दैलेख- दैलेखको नौमूले गाउँपालिकामा ओझेलमा परेका कला संस्कृतिलगायत धार्मिक स्थलहरुको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले नौमूलेमा ‘नौमूले कला संस्कृति तथा संरक्षण कार्यक्रम’ हुने भएको छ।
परमम्पराकालदेखि सञ्चालन हुँदै आएको नौमूले जात्रा तथा नौमूले शिव मन्दिरको उद्घाटनको अवसरमा तीन दिने कला संस्कृति तथा संरक्षण कार्यक्रम हुने भएको हो।
नौमूले गाउँपालिकाको आयोजनमा यही कार्तिक १९ गतेदेखि २१ गतेसम्म तीन दिने कला संस्कृति तथा संरक्षण कार्यक्रम हुने गाउँपालिकाले जनाएको छ।
नौमूले गाउँपालिकाका १ देखि आठवटै वडाका देउडा, पञ्चेवाजा, मारुनी नाच, झाप्रे र लोकदोहोरी जस्ता प्रतिभाहरुको प्रतिस्प्रधात्मक प्रस्तुति हुने गाउँपालिकाले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार द्वितीय हुने टिमलाई २० हजार र तृतीय हुने टिमलाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत कोइरालाले गाउँपालिकामा रहेका कला संस्कृतिको प्रचारपसारसंगै संरक्षण गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन सकिने विश्वास व्यक्त गरे।
गाउँपालिकाभित्र लुकेर रहेका कला संस्कृतिको जर्गेना गर्ने उद्दश्येका साथ कला संस्कृति तथा संरक्षण कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष भदे वुढाले बताए।
लोप हुन लागेका कला संस्कृतिलाई सरक्षण र जर्गेना गर्दै यसको प्रचारप्रसार गर्न आवश्यक भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष अमृता सिंहको भनाइ छ।
सोही अवसरमा नौमूले गाउँपालिकाको आर्थिक सहयोग तथा नौमूले गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर पालिकास्तरीय प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता हुने जनाइएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ७५ हजार १, द्वीतीय हुने टिमलाई रु. ५० हजार १ र तृतीय हुने टिमलाई रु. ३७ हजार ५ सय १ रुपैया पुरस्कारको व्यवस्था गरिएको नौमूले गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष लालबहादुर चन्दले वताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४