जनकपुरधाम– प्रदेश २ स्थित मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न शिक्षक पक्राउ परेका छन्।
सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै जनकपुरस्थित मुख्यमन्त्री कार्यालयमा ताल्चा लगाउन गएका ४३ जना अस्थायी शिक्षक पक्राउ परेका हुन्।
मंगलबार बिहान मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीलाई भित्र छिर्न नदिन धर्ना तथा तालाबन्दी गर्न खोजेका आन्दोलनरत अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको हो।
मुख्यमन्त्री कार्यालयको गेटमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहित ४३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जनाएका छन्। पक्राउ परेका शिक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
जागिरबाट हटाइएका अस्थायी शिक्षकले पूर्ववत् काममा राख्नुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छन्। यसअघि उनीहरुले सोमबार मुख्यमन्त्री कार्यालयअगाडि आधा घण्टा चक्का जाम गरेर प्रदर्शन गरेका थिए।
अस्थायी शिक्षकहरुले २० असारदेखि २० साउनसम्म मुख्यमन्त्री कार्यालय अगाडि धर्नासमेत दिएका थिए। माग सम्बोधन गर्नबारे प्रदेश सरकारले आश्वासन दिए पनि कुनै पहल नभएपछि बाध्य भएर पुनः आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका छन्।