मंगलबार, चैत २५, २०७६

समाचार अर्थ

खुम्बुमा भारी बोक्नेहरू भन्छन्– हाम्रो विदेश यहीँ छ

1579436339bhariya.jpg

इटहरी– खोटाङका दिलकुमार तामाङले चार वर्षअगाडि वैदेशिक रोजगारीमा जाने प्रक्रिया सुरु गरे।

काठमाडौंको एक मेनपावरले भने अनुसार उनी एक लाख बोकेर काठमाडौं पुगे। पासपोर्ट बनाए। मेडिकल जाँच गरे। जाँचले उनको किड्नीमा समस्या देखायो। कामै गर्न नहुने समस्या नभए पनि उनी विदेश जान पाएनन्।

विदेश जान नपाएपछि उनले ब्याजसहित साहुको पैसा फिर्ता गरे। पासपोर्ट थन्क्याए। र, विदेशको जस्तै पैसा कमाउने बारेमा सोचे। उनलाई एक साथीले आइडिया दिए– खुम्बुमा विदेशी पर्यटकको भारी बोक्ने। साथीको सल्लाह अनुसार दिलकुमार खोटाङको ऐसेलुखर्क गाँउपालिका–८, जलेश्वरीबाट पैदल सोलुखुम्बुको लुक्लासम्म दुई दिन हिँडेर आए। लुक्लामा आएपछि उनले पर्यटकको भारी बोक्न सुरु गरे।

त्यो बेला दैनिक एक हजारमा काम सुरु गरेका दिलकुमार अहिले दैनिक दुई हजार रूपैयाँ कमाउँछन्। सबै खाजा कटाएर उनी सगरमाथा क्षेत्रको एउटा ट्रेकिङ सिजनमा ५० हजार रूपैयाँ बचत गर्छन्। चैतदेखि जेठमा एउटा सिजन र असोजदेखि मंसिरसम्मको अर्को सिजन गरेर वर्षमा एक लाख रूपैयाँ जोगाउने दिलकुमारले बताए। उनले भने, “वर्षमा ६ महिना काम गरेर लाख रूपैयाँ बचत हुन्छ। मलाई यही विदेश भएको छ।”

२४ वर्षीय दिलकुमार ट्रेकिङ सिजन बाहेकको समयमा भने गाउँघरमा खेतीपातीमा व्यस्त हुन्छन्।

पर्यटकको भारी बोकेको र खेती गरेको आम्दानीले एक्ली छोरीलाई ‘राम्रो’ स्कुलमा भर्ना गरेको दिलकुमारले सुनाए।

सोलुखुम्बुको फाक्दिङ क्षेत्रमा गत असोजमा दिलकुमारसँगै भारी बोक्दै गरेकाे भेटिएका ५० वर्षीय राजकाजी कुलुङले खुम्बुमा ३६ वर्ष भारी बोकेको बताए। सोलुखुम्बुको महाकुलुङ गाँउपालिका–१ मा बस्ने उनी आफूले १४ वर्षको उमेरदेखि भारी बोक्दै गरेको बताउँछन्।

आफूले एक वर्षमा एकदेखि डेढ लाख रूपैयाँ बचत गर्ने गरेको उनी बताउँछन्। पर्यटकले कहिलेकाँही खुसी भएर ‘टिप्स’ दिए भने दुई लाख रूपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ। तर, सधै ‘टिप्स’ नआउने उनी बताउँछन्।

पाँच छोराछोरीका पिता रामकाजीले भारी बोकेरै परिवार पालेको सुनाउँछन्। उनले भने, “यसैबाट खान, लाउन र चाडपर्व मनाउन पुगेको छ।”

घरदेखि तीन दिन पैदल लुक्लासम्म हिँडेर भारी बोक्ने राजकाजी सिजन सकिएपछि आफ्नो खेतीपातीमा व्यस्त हुन्छन्। खुम्बुको भारी र गाँउघरको खेतीपातीले परिवारको खर्च टरेकाले विदेश जानेबारे कहिल्यै नसोचेको उनी बताउँछन्। उनले भने, “हाम्रो विदेश यहीँ छ।”

खुम्बुमा व्यवसायिकरूपमा पर्यटकको काम गर्ने दिलकुमार र रामकाजीभन्दा भिन्न पाटो छ, युवा श्रमिक केदार राई र सुमन राईको।

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–५ का यी युवाहरू भने ट्रेकिङ जाने पैसा कमाउन लुुक्लाबाट नाम्चे बजारसम्म भारी बोक्छन् । खुम्बु क्षेत्रको चोला पास घुमेर आइसकेको बताएका केदार राईले भने, “अब सगरथामा बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प जाने पैसा कमाउन भारी बोकेको हुँ।”

२४ वर्षका केदार र २१ वर्षका सुमनले लुक्लाबाट नाम्चेसम् भारी बोकेर महिनामा कम्तिमा ३० हजार रूपैयाँ आम्दानी हुने बताए।

गत असोजमा खुम्बु क्षेत्रको टोकटोकमा ४५ केजी भारीसहित भेटिएका उनले भने, “यति भारी नाम्चे पुर्याएपछि चार हजार रूपैयाँ आम्दानी हुन्छ।”

लुक्लाबाट नाम्चेसम्म भारीसहित पुग्न दुई दिन लाग्ने र कमाइको आधार कम खान बस्नमै सकिने उनको गुनासो छ।

खुम्बुमा भारी बोक्नेहरूकाे गुनासो– होटल सञ्चालकबाट हेपिन्छाैं

खुम्बु क्षेत्रमा भारी बोक्दै आएकाहरू होटल सञ्चालकबाट पीडित भएको गुनासो गर्छन्। “खैरेहरू सुत्ने होटलमा हामी छिर्न पनि पाउँदैनौ,” रामकाजी भन्छन्, “भारी बोक्नेलाई त होटल सञ्चालकले मान्छे गन्दैन ।”

लुक्ला, नाम्चेदेखि सगरमाथा बेस क्याम्पसम्मका बास बस्ने ठाउँमा पनि भारी बोक्नेहरू हेपिने गरेको रामकाजी बताउँछन्। भन्छन्, “ट्रेकिङ क्षेत्रमध्ये खुम्बुमा सबैभन्दा बढी भारी बोक्नेहरू हेपिन्छन्।”

प्रतिक्रिया दिनुहोस्