारी राखेर खोलिएको कटन मिल नेपालमा अहिले ३७ जनाले रोजगारी पाएका छन्। मिलले तन्नाबाहेक सिरानीका खोल, खास्टो, पर्दा, कुसन कभर आदि बनाउन थालेकोे छ। मिलका शोरुमहरु दरबारमार्ग, नागपोखरी र सानेपामा खुलेका छन्। कारखाना बौद्धमा सारिएको छ।

कटन मिल नेपालमा डिजाइन गरिएका तन्ना र अन्य सामग्री बिक्री गर्न बजारको कमी छैन। बुटिक होटेल, रेष्टुरेन्ट, नेपालमा बस्ने विदेशीदेखि स्थानीय वासिन्दासम्मले मिलका उत्पादन किनिरहेका छन्। “अर्डरअनुसार पनि उत्पादन गर्छौं, त्यसबाहेक शोरुमबाट हुने खुद्रा बिक्री पनि राम्रो छ,” प्रसना भन्छिन्।

स्टार्टअपलाई खै प्रोत्साहन?

सरकारले महिला उद्यमीहरुलाई रु. १५ लाखसम्म विनाधितो ऋण उपलब्ध गराउने घोषणा गरेको भए पनि आफूलाई चाहिएका बेला ऋण नपाएको बताउँछिन् प्रसना ।

भन्छिन्, “चाहिएको बेला प्रोजेक्ट फाइनान्समा कर्जा दिए हुन्थ्यो, त्यही पनि पाइँदैन । अरु त के आशा गर्नु?”

सरकारले महिला उद्यमीहरुलाई १५ लाख रुपैयाँसम्म विना धितो ऋण उपलव्ध गराउने र व्याजमा ५ प्रतिशत अनुदान दिने घोषणा बजेटमै गरेको थियो। त्यसअनुसार राष्ट्र बैंकले कार्यविधि बनाएर बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसके पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन।

“केहीअघि ऋणका लागि धेरै बैंकहरु धाएँ तर कसैले पनि प्रोजेक्ट फाइनान्सिङमा ऋण दिएनन्, सबैले धितो नै खोजे,” प्रसना भन्छिन्, “अहिले मलाई ऋण चाहिएको छैन तर, स्टार्टअपमा थुप्रै युवाहरुले चासो देखाइरहेका छन्। उनीहरुको सोच पूँजीको अभावमा कार्यान्वयन हुन सकेको छैन।”

सरकारले स्टार्टअप व्यवसायीलाई कच्चा पदार्थमा केही सहुलियत दिनुपर्ने, बैंकहरुले प्रोजेक्ट फाइनान्सिङ गर्नुपर्ने र भ्याटमा केही छुट दिनुपर्ने उनी बताउँछिन्। त्यसो हुनसके नयाँ विचार र सोच सहितका थुप्रै युवाहरु अगाडि आउने उनको विश्वास छ।

उनी युवा उद्यमीहरुलाई नेपाल युवा उद्यम परिषदमा आवद्ध हुन भन्दै थप्छिन्, “परिषदमा एकआपसमा आइडिया सेयर गर्न सकिन्छ, समस्या समाधानका लागि परिषद्ले गाइड गर्छ।”

परिषदले यही माघ १२ र १३ गते महिला उद्यमी सम्मेलन आयोजना गर्दैछ।

यो पनि: 

अग्नि सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट, पेसी आइतबार

 

 

प्रतिक्रिया दिनुहोस्