म्याग्दी- सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको दुर्घटना सेलाउन नपाउँदै म्याग्दीमा फेरि अर्काे दुर्घटना भएको छ।
जिल्लाको मालिका गाउँपालिका-७ बिममा आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै ज्यान गएको छ।
दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना हुँदा मालिका गाउँपालिका-७ विमकी ७० वर्षीया सतदेवी भट्टचन, बिमकै ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवी जुग्जाली र गुल्मी, कालीगण्डकी गाउँपालिका-२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।
“आइतबार साँझ दुर्घटना भएको र रात परेकाले उद्धारमा केही समस्या भयो,” प्रहरी निरीक्षक शर्माले भने । उनका अनुसार सख्त घाइते भएका १२ जनालाई बेनी अस्पतालमा रिफर गरिएको छ।
घाइतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय बिममा अध्ययन गर्ने विद्यार्थी छन्। उनीहरू दसैं-तिहारको बिदा सकिएपछि विद्यालय फर्किँदै थिए।
दुर्घटनामा परी घाइते भएका बसका चालक मंगला गाउँपालिका-१, पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रिफर गरिएको र अन्यको दरवाङस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस सडकदेखि करिब २०० मिटर तल खसेको जनाइएको छ। दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन।
यसअघि हिजै (आइतबार) अरनिको राजमार्गको सुकुटेबाट सुनकोशी नदीमा बस खस्दा १७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ५० यात्रु घाइते भएका छन्।
दोलखा जिल्लाको मागादेउरालीबाट राजधानी काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रु बस चौतारा–साँगाचोकगढी नगरपालिका–९ सुकुटेबाट झण्डै २० मिटर तल सुनकोशीमा खसेर दुर्घटना हुँदा तीन महिने शिशु र सात बालबालिकासहित १७ जनाको मृत्यु भएको हो।
म्याग्दी दुर्घटनाका घाइतेको नामावली
१) मालिका गाउँपालिका–७, बिमका ६० वर्षीय राजमान दर्जी
२) मालिका-७, बिमका हुमबहादुर जुग्जाली
३) मालिका-७, बिमका ३८ वर्षीय पलप्रसाद जुग्जाली
४) मालिका-७, बिमकी २६ वर्षीय नरदेवी परियार
५) बेनी नगरपालिका-९, घतानका १६ वर्षीय विसन खत्री
६) बेनी नगरपालिका-४, राक्षका १७ वर्षीय को गौरव पौडेल
७) बाग्लुङ, ताराखोला गाउँपालिका-५, का १७ वर्षीय विजय कँडेल
८) बेनी नगरपालिका-४, राक्ष बस्ने १९ वर्षीय प्रमिस पौडेल
९) मालिका गाउँपालिका-७, का २६ वर्षीया दिलु शेरपुञ्जा
१०) बिमकी ६ वर्षीया कृष्टिना जुग्जाली
११) बिमकी ६१ वर्षीया तनदेवी जुग्जाली
१२) बिम बस्ने ६० वर्षीया चन्द्रकली दर्जी
१३) बिमकी ३८ वर्षीया पलदेवी जुग्जाली
१४) बिम बस्ने सुरेश जुग्जाली
१५) बिम बस्ने ३१ वर्षीया लिला जुग्जाली
१६) धौलागिरि गाउँपालिका-३, दर बस्ने १८ वर्षीया रिल माया बूढा
१७) बेनी नगरापलिका-३, भकिम्ली बस्ने ३५ वर्षीय केशव शर्मा न्युरे
१८) मंगला गाउँपालिका-५ छिसवाङ बस्ने २२ वर्षीया रमिला खत्री
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४