इटहरी : नेपाल भ्रमण वर्ष सुरु हुन २ महिना मात्रै बाँकी हुँदासम्म प्रदेश १ मा माउन्टेन फ्लाइट अनिश्चित बनेको छ ।
२०७५ मंसिर ८ गते प्रदेश १ मा विराटनगर एयरपोर्टबाट पहिलोपटक व्यावसायिक माउन्टेन फ्लाइट भएको थियो। माउन्टेन फ्लाइट एक महिना चल्यो।
मौसम खराबीका कारण स्थगन भएको माउन्टेन फ्लाइट अहिलेसम्म सञ्चालन हुन सकेको छैन। त्यतिबेला यती एयरलाइन्सको जहाजबाट माउन्टेन फ्लाइट गरिएको थियो। यो वर्ष फ्लाइट सञ्चालनको तयारी नभएको पर्यटककर्मी वासुदेव बराल बताउँछन्।
निजी क्षेत्रले चार्टर्ड गरेका जहाजले मात्रै माउन्टेन फ्लाइट सञ्चालन हुन सक्दैन। ‘न नेपालीले १० हजार तिरेर नियमित माउन्टेन फ्लाइट गर्न सक्छन् न विज्ञापन गरेर भारतीयलाई माउन्टेन फ्लाइटमा आकर्षण गर्न सकिएको छ’, बराल भन्छन्, ‘सरकारले सहयोग नगरेसम्म प्रदेश १ को माउन्टेन फ्लाइट टिकाउन गाह्रो हुन्छ।’
बरालको भनाइसँग सहमत छन् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका पर्यटन समिति संयोजक भविश श्रेष्ठ। श्रेष्ठका अनुसार नेपाल सरकारले भ्रमण वर्षका अवसरमा कुल लागतको आधा मूल्यमा उडान गर्न सक्ने वातावरण बनाएमा माउन्टेन फ्लाइट चल्न सक्छ।
१० हजार तिरेर माउन्टेन फ्लाइट गर्न नेपालीले सक्दैनन् तर ५ हजारमा सक्छन्’, श्रेष्ठ भन्छन्, ‘यसका लागि एयरलाइन्सलाई सरकारले कुनै न कुनै रुपमा सहयोग दिएर दाम घटाउन सक्छ।’
प्रदेश १ को माउन्टेन फ्लाइटमा मूल्यमात्रै नभएर एयरपोर्टको कारण पनि समस्या हुने बताउँछन् इटहरीका पर्यटन व्यवसायी जीवन पराजुली।
पराजुली विरानगरमा अत्यन्तै धेरै हुस्सु लाग्ने भएकाले धेरै सहज माउन्टेन फ्लाइट हुन नसक्ने बताउँछन्। पराजुलीका अनुसार हुस्सुले नसताउने कुनै पायक क्षेत्रबाट माउन्टेन फ्लाइट गरेमा दीर्घकालीन हुन सक्छ।
यी हुन् प्रदेश १ का ८ हजार मिटर अग्ला १४ चुचुराहिमाली उडान गर्न व्यावसायिक समस्या आए पनि हिमाली चुचुरामा भने प्रदेश १ नेपालकै सबैभन्दा धनी छ। यहाँ आठ हजार मिटरमाथिका विभिन्न चौधवटा चुचुरा छन्।
ल्होत्सेसार (८,४०४ मिटर), यालुङ काङ (८,५०५ मिटर), कञ्चनजंघा साउथ (८,४७६ मिटर), कञ्चनजंघा सेन्ट्रल (८,४७३ मिटर), ल्होत्से मिडिल (८,४१० मिटर) प्रदेश १ मा पर्ने हिमाल चुचुरा हुन्। यस्तै यालुङ काङ वेस्ट (८,०७७ मिटर), सगरमाथा (८,८४८ मिटर), कञ्चनजंघा (८,५८६ मिटर), ल्होत्से (८,५१६ मिटर), मकालु (८,४६३ मिटर), छ्यो यु (८,२०१ मिटर) प्रदेश १ मा अवस्थित छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४