काठमाडौं- प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ।
शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-१ गोलको जित निकालेको हो।
लिभरपुलको जितमा एन्डी रोबर्टसन र साडियो मानेले एक-एक गोल गरे। घरेलु टोली एस्टन भिल्लाले ट्रेजेक्वेटको गोलबात सुरुवाती अग्रता लिएको थियो। उनले खेलको २१ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाए।
तर, दोस्रो हाफमा लिभरपुलले दुई गोल गर्दै पुनरागमन जित निकाल्याे। खेलको ८७ औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए। त्यसपछि इन्जुरी समयमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए।
जितसँगै लिभरपुलले ११ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ। समान खेल खेलेको म्यान्चेस्टर सिटी २५ अंकसहित दोस्रो स्थानमा छ। पराजित एस्टन भिल्ला ११ अंक जोडेर १६ औं स्थानमा छ।
एजेन्सी