रौतहट- बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार (आज) मुद्दा दायर हुने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै आज मुद्दा दायर गर्न लागेको हो ।
अपराधका सम्पूर्ण प्रमाणसहित मुद्दा दायर हुने सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीले तत्कालीन प्रहरी अधिकारीहरूसँग समेत कागज गराएर अनुसन्धानलाई बलियो बनाएको छ ।
घटनाका विषयमा बयान दिएका बहालबाला प्रहरी अधिकारीले नै विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा हालेर घटना सामसुम पार्न खोजिएको खुलासा गरेका छन् ।
नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर तथा रौतहटमा कार्यरत तत्कालीन सइ ईश्वरविक्रम शाहले सशस्त्रका एसपी रामकृष्ण लामा, नेपाल प्रहरीका एसपी लक्ष्मण न्यौपाने र आलमबीच घटना सामसुम पार्न सल्लाह भएको खुलासा गरेका हुन् ।
तत्कालिन नेपाल प्रहरीका एसपी न्यौपाने टिकापुर घटनामा मारिए भने तत्कालीन सशस्त्रका एसपी लामाले अवकाश पाएका छन् । उनी अहिले हङकङमा पक्षघातको उपचार गराई राखेका छन् ।
पीडित र प्रत्यक्षदर्शी र तत्कालिन प्रहरी अधिकारीहरुको बयानका आधारमा आलमले मच्चाएको वितण्डा सामसुम पार्नपुरै राज्य नै लागि परेको अनुसन्धानले देखाएको छ ।
आलम असोज २६ गते पक्राउ परेका थिए । उनलाई तीन पटक म्याद थपेर प्रहरीले अनुसन्धान गरेको छ ।
पहिलो संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते आलमकै योजनामा बम बनाउने काम भएको र, बम निर्माणको क्रममा विस्फोट भएपछि घाइतेहरुलाई इटा भट्टामा हालेर हत्या गरिएको प्रत्यक्षदर्शीको दाबी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४