मंगलबार, चैत २५, २०७६

समाचार

प्रदेश १ की एक्ली महिला मन्त्री भन्छिन्– मन्त्रीकाे सपनै थिएन

1579532963Jasmaya_Gajmer_Bishwakarma.jpg

इटहरी- २०७४ फागुन ३ गते बिहीबार प्रदेश १ मा पहिलोपटक प्रदेश मन्त्रिपरिषद्‌ गठन हुँदै थियो। नवनियुक्त मुख्यमन्त्री शेरधन राईले मन्त्री छान्ने क्रम सुरु गरेपछि को–को मन्त्री बन्ने भन्नेबारे विभिन्न बजार हल्ला चले।

बजारमा मन्त्री बन्ने हल्ला भएको नामहरुमा एक नाम थियो झापाकी प्रदेश सांसद जसमाया गजमेर विश्वकर्माको। तर, हल्ला हल्लामै सीमित भयो। मुख्यमन्त्रीसहित बनेको पाँच सदस्यीय मन्त्रीपरिषदमा विश्वकर्माको नाम परेन। विश्वकर्माको मात्रै हैन मुख्यमन्त्रीले कुनै पनि महिलालाई आफ्नो मन्त्रिमण्डलमा स्थान दिएनन्।

प्रदेश मन्त्रिपरिषद्‌ गठन भएको दुई वर्ष पुग्नलाग्दा फेरि नयाँ मन्त्री बन्ने चर्चा सुरु भयो। विश्वकर्मा मन्त्री बन्ने हल्ला फेरि पनि बजारमा आयो। दुई वर्ष अगाडिकै हल्लालाई हल्ला मात्रै भएको अनुभव गरेकी विश्वकर्माले पत्याइनन्।

आइतबार बिहान एघार बजे विश्वकर्माको मोबाइलमा म्यासेजको घन्टी बज्यो। म्यासेज मुख्यमन्त्री शेरधन राईको थियो। म्यासेजमा लेखिएको थियो, ‘आज तीन बजे सपथग्रहण छ, तयार रहनुहोला।’

सपथ ग्रहणको लागि मुख्यमन्त्रीकै म्यासेज आएपछि विश्वकर्मालाई मन्त्री भएको पक्का भयो। तर, कुन मन्त्री त्यो भने जानकारी भएन। उनले म्योसज र कल गरेर बुझिनन् पनि। सपथग्रहण समारोहमा पुग्दा मात्रै आफू सामाजिक विकास राज्यमन्त्री भएको जानकारी भयो विश्वकर्मालाई। र प्रदेश १ को ९ सदस्यीय मन्त्रिमण्डलमा एक्लो महिला राज्यमन्त्री भएको पनि त्यहीँ जानकारी भयो उनलाई।

स्ववियु सदस्यदेखि राज्यमन्त्रीसम्म

नवनियुक्त सामाजिक विकास राज्यमन्त्री जसमाया विश्वकर्माले २०४६ सालपछि सक्रिय राजनीति सुरु गरेकी हुन्। इलामको लुङ्देमा रहेको महेन्द्रदय माध्यामिक विद्यालयबाट आफूमा राजनीति चेत आएको उनी बताउँछिन्।

‘हामीलाई गाँउमा जातीय विभेद हुन्थ्यो र मलाई एमालेमा लाग्दा विभेदविरुद्ध लड्न सकिन्छ भनेर साथीहरुले सुनाए’, आफ्नो राजनीति सक्रियताको पृष्ठभूमि सुनाउँदै विश्वकर्मा भन्छिन्, ‘त्यसपछि मैले एमालेतर्फ झुकाव राख्न थालेकी हुँ।’

महेन्द्रदय माविबाट राजनीति झुकाव सुरु गरेकी विश्वकर्माले इलामको महेन्द्ररन्त बहुमुखी क्याम्पसबाट सक्रिय विद्यार्थी राजनीतिमा लागिन्। २०५३ सालको स्ववियु निर्वाचनमा उनले अनेरास्वयिुबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सदस्य टिकट पाइन्, चुनाव पनि जितिन्।

२०५७ सालमा उनले एमालेकै सक्रिय नेता मोहन विश्वकर्मासँग विवाह गरेर झापा आइन्। २०३७ सालको भूमिगत कालदेखि नै राजनीतिमा सक्रिय विश्वकर्मासँग विवाह गरेर झापा आएपछि उनको राजनीतिक माहोल अझ बन्यो।

झापामा उनी  एमालेको क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा प्रदेश सदस्य बनिन्। तत्कालीन एमाले र माओवादी एकताको समयमा एमालेको प्रदेश कमिटी सदस्य उनी पार्टी एकीकरणपछि नेकपाको पनि प्रदेश कमिटीमै छिन्।

विभिन्न पार्टी कमिटीमा बसे पनि स्ववियुपछि उनी कुनै पनि राजनीतिक प्रतिस्पर्धाको उमेद्वार बनेकी थिइनन्। २०६४ मा भने उनले तत्कालीन संविधानसभाको चुनावको लागि समानुपातिक सांसदको टिकट झापा २ बाट पाइन। एमालेलेको चुनावी गणित राम्रो भएन। उनले संविधानसभा सदस्य हुन पाइनन्।

२०७२ मा प्रदेश सांसदको टिकट पाँउदा उनलाई सांसद हुने कुरामा पनि ढुक्क थिएन। सांसद भइन्, सांसद भएपछि पनि मन्त्री बन्ने कुरामा ढुक्क थिएन।

‘खासमा म विभेदविरुद्ध लढेको थिए’, आफ्नो राजनीतिक पृष्ठभुमि बारे नेपालसमयसँगको कुराकानीमा नेपाल समयसँग बोल्दै विश्वकर्मा भन्छिन्, ‘मन्त्री बन्ने सपना थिएन।’

महिलाको आर्थिक आत्मनिर्भरता मुख्य योजना

आइतबार प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री भएकी विश्वकर्मा महिलाको पक्षमा काम गर्ने बताउँछिन्। नेपालका महिलाहरुमा आर्थिक आत्मनिर्भरता नहुँदा महिला हिंसा र घरेलु हिंसा बढेको उनको बुझाई छ। ४२ वर्षे राज्यमन्त्री विश्वकर्मा भन्छिन्, ‘महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर नहुँदासम्म हिंसा कम हुँदैन।’

महिला हिंसाविरुद्ध मात्रै हैन विभिन्न सामाजिक कुरिती र विभेदविरुद्ध पनि आफ्नो कार्यक्रमहरु हुने उनको भनाइ छ। ‘प्रदेश १ को सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीमा अटाउने गरि महिला हिंसा र सामाजिक विभेदविरुद्ध म मुख्यगरी काम गर्नेछु’, उनी आफ्ना योजनाहरु बताउँदै भन्छिन्, ‘बाँकी दैनिक कामहरु त भइहाले।’

प्रतिक्रिया दिनुहोस्